kumari
stcnepal

बेलायतमा कोरोना सम्बन्धित सबै नियम हटाईयो

बेलायतमा फेब्रुअरी २४ तारिख बाट कोभिड सम्बन्धि बाँकी रहेका सबै प्रतिबन्धहरुको अन्त्य हुने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझको पत्रकार सम्मेलनमा उक्त कुराको पुष्टि गरेका हुन् ।

आउँदो बिहीबार देखि कोरोना संक्रमित भएपनि आइसोलेशन बस्न पर्ने कानूनी बाध्यता रहने छैन । यद्यपि कोरोना पोजिटिभ भएमा घरमै बस्न सुझाव दिइए पनि यसलाई बाध्यात्मक रुपमा भने लागू गरिने छैन । सोही दिन बाट कन्ट्याक्ट ट्रेसिंङ सम्बन्धी व्यवस्थाको पनि अन्त्य गरिनेछ ।

यसैगरी हाल लागू गरिएको भ्याक्सिन पासपोर्ट पनि खारेज हुने भएको छ । हाल निशुल्क रुपमा उपलब्ध गराउँदै आएको कोरोना परीक्षणको व्यवस्था पनि हटाइने भएको छ । तर, जोखिममा रहेका ८० वर्ष माथि उमेर भएका र केयर होममा रहेका मानिसको हकमा उक्त नियम यथावत नै रहनेछ । होम आइसोलेशन बसे वापत निम्न आय भएकालाई सरकारले उपलब्ध गराउँदै आएको पाँच सय पाउण्ड पनि हटाइने भएको छ । आउँदो बुधबार बेलायतको संसदमा मतदान गरिने र संसदले पारित गरेपछि बिहीबारबाट कोभिड सम्बन्धी नयाँ नियम कार्यान्वयन हुनेछ ।

राष्ट्रिय तथ्यांकको कार्यालयका अनुसार गतहप्ताको आंकडाका आधारमा अझै पनि बेलायतमा २० जनामध्ये एक जनामा कोभिड संक्रमण हुने गरेको बताएको छ ।

 

 

 

 

footer