kumari
stcnepal

हामी विवेकहीन राजनीतिको मलामी मात्रै हौं ?

राजन कार्की
अणुवमले खरानी भएको जापान आज सम्पन्न भयो । यो सम्पन्नता जापानी जनताको स्वाभिमानले निर्माण भएको हो । रछ्यानमा फालिएको भातका सिता टिपेर ज्यान पाल्ने कोरिया भलै बिभाजित भयो तर दुबै कोरिया स्वाभिमानका कारण विकसित भएका छन् । दक्षिण कोरिया नेपालका ४२ हजार युवालाई रोजगार दिनसक्ने अवस्थामा पुगिसक्यो भने उत्तर कोरिया प्राकृतिक प्रकोपमा बर्षेनी पीडावोध गरेर खाद्यान्न संकटमा परे पनि विश्वशक्तिसँग पौठेजोरी खोजेर सार्वभौमिकता बचाइरहेको छ । स्वाभिमानले उठ्छ देश । राष्ट्रियताले जोगिन्छ राष्ट्र ।
नेपाल कहिले परतन्त्र भएन । विश्वको जेठो राष्ट्रहरुमा पर्छ नेपाल । नेपालको दयनीय हविगत देख्दा हामी नेपालीलाई नै पश्चाताप हुन्छ । हामी फुर्सदिलो बनेर पश्चाताप गर्न सक्ने तर हस्तक्षेप गरेर चुकेका अवस्थाहरुलाई सुधार्न नसक्ने छौं । नेपालीलाई थाहा छ, नीति, नैतिकता र सिद्धान्त बगार्ने र अवसरवादमा चुर्लुम्मै डुब्ने नेतृत्वका कारण नेपाल पछाडि परेको हो ।

विश्वले आज नेपाललाई भ्रष्ट मुलुक भनेर चिन्छ । नेता बिक्री हुने र पैसा फाले पछि नेतृत्वबाट, प्रशासकबाट जस्तोसुकै निर्णय गराउन सकिन्छ भन्ने तरिकाले चिन्छ । नेपालको स्वाधीनता, सार्वभौमिकता यसकारण कमजोर देखिन्छ । आमनागरिकमा राष्ट्रवाद भरिपूर्ण छ, नेपाली जाति वीर जाति हो तर न राष्ट्रवाद फुल्न सक्यो, न वीरताले देश बन्नसक्यो । भ्रष्टाचारले देश दिनदिनै खिया लाग्दै लाग्दै धुलोपिठो हुने स्थितिमा पो पुग्यो ।
नेपालको भूराजनीतिक महत्वलाई राजनीतिले बुझ्न सकेन । राजनीतिले बाटो बिराएपछि कूटनीति बिग्रने रहेछ । नेपाल यतिबेला पथभ्रष्ट भएको युवाको नियति भोगिरहेको छ । के छैन नेपालमा । प्राकृतिक साधनस्रोतमात्र होइन, सम्पदाले पनि भरिपूर्ण छ । संस्कृति र संस्कारले पनि सम्पन्न छ । तर आफ्नै नाभीमा अमरत्व बोकेर मगन्ते बनिरहेछ देश । यसको जिम्मेवार नेतृत्व हो, जसले नेपाली समाजलाई आ–आफ्ना गुटमा विभाजित गरेर राष्ट्रियतालाई अस्तित्वको सङ्कटमा धकेलिरहेका छन् ।

जुन दिन अतिवाद र प्रजातन्त्रवादलाई भरिया बनाएर दिल्लीले १२ बुँदे दिल्ली सम्झौता बोकाएर पठायो, त्यो दिनदेखि नेपालको उँधोयात्रा तय भएको हो । यसरी विश्लेषण गर्दा हाम्रो लोकतन्त्रलाई लाहुरे लोकतन्त्र भन्दा फरक पर्दैन । लोकतन्त्रमाथि तोरीलाहुरेहरु छपक्कै छाएपछि त लोकतन्त्र अन्धाका लागि हात्तीछामेजस्तो हुनु स्वभाविक हो । लाहुरेको शासन लाहुरेतन्त्र हुन्छ, लाहुरेतन्त्रमा थरि थरिका लाहुरको हैकम, हस्तक्षेप, जबरजस्ती देखिनु अस्वभाविक होइन ।
वर्तमान नेपाली राजनीति र कूटनीति विदेशीको जालोमा परेर छटपटाएको माछाको हालत भोगिरहेको छ ।

लज्जा पनि लज्जित हुनेगरी लोकका नेता कति नाङ्गिन सकेका ? आम नागरिक सडकमा ज्यान फाल्न तैयार छन्, सत्तामा बस्नेहरु आफ्नै कार्यकर्तामाथि सत्ताको दमनचक्र चलाइरहेका छन् । अनेक जिब्रा र अनुहार भएका नेता देखिनु इन्द्रजाल खेल्ने खेलाउने चटकेजस्ता लाग्छन् । चटकेका लागि चटकको भ्रममा पारेर दर्शकलाई मोहित पार्नु र लाभ लिनुको उद्देश्य रहन्छ । नेपाली नेतृत्व जनता जनता भिडाएर, उफारेर लाभ लिइरहेका छन् ।

सत्ता र शक्तिमा खेल्ने सपना देख्ने र जङ्गली आवरणलाई सुकिलो लुगा र हँसिलो अनुहारमा रुपान्तरण गरेपछि यिनीहरु सिंहदरवारको बेलायती बैठकमा रङ्मङ्गिरहेका छन् । त्यो चमकदमकबाट बाहिर निस्केर गरिखाने बर्गलाई हेर्ने फुर्सद यिनमा कहिले देखिएन । सिंगापुर र सम्पन्नता, समानताको नारा लगाएर नथाक्ने यिनलाई थाहा छ : स्वीट्जरलैण्डको प्रतिव्यक्ति आय ३० हजार डलर छ, सिंगापुरको २५ हजार । नेपालीको आय ३ सय पनि छैन । ८० प्रतिशत जनता एकछाक भोकै बस्छन् भन्दा नेताहरुलाई हीनताबोध हुँदैन । १५ वर्षमा १ सय ८७ पार्टी खोल्नेहरु छन्, यिनले यही अवधिमा ३० हजार उद्योगधन्दा किन बन्द गराए । नयाँ रोजगारकिो सिर्जना गर्नै सकेनन् । युवा निकासी उद्योग खोलेर रेमिटान्सबाट सरकार चलाइरहेका छन् । हिजो कृषि प्रधान देश थियो, त्यसपछि हरियो बन नेपालको धन भनियो ।

राजनीति र कूशासनको भ्रष्टाचारले कृषि र बन धरासायी भएपछि प्रकृति र पर्यटनलाई नेपालका लागि बरदानको आधार मानियो । जनयुध्द र अस्थिरताको प्रहारले राष्ट्र छिया–छिया भएपछि जलस्रोतलाई सेतो सुन भनिदैछ । २००८ सालमा कोसी, २०१६ सालमा गण्डकी, २०५२ सालमा महाकाली र २०६३ सालपछि बुढी गण्डकी, कर्णाली र सेतीजस्ता ठूला–ठूला नदीनालामा भारतको हैकम स्थापित गर्नपुग्यौं । जलस्रोतमा ब्राजिलपछि विश्वको दोस्रो धनी देश नेपाल सडक र विद्युत प्रशारण लाइनमा एमसिसीको ५० करोड डलरलाई विवाद बनाएर यही दलदलमा फसेको छ । यति नै बेला भारतले नेपालका ठूला ठूला जलविद्युत आयोजनाबारे छलफल अघि बढाएको छ । चीन नेपालसँग सशंकित छ । विश्व सम्बन्ध अविश्वसनीय हुने खतरा बढेर गएको छ । नेपालको कूटनीति दुर्घटनामा परिसकेको छ । समस्या नेपालको, पश्चिमा राजदूतहरु बैठक गरी गरी दबाब दिइरहेका छन् । नेपाली नेताहरु सही निकासका लागि सँगै बसेर छलफलसमेत गर्न सक्दैनन् । विवाद बढाएर घर, सडक, समाजदेखि देशैभरि आँधीहुरी सिर्जना गराइरहेका छन् । सडक र संसद आमने सामने पारिएको छ । लाग्छ, नेपालमा प्रजातन्त्रवाद र वामवादको महाभारत युद्ध सुरु भइसक्यो ।

१७७६ मा स्वाधीन भएको अमेरिका आजको नेपालीका लागि स्वर्ग हो । १८६० मा दासप्रथाबाट उन्मुक्ति पाएको अमेरिका कहाँबाट कहाँ पुग्यो ? कहिल्यै उपनिबेश बन्नु नपरेको नेपाल ‘बहादुर’ ‘कान्छा’, ‘आतंककारी’, ‘गार्ड’, ‘कमारो’, ‘श्रमिक’ बाट ‘भरौटे’को स्तरमा झरिसकेको छ । अन्य मुलुक स्वाभिमान जगाएर उठ्छन्, हामी धुरी बालेर खरानी बेचिरहेका छौं । अरु सभ्यता अँगालेर माथि उठ्छन्, नेपाल लोकतन्त्रको आवरणमा असफल हुँदैछ, हाइटी वा सोमालिया हुँदैछ । हाइटी त्यो देश हो, जहाँका जनताले दुभालियरजस्ता भ्रष्ट नेता र उनका आज्ञाकारी प्रशासकहरुलाई शोषण गर्न र निरङ्कूशतन्त्र चलाउने छुट दिएर रसातल पुगे । त्यो हाइटी र यो नेपाल बचि फरक नै के छ र ?

१ सय ३० करोड जनसंख्या भएको भारतमा ४४५ जना सांसद छन्, ३ करोड जनता भएको नेपालमा २७५ । संघीयता भनेर ६७१ सरकार बनाइयो । कुनै सरकार पनि सफल भएनन् । यी सरकारहरु पार्टीका कार्यकर्ताहरुलाई जागीर दिने र भ्रष्टाचार गर्ने अखडा बनाइयो । गरीबी हटाउनु पर्नेमा गरीब बढाइयो, सामन्ती संस्कार हटाउनु पर्नेमा सामन्त उत्पादन गरियो, समानता र सर्वहाराका लागि न्यायपूर्ण समाज भनियो, तिनै बर्गलाई कागती निचोरेझैं निचोरियो । देशमा भ्रष्टाचारका ठूला ठूला काण्डहरु घटे, बलात्कार र हत्याका वारदातहरु भए, संविधानमाथि पार्टीकरण गरियो । नेपालमा लोकतन्त्र टिनको पातामा लखेर झुण्ड्याएको साइनबोर्डमा सिमित बनाइयो । दण्डहीनता र बिधिहीनताको तथ्याङ्कले यसै भन्छ । बेइमानहरुको रजगजले यस्तै परिदृश्य देखाउँछ । ९३ प्रतिशत बिपन्न, कमैया, कमलरी, सुकुम्बासी, बेरोजगार, असहायहरुलाई सपनाको व्यापार गर्ने सस्तो बजार हो लोकतन्त्र । जयप्रकाश मल्लले वर्षको एकपल्ट गाईजात्रा देखाएर शोकमा परेकी महारानीलाई मनोरञ्जन दिने गर्थे, हाम्रा नेताहरुले बाह्रैमास गाईजात्रा देखाइरहेका छन् । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने नङ्गाबाबा र हाम्रा शासक र प्रशासकमा कुनै भिन्नता देखिदैन ।

नीति र नैतिकतामा चल्ने पद्धति हो लोकतन्त्र भनेको । यस्तो मान्दैनन् । हाम्रा नेताहरु आफू अनुकूल लोकतन्त्रमा विश्वास राख्छन् । यिनको लोकतन्त्रको परिभाषा ताक परे तिवारी हो । लोकतन्त्रको सामान्य र राष्ट्रियताको सर्वमान्य सिध्दान्तमा यी नेताहरु एकमत छैनन् । राष्ट्र र जनहित जेसुकै होस्, बिमति राख्छन्, आरोप प्रत्यारोपको महाभारत खडा गर्छन् अनि सत्ताको भागबण्डा लगाउने र भाग शािन्त जय नेपालमा सहमति खोज्ने, यिनको लोकतन्त्र यही हो । जब जिम्मेवारी निर्वाह गर्ने कर्तव्यलाई लाभहानीको तराजुमा जोख्न हिचकिचाउँदैन भने त्यस्तो राजनीतिले राष्ट्रलाई सङ्कटको खाडलमा जाक्छ । हामी त्यही खाडलमा जाकिदै गएका छौं ।

दोष नेतामा छ । त्यो दोष देखेर पनि देखाउन नसक्ने नागरिक समाज, प्रेस, बुद्धिजीवीहरुको विवेक मर्दा राष्ट्र मर्दै गएको छ । राष्ट्र बचाउने विवेकले हो । विवेक बन्दकी पर्दा पार्टी राजनीति मूर्दातुल्य बनेको छ ।
सवाल यत्ति हो कि हामी यो मुर्दातुल्य राजनीति, नेता बोकेर कहिलेसम्म मलामी गइरहने ? जनतासँग डराउनेहरु तानाशाह बन्दैनन्, लोकलज्जाको सीमामा बाँच्नेहरु नैतिकहीन हुँदैनन् । यो कुरा जनताले कहिले बुझ्ने ? नेपाली विवेकशील कहिले बन्ने ?

footer