kumari
stcnepal

दिनेश बुढा मगर र रुबिका खड्का तेक्वान्दो च्याम्पियन

काठमाडौं । नेपाल आर्मीका दिनेश बुढा मगर र बाग्मती प्रदेशकी रुबिका खड्का जिपी कोइराला स्मृति प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पुरुष ५५–६३ केजी फाइनलमा दिनेशले आफ्नै विभागका प्रमोद साहुलाई पराजित गरे । आर्मीकै प्रेम मगर तेस्रो भए । सेमीफाइनलमा दिनेशले बागमतीका निर्मल तामाङ तथा प्रमोदले आर्मीका प्रेम मगरलाई हराउदै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को सहकार्यमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको महिला ४७–५५ केजी उपाधि भिडन्तमा रुबिकाले आर्मीकी हिमा खड्कालाई पाखा लगाइन् । लुम्बिनी प्रदेशकी तेरिया सापकोटा तेस्रो भइन् । फाइनल यात्रा तय गर्न रुबिकाले एपीएफकी सन्चिता तामाङ तथा हिमाले लुम्बिनीकी तेरियालाई सेमिफाइनलमा पन्छाएका थिए ।

पुरुष-महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ सय, ३ सय र २ सयका दरले अमेरिकी डलर पुरस्कार सहित गिफ्ट ह्याम्पर पाए । विजेतालाई खानेपानी मन्त्री उमाकान्त चौधरी, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेप बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, आईटीएफका अध्यक्ष अन्जन धमला लगायतले एक कार्यक्रम बीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको पुरुष/महिलामा १/१ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष/महिलामा समान २७ खेलाडी सहभागी थिए ।

 

 

 

footer