kumari
stcnepal

नेतृत्वमा बुद्धत्व छैनन, जो मानवतावादी बनुन्

 

राजन कार्की
अंगुलीमालभित्र विवेक र मानवता थियो, जसलाई बुद्धले ब्यूँताइदिए । त्यसपछि अंगुलीमाल शान्ति र मानवताका लागि जीवन समर्पण गरे ।
नेपालमा बुद्ध जन्मे। तर अंगुलीमाल छैनन् । यसकारण बुद्धको महत्व नेतृत्वका लागि भाषणमा सिमित हुनपुग्यो । यदि बुद्धको मात्र प्रचार र बुद्धको मार्गमा हिडेको सन्देश विश्वलाई दिन सकेको भए, नेपाल स्वर्गभन्दा सुन्दर हुनेथियो ।
सगरमाथा यही देशमा छ, प्राकृतिक सौन्दर्य यही देशमा छ । बुद्ध यस्तो देशमा थिए । सगरमाथाको हुनुपर्नेजति उपयोग हुनसकेन । प्राकृति सौन्दर्य विधि व्यवहारले कुरुप बनाइएको छ । बुद्धको नाममा बोधिबृक्षसमेत काटेर पिर्का बनाउँदै डलरमा बेच्ने बौधमार्गी व्यक्ति र संस्था कति छन् कति ।
शासनको मूल आधार राजनीति हो । राजनीतिमा अपराधिकरण गरेर लुम्बिनीको नेतृत्वसमेत अपराधमा प्रमाणित भएका व्यक्तिलाई दिइएको छ । यस्तो देशमा अंगुलीमाल छन् भनेर मान्न सकिन्न ।
जतिसुकै विवेक र मानवताको कुरा गरे पनि राजनीतिक नेतृत्व आपराधिक प्रवृत्तिले दुषित भएकाले प्रशासनमा पनि त्यही रङ् सरेको छ । यसकारण नेपालको शासन प्रशासन जंगलीराजभन्दा डरलाग्दो बन्दै गएको छ ।
लोकतन्त्र छ, लोकको जीवन लोकतन्त्रमय छैन । संविधान छ, संसद, सरकार, पार्टी कोही पनि विधिअनुसार चल्दैनन् । लोकतान्त्रिक पद्धति र संविधान दुबै असफल शिद्ध भइसकेका छन् ।
अब देश चौबाटोमा पुगेको छ । जनता बिद्रोह गर्ने मूडमा छन् । पार्टीहरु जनताको बल लाई खण्डित गरेर बिभाजित गर र राज गरको नीति अख्तियार गरेर लोकतन्त्रको डम्फु बजाइरहेका छन् ।
जो आफै अलोकतान्त्रिक छन्, तिनले चलाएको लोकतन्त्रको गाईजात्रा हरेक दिन हेर्दा हेर्दा जनता वाक्क भइसके । शेक्सपियरको नाटकमा म्यागबेथ भन्ने पात्र छ, उसले आफ्नै राजालाई छुरा धसेर स्वार्थ पुरा गर्ने बहादुरी देखाउँछ । त्यो बहादुरी थियो कि कायरता ? हाम्रा नेताहरु यस्तै महत्वाकांक्षी परिवादमा छ । यही परिवारवादले भ्रष्टाचार र नीतिहिनता बढाइरहेको छ ।
जनताले लोकनेतामाथि गर्नुसम्मको विश्वास गरे, कोब्रा बनेर लोकनेताले लोकको हक, हितमाथि डसी रहे । जसरी म्यागबेथले विश्वासमा परेका आफ्नै राजालाई छुरा धसे । यी नेताहरुले जनतामाथिको यो घात, यो अपमान लोकतन्त्रका लागि दुर्भाग्यजनक रहेको छ ।
म्यागबेथ अर्थात् शेक्सपियरको कथा अनुसार किङ्ग डंकनः चक्रवर्ती राजा थिए । उनका जर्नेल थिए म्यागबेथ । नजिकका नातेदार र विश्वासपात्र पनि थिए । युद्ध जितेर फर्कने क्रममा किङ्ग डंकनले भने– म्यागबेथ आज म तिमीसँगै बस्छु, खान्छु र तिम्रै घरमा सुत्छु । सुस्ताउँछु । राजाका जर्नेल म्यागबेथ खुशी भए, किङ्ग डंकनलाई घरमा लगे । लेडी म्यागबेथले स्वागत र सत्कार गरेर कडा खालको लागुपदार्थसहित भोजन गराइन् । युद्धबाट थाकेर आएका र विश्वासमा परेका किङ्ग लठ्ठिएर सुते, मस्त निदाए । त्यसपछि लेडी म्यागबेथले जर्नेल म्यागबेथलाई छुरा दिइन् र किङ्लाई छुरा धस्न उक्साइन् । म्यागबेथले छुरा हातमा लिएर किङ्ग डंकनको छातीसम्म पु¥याएपछि उनको हात काँप्न थाल्यो र उसले हात झिक्यो ।
श्रीमती म्यागबेथले आँखा तर्दै छुरा धुस्न इसारा गरिन् । म्यागबेथले फेरि छुरा समातेको हात मस्तसँग सुतिरहेका किङ्ग डंकनको घाँटीसम्मसम्म पु¥यायो, किङ्गको मुहार देखेपछि उसले छुरा धस्ने साहस गर्न सकेन, उसको मन काँप्यो र फेरि पनि म्यागबेथ छुरा धस्न असफल भए, साहस गर्न सकेनन् ।
रिसले कन्पारो तताउँदै लेडी म्यागबेथ कराइन्– कायर । तिमी कसरी सिपही हौ र ? यति राम्रो मौकाको उपयोग पनि गर्न सकेनौं । यसरी रिसाउँदै लेडी म्यागबेथले एउटा कपडाले बेहोसजस्तै भएर सुतेका किङ्ग डंकनको मुख छोपिदिइन् र राता राता गोलभेडाजस्ता आँखा पारेर म्यागबेथतिर हेरिन् र छुरा धस्न इसारा गरिन्, उक्साउनु उक्साइन् । किङ्कको अनुहार नदेखेपछि म्यागबेथले छुरा धसे, किङ् डंकनको हत्या गरिदिए ।
नेपालको प्रजातन्त्र र त्यसपछिको लोकतन्त्रमा राजास्वरुप रहेका जनतामाथि यसैगरी जनविश्वासमाथि स्वार्थको छुरा धस्दै आएका छन् । जनताले विश्वास गर्ने आफ्ना प्रतिनिधिलाई हो । जनप्रतिनिधिहरूले जनतालाई भ्रममा पार्छन्, अनेक चिप्ला र मीठा भाषणमा भुलाउँछन् र जनविश्वासमा छुरा धस्छन् । १७ वर्षदेखि यसरी नै नेताहरूले देश र जनतामाथि घात गरिरहेकै छन् ।
अंगुलीमाल बन्न नसकेका राजनीतिक नेतृत्वका कारण राष्ट्र समस्याबाट संकटापन्न भइसकेको छ । विवेक मरेको अन्धकार अवस्थामा पुगिसक्यो राष्ट्र । जसरी श्रीलंकामा राजापाक्ष परिवारले अपराध र लुटको राजनीति गरेका थिए, अन्ततः जनताले बिद्रोह गरेपछि उनीहरूको चिल्लीबिल्ली हुनपुग्यो । नेपालमा राज्यअपराधको पोखरीमा आहाल बसेका छन् नेताहरू । नेताको छत्रछायाँमा प्रशासकहरूसमेत भ्रष्टाचार गर्न उत्साहित भएका छन् । न्यायालयलाई राजनीतिकरण गरेकाले न्यायालय कमजोर बनाइएको छ । राज्य सञ्जाल नै म्यागबेथजस्ता स्वार्थीहरुको झुण्डले चलाइरहेका छन् ।
एक समय थियो, छिमेकी चीनमा सनयात सेन र माओ थिए । एकजना लखेटिए, अर्को चीनका बादशाह बने । नेपालमा जनयुद्ध गर्ने प्रच(ण्डले हस्तिनापुर रोजे, ३ पल्ट प्रधानमन्त्ती, ९ वर्ष सत्तामा रहे । तर जनयुद्धकालका संक्रमणकालीन मुद्दाको छिनोफानो गराउन सकेनन् । पीडकलाई सत्ताको हालीमुहाली दिइरहे । बिधिले पीडकलाई बाँध्न सकेन । पीडितहरू १७ वर्षदेखि न्याय खोजिरहेका छन् । अन्तर्राष्ट्रिय मानवाधिकारवादीहरू नेपालको दण्डहीनताको पराकाष्ठालाई चीलका आँखाले नियाली रहेका छन् । रोइरहेका छन् ।
यो समय छ, कांग्रेस र एमालेको सत्ता छ । यिनले पनि संक्रमणकालीन न्याय अथवा समानताका लागि होइन, आफ्नै अपराधिक कृयाकलापको छोपछाप र नयाँ अपराध गर्ने प्रवृत्तिको सुरुआत गरिसकेका छन् ।
कालोबादलमा चाँदीको घेरा देखिदैन । अंगलीमाल होइन, म्यागबेथकै नियति दोहारिरहेको छ । अर्थात् देश र जनताले न्याय पाउनेवाला छैनन् ।
पार्टी अनेक छन्, साना र ठूला छन् । तर ती पार्टीहरू एक हुनु र अनेक हुनुमा भिन्नता छैन । किनकि सत्ता स्वार्थका सामु ती सबै एकै ठाउँमा अट्न सक्छन् । गला मिलाउँछन्, कुन कांग्रेस, कुन माओवादी, कुन एमाले, कुन रास्वपा, कुन राप्रपा, कुन मधेसवादी केही पनि छुट्टिदैन । जब सत्ताको भागबण्डा मिल्दैन, कमिशनमा तलमाथि हुन्छ, त्यसपछि एकले अर्कोलाई खुइल्याउन अघि सर्छन् । यसकारण पनि यक्ष प्रश्न उठेको हो– राजनीतिक स्वार्थको सुरक्षा कि देशको सुरक्षा सर्वोपरि हो ? म्यागवेथहरुलाई आफ्नै स्वार्थ सर्वोपरि भइरहेको छ ।
देश असुरक्षित छ । छिमेकीले सीमामात्र मिचेन, भुभागमात्र हसुरेन । विश्वमा शक्तिशाली मिडिया सीएनएनमा काम गर्न फरिद जकारियालाई किताव नै लेख्न लगायो र विश्वभरि प्रचार गरायो– बुद्ध भारतमा जन्मिएका हुन् । भारतले फिल्मी कलाकार कविरवेदीलाई बलीको बोको बनाएर प्रचार गरायो– बुद्ध भारतमा जन्मिएका हुन् । बुद्ध भारतका हुन् भनेर भारत नेपालमाथि कुन प्रकारको कुटनीतिक गेम खेलिरहेको छ, हामा नेतृत्व आँखामा स्वार्थको पट्टी बाँधेर सत्तासुख भोगिरहेका छन् । कठै राष्ट्रघाती नेतृत्व । म्यागबेथजस्ता घाती नेतृत्व ।
हालैका दिनमा अहिले क्रिकेटर विराट कोहलीले नेपालको हिमाललाई भारतीय हिमाल भनेर विवाद झिकेका छन् । नेपालीहरूले उठाउन सक्ने आवाज हो, गर्नसक्ने घृणा हो । गरिरहेका छन् । विराट कोहली सम्हालिएका छैनन् । सच्चिएका छैनन् । धोखेवाज म्यागबेथहरू देशभित्र छन्, देश बाहिर पनि छन् । अनेक थरिका म्यागबेथहरू अनेक तरिकाबाट नेपालको घाँटीमा छुरा धसिरहेका छन् । नेपाल संचेतन हुनुपर्छ । यो संचेतनका लागि देशभक्ति चाहिन्छ, विवेकशील हुनुपर्छ । अन्धबेग नासिनुपर्छ । अचम्म छ, कति शक्ति, कति समय सत्ता, कति सहुलियत, कति सम्पत्ति भए यी नेतालाई पुग्ने हो ? ब्रम्हनालमा नपुग्दासम्म पनि यिनको तिर्खा नमेटिने खालको देखिन्छ ।
सचेत हौं नेपालीहरु ।

footer