kumari
stcnepal

गठबन्धनकारी दलहरुले जिते पनि दल र जनताले हारे

 

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस सबै भन्दा ठुलो पार्टी बन्न सफल भएको छ । सत्तामा रहेका पाँच दलले पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा गएका हुनाले मात्र नेपाली कांग्रेस ठुलो पार्टी बन्न सफल भएको हो भने एक्लै निर्वाचनमा गएको संघीय संसदको प्रमुख प्रतिपक्षी दल आफ्नै खुट्टामा उभिएर दोस्रो ठुलो दल बन्न सफल भएको छ । दलहरुका उम्मेदवारलाई पछि पार्दै केही स्थानीय तहहरुमा स्वतन्त्र उम्मेदवारहरुले जित हाँसिल गरेका छन् । दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारहरुले जित हाँसिल गर्नु दलहरुका लागि खुल्ला चुनौती हो ।
काठमाडौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले दलका उम्मेदवार भन्दा झण्डै दोब्बर मतले जित हाँसिल गर्नु भनेको दलहरुका लागि लाजमर्दो अवस्था हो । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले सबै भन्दा ठुलो पार्टी बन्न सफल भएको भएपनि अहिले सम्पन्न भएको निर्वाचनमा उसले २०७४ मा जितेको स्थानीय तहमा भन्दा ९० वटा तहमा कम जितेको छ । ६ वटा महानगर मध्येका एउटा पनि महानगरमा उसले जित हाँसिल गर्न सकेन भने ११ वटा उपमहानगर मध्येका ३ वटा उपमहानगरमा जित हाँसिल गरेको छ ।
पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरु मध्येका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मध्येका नेपाली कांग्रेस गठबन्धनकै कारण ठुलो दल बन्न सफल भएको छ भने माओवादी केन्द्रले २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा १ सय ६ वटा स्थानीय तहमा जित हाँसिल गरेकोमा अहिले गठबन्धन गरेर निर्वाचनमा गएको भएपनि १५ स्थानीय तहमा मात्र बढी जित हाँसिल गरेको छ । नेकपा एकीकृत समाजवादी गठबन्धनमा रहेका भएपनि जम्मा २० स्थानीय तहमा मात्र जित हाँसिल गरेको हुनाले सबैभन्दा ठुलो घाटा उसैलाई भएको छ । नेकपा एमालेबाट विभाजित हुँदा उसले २३ सांसदको समर्थन पाएको र नेकपा एमालेलाई विभाजन गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले नै राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर माधव नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गर्न सहयोग गरेका थिए ।
निर्वाचन आयोगले एकीकृत समाजवादीलाई दल दर्ताको मान्यता दिएपछि सरकारले अध्यादेश फिर्ता लिएको थियो । गठबन्धनमा रहेको जनता समाजवादीले पनि २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा जितेको सिट संख्या भन्दा अहिले सिट संख्या बढाउन सकेन भने राष्ट्रिय जनमोर्चाको अवस्था पनि उस्तै रहेको छ । पाँच दलीय गठबन्धनमा रहेका दलका उम्मेदवारहरुले जति स्थानीय तहमा विजय हाँसिल गरेका छन् त्यो पाँच दलीय गठबन्धनको जित हो भने नेकपा एमालेले जितेको स्थानहरुमा एमालेको मात्र जित भएकाले यसपालिको निर्वाचनमा पाँच दलीय गठबन्धनमा रहेका दलहरुको हैसियत कति हो भन्ने प्रष्ट हुन सकेको छैन । मुलुकभरमा नेकपा एमालेले पाएको मत संख्या हेर्दा मत संख्याको आधारमा नेकपा एमाले नै अघि देखिएको छ । प्राविधिक कारणले नेकपा एमाले दोस्रो स्थानमा पुगेको भएपनि मतसंख्याको आधारमा नेकपा एमाले नै पहिलो स्थानमा रहेको छ ।
पाँच दलीय गठबन्धनमा रहेका दलका उम्मेदवारहरुले पाँच दलका समर्थकहरुको मत पाएका छन् भने एमालेका उम्मेदवारहरुले एमालेका समर्थकहरुको मात्र मत पाएका हुन् । गठबन्धनका उम्मेदवाहरुले मेयर र गाउँपालिकामा जित हाँसिल गरेका अधिकांश स्थानमा एमालेका उम्मेदवारहरुले उपमेयर र उपप्रमुख पदमा जित हाँसिल गरेका छन् । यो तथ्यलाई हेर्दा दलहरु एक्लाएक्लै स्थानीय तहको निर्वाचनमा गएका भए नेकपा एमाले सबैभन्दा ठुलो पार्टी हुने र अहिले जित हाँसिल गरेको भन्दा दोब्बर मतले स्थानीय तहमा विजयी हुने मत संख्याले देखाएको छ । नेकपा एमालेको पोजिसन अहिले दोस्रो देखिएपनि अन्य दलको पोजिसन गठबन्धन गरेका हुनाले कुन हो भन्ने देखिएको छैन ।
पाँच दलीय गठबन्नमा रहेका दलहरु मध्येको नेपाली कांग्रेस पहिलो पोजिसनमा रहन सफल भएको भएपनि उसको मात्र मतले ऊ पहिलो स्थानमा पुगेको हो भन्नु कुनै अर्थ रहँदैन । उसले पाएको मत पाँच दलीय गठबन्धनको मत हो त्यसैगरी माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले पाएको मत समेत गठबन्धन रहेका दलहरुको मत हो । गठबन्धनले केही तहमा सत्ता स्वार्थका लागि अन्य दलहरुसँग समेत गठबन्धन गरेर निर्वाचनमा गएको थियो । राप्रपालाई हराउन झापामा कांग्रेस, एमाले, माओवादी गठबन्धन गरेका थिए भने केही स्थानीय तहमा गठबन्धनमा रहेका दलहरुले राप्रपासँग समेत गठबन्धन गरेर नेकपा एमालेलाई हराएका थिए । यो अनौठो प्रक्रिया र गठबन्धन भएपनि एमालेले त्यस्तो गठबन्धनलाई एक्लै केही स्थानीय तहमा पराजित गरेको थियो ।
गठबन्धनकारी दलहरुले जितेको भएपनि दल र जनताले भने हारेका छन् । स्वयम् प्रधानमन्त्री देउवाले गठबन्धनकारी दलहरुलाई जिताउन आग्रह गर्दै देश दौडाहा गरेका थिए । प्रधानमन्त्रीले त जनतालार्ई भयरहित वातावरणमा मतदान गर्न आग्रह गर्नुपर्नेमा गठबन्धनकारी दलहरुलाई मतदान गर्न आग्रह गरेकाले पाँच दलीय गठबन्धनले जितेको हो । केही नेताहरुले त विपक्षी दलले जितेको ठाउँमा बजेट नै नदिने बताएका थिए भने केहीले आफ्ना नातेदार नजिते मुलुक दुर्घटनामा जाने धम्की समेत दिएका थिए । यी सबै कारणहरुले गर्दा नेकपा एमालेले अहिले प्राप्त गरेको विजय एमालेका लागि उत्साहजनक नभएपनि एक्लै ल्याएको मत हो भन्ने हामीले ठानेका छौँ ।

footer