kumari
stcnepal

कांग्रेस र एमाले बीचको सहमति कसैको बिरूद्ध होइन : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन कसैको विरुद्धमा लाग्नका लागि नबनाइएको स्पष्ट पारेका छन् । मंगलबार राजधानीमा आयोजित नेपाली कांग्रेसका स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेको गठबन्धन कुनै पनि पार्टीको विरुद्धमा नभएको स्पष्ट पारेका हुन् ।

उनले भने‚ ‘गठबन्धन अरू पार्टीको खिलाफ हैन । माओवादी‚ माधवजीको पार्टी लगायत सबैलाई एक गरेर लैजाने, सबैलाई एक साथ राखेर अघि बढ्ने हो ।’उनले कांग्रेस र नेकपा एमालेको गठबन्धन बनाउन कसैले दबाब नदिएको पनि बताए । यस्तै देउवाले संविधान संशोधन सबै दलहरूको सल्लाह सुझावमा नै हुने भएकाले कुनै पनि शङ्का उपशङ्का नगर्न आग्रह गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउने लगायत विषय संविधान संशोधनको एजेन्डाभित्र पर्ने बताए । उनले थपे‚‘संविधान संशोधन षड्यन्त्र गरेर हैन । सबैसँग सल्लाह गरेर गरिने कुरा हो । केपी शर्मा ओली र मेरो बिचमा भएको सहमति कसैको दबाबमा हैन ।’ सभापति देउवाले अहिलेको गठबन्धनले नेपालको भोलिको राजनीति र भविष्यलाई योगदान दिने समेत दाबी गरे ।

footer