kumari
stcnepal

हरेक क्षेत्रलाई डिजिटल भुक्तानीमा जोड्दै आइएमई पे

काठमाडौं । आइएमई डिजिटलले ‘आइएमई पे’मार्फत मोबाइल वालेट सेवा उपलब्ध गराउँदै आएको छ । यो एपको सहयोगमा सेवाग्राही आफैँले वा एजेन्टको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् ।

प्रविधिको विकाससँगै मोबाइल फोन स्मार्टफोन बनिसकेको छ, जसका कारण क्यामरा, कम्प्युटर, घडी, क्याल्कुलेटर मात्र होइन, घरको टिभीदेखि वासिङ मेसिनसम्म र घरमा जडान गरिएको सिसिटिभीसमेत विश्वको कुनै पनि कुनामा बसेर हेर्न र नियन्त्रण गर्न सकिन्छ ।

पछिल्लो समयमा डिजिटल पेमेन्ट सिस्टम विकास भएपछि स्मार्ट फोनबाटै एपमार्फत तुरुन्तै फोन रिचार्ज, पानी, बिजुलीको बिल भुक्तानी, रेस्टुरेन्टमा खाएको बिल तिर्न मात्र होइन, बस तथा जहाजको टिकटसमेत किन्न सकिने सुविधा थपिइसकेको छ ।

यस्तै डिजिटल पेमेन्टलाई अझ सहज बनाउने एउटा माध्यम बनेको छ, आइएमई डिजिटल सोलुसनले ल्याएको ‘आइएमई पे एप’ । डिजिटल वालेटका रूपमा काम गर्ने आइएमई पेका कारण अहिले मानिसले किनमेलमा जाँदा खल्ती मोटो बनाउनुपर्ने, बिल तिर्न लाइनमा बस्नुपर्ने समस्याबाट मुक्ति पाएका छन् । कम्पनीका अनुसार अहिलेसम्म करिब ३ लाख आइएमई पे प्रयोगकर्ता रहेका छन् ।

आइएमई पेले सबै सुविधालाई एकै स्थानमा ल्याउने क्रममा पेट्रोलको भुक्तानी सुविधासमेत उपलब्ध गराएको छ । केही समयदेख काठमाडौं र सुर्खेत क्षेत्रका पेट्रोल पम्पबाट सुविधा दिँदै आएको आइएमई पेले एक हप्ताअघि मात्र गण्डकी र धवलागिरिका पेट्रोल पम्पबाट पनि यो एपमार्फत भुक्तानी दिन मिल्ने गरी सम्झौता गरेको छ ।

आइएमई पे नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त र आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल भुक्तानी सेवा प्रदायक हो । १६ हजारभन्दा बढी एजेन्ट आउटलेट सञ्जाल भएको आइएमई पे, आइएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक कम्पनी हो ।

नेपाल राष्ट्र बैंकको ‘भुक्तानी तथा फस्र्योट विनियमावली, २०७२’ बमोजिम आइएमई पेले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो र आइएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

footer