kumari
stcnepal

दाहाल सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्र ल्याए : सांसद शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रामात्रै ल्याएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् ।

सांसद शर्माले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले दुई वटा मात्रै राम्रो काम गरेको बताए । उनले दुई वटा काममध्ये पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र आर्थिक नीतिमा दफा ५७ संशोधन मुख्य भएको बताए । उनले तर प्रधानमन्त्रीले मन्त्रीपरिषद्बाट गरेको निर्णय किन कार्यान्वयन हुन नसकेको बारे जवाफ दिन माग गरे । सांसद शर्माले २८ गते विश्वासको मतअघि पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारण सहित जवाफ दिनुपर्ने बताएका छन् ।

सांसद शर्माले पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सन्दर्भमा कोशी जोन अस्पताललाई आफ्नै आंगिक क्यामपसको रुपमा प्रयोग गर्न पाउने र विश्वविद्यालयले तत्काल एमबीबीएस सुरु गर्ने भन्ने मन्त्रीपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले पूर्वका विद्यार्थीहरूको लागि सुनौलो अवसर भएपनि कार्यान्वयन नहुँदा पढ्न आउने आशाले बसेका विद्यार्थीहरूमा निरासा छाएको बताए । उनले पूर्वाधारका हिसाबले अहिलेको विद्यमान कानुन अन्तर्गत चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले आवश्यक पूर्वाधार हुँदा पनि अहिलेसम्म सञ्चालन हुन नसकेको बताए ।

उनले अर्थमन्त्रीले करको दफा ५७ संशोधन गर्ने कोसिस गरेको भन्दै धन्यवाद दिए । उनले दफा ५७ संशोधनले नेपालका उद्योगीहरू र नयाँ स्टार्टपहरुको निम्ति पनि नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गरे । सांसद शर्माले प्रधानमन्त्री प्रचण्डप्रति लक्षित गर्दै वरिष्ठ गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भयो’गीत सुनाए । उनले यस गीतमा कुनै नियम आपत्ति भए डिलिट गर्दा पनि कुनै आपत्ति नरहेको बताए ।

footer