kumari
stcnepal

एन्फा महिला लिग फुटवल आज देखि

अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिग आज (आइतबार)देखि सुरु हुँदैछ। लिगको उद्घाटन खेलमा कोसी प्रदेश र स्याङ्जाकाे वालिङ नगरपालिका भिड्दैछन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। दुई चरणमा हुने लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। लिगमा छनोट चरण पार गर्दै उत्कृष्ट तीनमा रहेका कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशले पहिलो चरणमा स्थान बनाएका छन्।एन्फाले लिगमा सहभागी ३ विभागीयसहित २ क्लबका टोलीलाई सिधै लिग चरणमा स्थान दिइएको हो।

यस्तै ३ विभागीय टोली (एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब) सहित ए, बी र सी डिभिजन क्लबबाट २ टिम (संकटा क्लब, बागमती युथ क्लब) तथा नगरपालिका २ टोली (वालिङ र चन्द्रपुर नगरपालिका) सहभागी छन्। पहिलो चरणका ४० खेलपछि अंक तालिकाको शीर्ष ५ मा रहने टोलीले सुपर लिग खेल्नेछन्। सुपर लिगमा ५ टोलीले डबल राउन्ड रोविनमा खेल्नेछन्। सुपर लिगका २० खेलपछि शीर्ष ४ टोलीबीच प्लेअफ र फाइनल खेल हुनेछ। शीर्ष दुई टोलीले पहिलो प्लेअफ खेल्नेछन्। पहिलो प्लेअफको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले एलिमिनेटर खेल्नेछ।

अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले दोस्रो प्लेअफ खेल्नेछ। दोस्रो प्लेअफको विजेताले पहिलो प्लेअफमा पराजित हुने टोलीसँग एलिमिनेटर खेल्नेछ। एलिमिनेटरको विजेता र पहिलो प्लेअफको विजेताले फाइनल खेल्नेछन्।फिफा कनेक्टमा कम्तिमा ९० खेल हुनुपर्नेछ। छनोट खेलमा २१ खेल भएका छन्। अब ६९ खेल हुनेछ। महिला लिगको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले जनही १ लाख रुपैयाँ पाउनेछन्।

उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५०-५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन्।

footer