kumari
stcnepal

आईसीसी क्रिकेट विश्व कप लिग–२ : नेपालले नामिबियाको सामना गर्दै

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ को पहिलो शृङ्खला बिहीबारदेखि नेपालमा सुरु हुँदै छ । शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन् ।

हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३–० ले ‘क्लिन स्विप’ गरेपछि उत्साही देखिएको नेपाली टोलीले लिग–२ को पहिलो खेल बिहीबार नामिबियासँग खेल्नेछ । त्यसपछि नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग–२ का खेलहरु कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छन् । लिग–२ को यो दोस्रो संस्करण हो ।

लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग–२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्र मात्र सहभागी थिए । लिग–२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदै छ ।

यसपटक लिग–२ प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् ।

footer