kumari
stcnepal

अतिक्रमित सार्वजनिक जग्गा खाली गराउँदै पोखरा महानगर

पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियान सुरु गरेको छ । विभिन्न बहानामा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेपछि महानगरले सार्वजनिक जग्गा खोजी र संरक्षण अभियान सुरु गरेको हो । यही क्रममा सोमबार पोखरा महानगरपालिका–५ को सार्वजनिक जग्गामा बनेका दुई घरमा महानगर डोजर चलाइएको छ ।

महानगरका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले सार्वजनिक जग्गामा बनेका सबै संरचना महानगरलले भत्काउन सुरु गरेको जानकारी दिए । सार्वजनिक जग्गामा बनाएका संरचना हटाउन महानगरले पटक–पटक सूचना जारी गरे पनि अटेर गर्नेहरूको घर भत्काउन सुरु गरेको उनले बताए । उनले भने, ‘अटेर गरी निर्माण गरिएका पोखरा–५ बाँसटारिस्थित दुई घर भत्काएका हाैं ।’

जनप्रतिनिधि आउनुअघि नै महानगरले सार्वजनिक जग्गामा बनेका संरचनाबारे अध्ययन गरेको उनको भनाइ छ । जनप्रतिनिधि आउनुअघिदेखि सार्वजनिक जग्गामा बसेका सुकुम्बासीलाई महानगरले व्यवस्थापन गर्ने तर पछि बनेका सबै घर भत्काउने नेपालीको भनाइ छ । बाँसटारी क्षेत्रमा रहेको १९ रोपनी सार्वजनिक जग्गामा १ सय २७ घर जनप्रतिनिधि आउनुअघि नै बनेकाले त्यहाँ बसेकाहरूको अवस्था महानगरले अध्ययन गरिरहेको उनले बताए ।

महानगरले सोमबार बाँसटारीका युवराज खतिवडाले सार्वजनिक जग्गा मिचेर निर्माण गरेको घर र पोखरा–१८ बस्ने वासुदेव आचार्यले पर्ती जग्गा मिचेर बनाएको कम्पाउन्ड वालसहितको टिनको घर भत्काएको हो । उनीहरूले सार्वजनिक जग्गामा बनेको संरचना आफैं भत्काउँछु भनी यसअघि पटक–पटक प्रतिबद्धता जनाए पनि नभत्काएपछि महानगरले बाध्य भएर भत्काएको नेपालीले जानकारी दिए ।

करिब एक महिनाअघि खतिवडाको छेवैमा रहेको संरचनामा महानगरले डोजर लगाउँदा उनले त्यसवेला पनि आफैं भत्काउने आश्वासन दिएको नेपालीको भनाइ छ । घर भत्काउन डोजरसहित पुगेका टोली र स्थानीयबीच केहीबेर भनाभनसँगै अवरोध गरेपछि थप प्रहरी झिकाएर संरचना भत्काइएको थियो ।

आफ्नो घर भत्काएर महानगरले शक्ति र सत्ताको दुरुपयोग गरेको खतिवडाको आरोप छ । घरको विवाद उच्च अदालत पुगेको र आगामी १३ चैतमा पेसी रहेकाले त्यतिन्जेलसम्म पर्खन आग्रह गरे पनि कुनै सुनुवाइ नगेको उनको भनाइ छ । नेपालीले अदालतमा मुद्दा परेकाले घर नभत्काएको बताए । उनले भने, ‘यदि अदालतले सो स्थान खतिवडाकै हो भनी फैसला गरे क्षतिपूर्ति दिनेछौँ ।’

footer