kumari
stcnepal

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । ३२ जेठमा महानगरका मेयर बालेन साहले पेस गरेको नीति कार्यक्रम संशोधन सहित सर्वसम्मत पारित भएको हो । नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै पारित भएको हो ।

२ असारमा नगरसभामा नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची थियो । तर, साझा संशोधन प्रस्ताव आएपछि छलफल हुन सकेको थिएन ।१५औं अधिवेशनको दोस्रो बैठकमा महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेका लागि नाम टिपाउन ५ मिनेट समय सुनाएपछि तीन दलका निर्वाचित तीन वडाध्यक्षले साझा संशोधन प्रस्ताव राखेका थिए । २ असारमा महानगर प्रवक्ता समेत रहेका नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, एमालेका तर्फबाट निर्वाचित ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुली र एकीकृत (समाजवादी) बाट निर्वाचित वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले नीति तथा कार्यक्रम माथि अध्ययन गरेर संशोधन प्रस्ताव तयार गर्न केही समय लाग्ने बताएका थिए ।

त्यसका लागि केही घण्टा नगरसभा बैठक सार्न आग्रह गर्दा मेयर बालेन मानेका थिएनन् । उनले बजेटको दिनसम्मकै लागि बैठक स्थगित गरेका थिए । १० असारमा बजेटकै दिन बालेनले नीति कार्यक्रममा छलफल गराए । तर, उक्त दिन मानन्धर, पराजुली र डंगोलले नीति कार्यक्रममा साझा संयुक्त संशोधन प्रस्ताव पेस गरे पनि उक्त प्रस्तावमा अधिकांश नगरसभा सदस्य देखिए । मेयर बालेनले ल्याएको नीति कार्यक्रम कार्यपालिकामा नै छलफल नभएको कुरा नगरसभामा कुरा उठेको थियो । नीति तथा कार्यक्रममा प्रश्न उठेपछि पास नगरी आगामी आवको बजेट प्रस्तुत भएको थियो । १४ असारमा मेयर बालेनले आगामी आवको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरे तर नगरसभा सदस्यहरूले तीन वडाध्यक्षले राखेको साझा संशोधन प्रस्तावमाथिको छलफलपछि मात्रै पास गर्ने बताएका थिए ।

त्यसपछि सोमबार महानगरको कार्यपालिका हलमा व्यापक छलफल भएपछि संशोधन प्रस्ताव ‘यथासम्भव सम्बोधन’ गर्न मेयर तयार भएका थिए । त्यसपछि आज संशोधन सहित नीति तथा कार्यक्रम पारित भएको हो ।

footer