kumari
stcnepal

भारतको विधानसभा निर्वाचनमा ४ मध्यमा ३ मा भारतीय जनता पार्टी अगाडि, कांग्रेस १ मा सिमित हुन सक्ने

काठमाडौं । भारतमा विधानसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टी (भाजपा)ले अग्रता कायम राखेको छ । मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा अगाडि छ । तेलंगनामा भने कांग्रेसले अग्रता लिएको छ । सन् २०१८ को तुलनामा भारतीय कांग्रेस यसपालि धेरै स्थानमा पछि परेको छ । भाजपाको अवस्था भने सुधारिएको देखिएको छ । भारतीय मिडियाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताका कारण भाजपाले धेरै सिट जित्ने अवस्था देखिएको विश्लेषण गरिरहेका छन् ।

मध्यप्रदेशमा भाजपाले १३६ सिटमा अग्रता लिएको छ भने कांग्रेस ९३ सिटमा अगाडि छ । मध्यप्रदेशका कूल २३० सिटमध्ये बहुमतका लागि ११६ सिट जित्नुपर्छ । मध्यप्रदेशमा सन् २०१८ को विधान सभा निर्वाचनमा कांग्रेसले ११४ सिट जित्दा भाजपाले जम्मा १०९ सिट जितेको थियो । अन्य दलले ७ सिट जितेका थिए । अहिले भने कांग्रेसभन्दा भाजपाको अवस्था राम्रो देखिएको छ । राजस्थानमा पनि भाजपाकै अग्रता छ । राजस्थानका कुल १९९ सिटमध्ये भाजपा ११४ सिटमा अगाडि छ । कांग्रेसले ६७ सिटमा अग्रता लिएको छ । १७ सिटमा अन्य दल अगाडि छन् ।

सन् २०१८ को निर्वाचनमा राजस्थानमा कांग्रेसले १०० सिट जित्दा भाजपाले जम्मा ७३ सिट जितेको थियो । २७ सिट अन्य दलले जितेका थिए । यसैगरी छत्तीसगढका कूल ९० सिटमध्ये भाजपा ४९ सिटमा र कांग्रेस ३९ सिटमा अगाडि छन् । सन् २०१८ को निर्वाचनमा कांग्रेसले ६८ सिट र भाजपाले १५ सिट जितेका थिए ।

तेलंगनामा भने कांग्रेस अरु सबै दलभन्दा अगाडि छ । कूल ११९ सिटमध्ये कांग्रेस ६६ सिटमा अगाडि छ । बीआरएस ३९ सिटमा, भाजपा १० सिटमा र अन्य दल ४ सिटमा अगाडि छन् । तेलंगनामा सन् २०१८ मा बीआरएसले ८८ सिट जितेको थियो भने कांग्रेसले १९ र भाजपाले १ सिट मात्र जितेको थियो । पाँच वर्षको अन्तरालमा भएको निर्वाचनको प्रारम्भिक रुझान हेर्दा बीआरएसले गुमाएका सिटमा कांग्रेस र भाजपा दुवैको अवस्था सुधारिएको देखिएको छ ।

footer