प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि माघ २६ गते बुधबार बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको बताए । ‘हाम्रो पूर्ववत अभियान र अवरोध जारी नै रहन्छ, जबसम्म सभामुखले निर्णय सच्चाउनुहुन्न वा राजीनामा दिनुहुन्न त्यसबेलासम्म संसद् अवरोध जारी रहन्छ’, प्रमुख सचेतक भट्टराईको भनाइ छ ।
नेता भट्टराईले प्रमुख प्रतिपक्षकै कारण सरकारले स्थानीय तहको मिति तोक्न बाध्य भएको भन्दै एमालेले अपनाएको नीति मुलुकको राजनीति र देशलाई समेत सही दिशामा लैजान महत्त्वपूर्ण भएको दाबी गरे । ‘एक वर्षपछि मात्रै चुनाव गर्नु भन्ने सत्ता पक्षलाई बेलैमा गर्ने बनाएको एमालेले नै हो’, नेता भट्टराईले भने, ‘प्रमुख प्रतिपक्ष नभएको भए स्थानीय तहको चुनाव तोकिदैन थियो ।’