kumari
stcnepal

नेकपा माओवादीले कुनै हालतमा पनि एमसीसी पास गर्न नदिने

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपामाओवादीका नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताए । उनले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि बताए । उनले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको बताए ।

नेता गजुरेलले अहिले एमसीसीको कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तिमा बदल्नुपर्ने धारणा राखे । उनले एमसीसी भनेको अधिकांश नेपालीहरुले चाहेको विषय नभएकोले क्रान्तिकारी भएको नाताले यसमा हस्तक्षेप गर्नुपरेको पनि स्पष्ट पारे ।

‘शक्ति सन्तुलनमा पश्चगामी शक्ति हावी भयो भने यो भन्दा पनि पश्चगमन पनि हुने हो कि । अहिले एउटा आशंका, चिन्ता मानिसहरुलाई पनि छ । अहिलेको शक्ति सन्तुलनमा क्रान्तिकारी, अग्रगामी शक्तिहरु बलियो भयो भने त्यो परिवर्तन अग्रगामी हुनसक्छ’ उनले भने ‘अर्को नयाँ खालको, अगाडि बढ्ने खालको परिवर्तन हुनसक्छ, त्यसकारण हामी त्यसको निम्ति शतर्क र तयार रहनु आवश्यक छ । त्यो बिस्फोट हुनसक्ने सम्भावना छ । हामी क्रान्तिकारीको हैसियतले त्यसमा हस्तक्षेप गर्नुपर्ने हाम्रो कर्तव्य हो । त्योबाट हामी पछि हट्न सक्दैनौँ ।’

उनले थपे ‘यो विषय प्राक्टिसमा हेर्ने हो को देशभक्त, को विदेशी दलाल रु अब सबैलाई एउटा रेखा कोरिदिने भयो । किनभने जानेर, बुझेर कसैले पनि गद्दार हुँ भन्दैन । म अमेरिका, भारतको दलाल हुँ भनेर संसारमा कसैले पनि भन्दैन । तर सच्चा देशभक्त हो कि होइन अब टेस्ट हुँदैछ । कुन सुन, कुन पित्तल भन्ने कुराको कसी लाग्दैछ, ठूलो रेखा कोरिँदैछ । त्यसकारण ध्रुविकरण हुँदैछ । अब हरेक नागरिकले कुन किस्तामा उभिने भनेर आफ्नो परिचय दिनुपर्छ । यो अहिलेको आवश्यक्ता हो । त्यसकारण यो स्थिती अहिले राजनीतिमा अस्थिरता ल्याएको छ । एमसीसी देशको लागि एउटा ध्रुवीकरण हो । यो चाहेर आएको होइन । एमसीसीले ध्रुविकरण ल्याइदिएको छ, यो आशंका र असन्तोषलाई स्पष्ट पार्दै फेरि क्रान्तिकारी आन्दोलनद्वारा नै जनतलाई चेतना दिँदै अघि बढ्नुपर्छ ।

footer