kumari
stcnepal

नेकपाभित्रको विवाद कागलाई बेल पाक्यो हर्ष न विस्मात

नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्वन्द्वले गर्दा मुलुक नै संकटमा पर्न सक्ने सम्भावना बढेको छ । तत्कालिन नेकपा कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको मुख्य उदेश्य नै गलत थियो । एक्लाएक्लै चुनाव लड्दा दुवै पार्टीको जित हुन नसक्ने भएकाले उनीहरु एकीकृत भएका थिए । तत्कालिन नेकपा एमालेमा रहेका गुटहरुको व्यवस्थापन नै नगरी लहडमा एकीकरण गरिएको थियो । तत्कालिन अवस्थामा नेकपा एमाले भन्दा माओवादी केन्द्र कमजोर अवस्थमा रहेको थियो । माओवादी केन्द्रका तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल अस्थिर राजनीतिज्ञका रुपमा चिन्छिन् । उनी सँधै सत्ताको भोका रहेका छन् । जसरी गिरिजा प्रसाद कोइराला सत्ता बाहिर बस्न नसक्ने स्वभावका रुपमा चिनिएका थिए दाहाल पनि त्यही स्वभावका रुपमा चिनिन्छन् । त्यही कारण अहिले नेकपाभित्र विवाद उत्पन्न भएको हो ।

गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा कम्युनिष्ट पार्टीले झण्डै दुई तिहाई मत प्राप्त गरेको थियो । दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएका हुनाले मात्र त्यस्तो परिणाम आएको प्रष्ट रुपमै देखिएको थियो । दुई कम्युनिष्ट पार्टी एकीकरण भएपश्चात् दुवै पार्टीका अध्यक्षहरुले भागवण्डा गरी ५ वर्षे कार्यकालमा आधा आधा सरकारको नेतृत्व गर्ने र दुवै पार्टीका अध्यक्षहरु अध्यक्षकै हैसियतमा रहने जुन सहमति गरिएको थियो त्यो नै गलत थियो । सत्ताको स्वाद चाखिसकेका दुवै अध्यक्षहरु लामो समयसम्म एकै ठाउँमा सत्ता बेगर बस्न नसक्ने अवस्था रहेपछि फेरी दुवै अध्यक्षले अर्को सहमति गरेर सरकारको नेतृत्व प्रधानमन्त्री केपी ओलीले ५ वर्षसम्म नै गर्ने र पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्ष बनाउने सहमति गरियो ।

पुष्पकमल दाहाल कार्यकारी अध्यक्ष भएपछि तत्कालिन नेकपा एमालेभित्र गुट उपगुट चलाईरहेका पार्टीका नेताहरु माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले पूर्व एमालेका अध्यक्ष समेत रहेका केपी ओलीलाई भन्दा पुष्पकमल दाहाललाई बढी विश्वास गरेर प्रधानमन्त्री ओलीसँग पुरानो रिसइबी साँध्ने कसरतमा लागेका हुनाले नेकपाभित्र अहिले समस्या आएको हो । बामदेव गौतम गएको प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट चुनाव हारेका व्यक्ति हुन् । जनताले नपत्याएर चुनाव हराएको व्यक्तिले असम्वैधानिक बाटो अपनाएर सत्तामा पुग्ने सपना देख्नु नै गलत थियो । वामदेव गौतम कहिले ओलीतर्फ लागे भने कहिले दाहाल पक्षमा लागेर ढुलमुले प्रवत्ति देखाउन थालेका भएपनि पछिल्लो समयमा उनले ओलीले आफूलाई पटक पटक धोका दिएको भन्दै पछिल्लो समयमा दाहाल गुटमा पुगेका छन् । गौतम दुवै पार्टी एकीकरण गर्न सूत्रधारका रुपमा चिनिएका भएपनि अहिले तिनै गौतम पार्टी विभाजनको सूत्रधार समेत बन्न सक्ने सम्भावना रहेको छ ।

पछिल्लो समयमा माधव नेपाल, झलनाथ खनान, नारायणकाजी श्रेष्ठसहित वामदेव गौतम दाहालको पक्षमा उभिएका भएपनि उनीहरु कहिल्यै स्थिर स्वभावका नदेखिएको हुनाले पार्टी विभाजित भएको अवस्थामा पनि केही समयपछि फेरी त्यहि पार्टीमा समस्या देखिन सक्छ । नेपालका कम्युनिष्टहरु विभाजन हुनुलाई कुनै बहानाबाजी चाहिँदैन कसैको व्यक्तिगत स्वार्थ पुरा भएन भने पार्टी विभाजित भइहाल्ने इतिहास नेपालका कम्युनिष्टहरुले निर्माण गरिसकेका छन् । जनताको मतको कदर नगर्ने र जनताको आदेश भन्दा पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थलाई हेरेर अघि बढ्ने प्रवृत्तिको अन्त्य नभएसम्म नेपालका कम्युनिष्टहरुलाई विश्वस गरिहाल्न किमार्थ उचित हुन सक्दैन । जनताले कम्युनिष्टहरुलाई पाँच वर्षका लागि शासन गर्ने अधिकार दिएका छन् । जनताको हितमा भन्दा अमूक व्यक्तिहरु संघ संगठनको हित हेर्न थालेका हुनाले जनताले कम्युनिष्टहरु समेत जनताका सेवक हुन नसक्ने आंकलन गरिरहेका बेला त्यसैलाई बल पु¥याउने कार्यमा उनीहरुलागेका हुनाले जनताको मतको अनादार भएको छ । जनताको अपमान भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपीओली सरकारले जनताको चाहनानुसार काम गर्न नसकेको सत्य हो । त्यसो भन्दैमा अहिलेको संकटपूर्ण अवस्थमा ओलीलाई सत्ताबाट हटाईहाल्नुपर्दछ भन्नु उचित हुन सक्दैन । ओली सरकारले गरेका काम कारबाहीलाई पार्टीले अपनत्व लिन नखोज्नु नेतृत्वको कमजोरी हो । ओली सरकारले ल्याएको आर्थिक वर्ष २०७७÷७८ को संघीय बजेटलाई अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले स्वागत गरेका थिए तर अहिले त्यही बजेटको विरोध गर्नु किमार्थ उचित हुन सक्दैन । ओली सरकारले केही राम्रा काम समेत गरेको छ । नेपालको केही भूभागलाई भारतले अतिक्रमण गरेर आफ्नो राजनीतिक र प्रशासनिक नक्साभित्र राखेर नक्सा प्रकाशित गरेको छ । त्यस विषयमा सरकारले राष्ट्रिय सहमति समेत कायम गराउन सफल भएको छ । केही मात्रामा भएपनि राष्ट्रवादको नारालाई उसले तल्लो तहसम्म पु¥याउन सफल भएको छ । जनताले दुःख कष्ट सहेर भएपनि यस विषयमा सरकारलाई पूर्ण सहयोग र समर्थन गरिरहेका बेला सत्ताधारी दल भित्र आन्तरिक द्वन्द्व उठ्नु निश्चय पनि दुःख लाग्दो विषय हो ।

अहिले मुलुक कोरोना भाइरसबाट आक्रान्त भइरहेको बेला सत्ता परिवर्तनको खेलमा लाग्नु किमार्थ उचित हुन सक्दैन । प्रधानमन्त्री ओलीमा पनि केही दम्भ दखिएको छ । दम्भ र घमण्डले गर्दा र आफ्नै दलभित्रको द्वन्द्वले गर्दा नेकपा संकटपूर्ण अवस्थामा पुगेको छ । व्यक्ति परिवर्तन भएपनि अहिलेको अवस्थामा जनताले केही पाउन नसक्ने भएकाले जनताको लागि नेकपाभित्रको विवाद कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको हामीले ठानेका छौँ ।

footer