kumari
stcnepal

नेपाल–अमेरिकाबीचको ७५ वर्ष लामो सम्बन्ध किन महत्वपूर्ण छ

 

राजन कार्की

२५ अप्रिल १९४७ का दिन नेपाल–अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापित भयो । १९५९ मा दूतावास खोलियो । ७५ वर्ष लामो यो सम्बन्धमा ससाना विवाद भए पनि सधैं मैत्रीपूर्ण सम्बन्ध रह्यो र अमेरिका नेपालाके प्रजातान्त्रिकरण र विकासको साझेदार रहदै आएको छ ।

नेपालविरुद्ध अमेरिकी नीतिमा कुनै अभिष्ठ देखिदैन । एमसिसी सहयोगमा केही विवाद उठ्यो, त्यो विवाद अमेरिकाले झिकेको होइन । नेपालले विद्युतीकरण र सडक विस्तार गर्दै नेपालको आर्थिक विकास गर्न एमसिसी परियोजना चाहियो भनेर मागेपछि अमेरिकाले दिएको हो । त्यसमा कुनै कमीकमजोरी रह्यो भने त्यो नेपाली नेताहरूको भूल हो । अमेरिकाले पारदर्शी रुपमा सहयोग दियो, सहयोगका सर्त मान्छु भनेको नेपालले हो, मान्यो । एमसिसी परियोजना कार्यान्वयनमा गइसकेको छ । अब यो परियोजना कसरी समयमै सम्पन्न गर्ने र भोका जनताको आर्थिक विकासमा उपयोगी बनाउने भन्ने जिम्मेवारी नेपाल सरकारको हो ।

अमेरिकाले पहिले भारतको आँखाले हेर्ने गरेको थियो । नेपाललाई सिधै हेर्नुपर्छ र नेपालको विकासमा सघाउनुपर्छ भनेको नेपालले हो । यसकारण नेपाल–अमेरिकाको लामो सम्बन्ध शान्ति, प्रगति र प्रजातान्त्रिक समाज विकासमा सहयोगी थियो, आउने दिनमा पनि त्यस्तै हुने अपेक्षा गर्न सकिन्छ ।

भूकम्पका कारणले २०१५ मा नेपाल नराम्ररी भताभुङ्ग अवस्थामा पुग्यो । अमेरिकाले राहत दियो, सघायो । तत्काल १९० मिलियन डलर दिएको पनि हो । त्यो सहयोग बाहेक पनि अमेरिकाले बसन्तपुर दरवारदेखि विभिन्न स्कूललगायतका संरचना पुननिर्माणमा अमरिकाले सघाएको छ । ५० मिलियन डलर उर्जा र सडकका लागि एमसिसीमार्फत दिएको छ भने त्योभन्दा बढी सहयोग अन्य पूर्वाधार निर्माणका लागि यूएस एडमार्फत दिने निर्णय गरिसकेको छ । नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटमा फस्न लागेको बेलामा अमेरिकी सहयोगको सदुपयोग हुनसक्यो भने त्यो साह्रै मद्दतयुक्त हुनसक्छ ।

अमेरिकाले नेपालमा प्रजातान्त्रिकरण, गरीबी उन्मूलन, नेपालीको आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धहरुमा स्वतन्त्र पहिचानमा चाख दिएकाले आपसी सम्बन्ध आधुनिक सभ्यताअनुकूल बन्दै गएका छन् ।

नेपाल उत्तर र दक्षिणमा विशाल क्षेत्रफल र जनसंख्या भएको चीन र भारतका बीचमा अवस्थित सानो मुलुक हो । यो मुलुक सदैव स्वतन्त्र मुलुकका रुपमा बाँचेको छ । भारतसँगको खुला सीमा र चीनसँगको भूराजनीतिक सम्बन्धका कारण नेपालले समदूरीको नीति अपनाउँदै आएको छ । दुबै मुलुकको प्रभाव नेपालमा व्यापक छ ।

बेलायतसँग १८१६ को सुगौली सन्धिदेखि नै सम्बन्ध कायम छ । अमेरिकापछि भारतसँग जुन १३, १९४७ मा र चीनसँग १ अगस्त १९५५ मा सम्बन्ध स्थापित भएको हो । हाल नेपालको १५५ भन्दा बढी मुलुकसँग कूटनीतिक सम्बन्ध रहेको छ ।

तर नेपाल अमेरिका सम्बन्ध विशेष अर्थपूर्ण मानिन्छ । यूएस सेन्सस ब्यूरोका अनुसार सन २०२० सम्ममा अमेरिकामा १ लाख ९८ हजार नेपाली बसोबास गर्छन् । त्यो धेरै ठूलो नेपाली समाज हो । नेपाल–अमेरिका सम्बन्ध मैत्रीपूर्ण, एकापसमा बुझ्ने, सहयोगी र सम्मानमा आधारित छ । यहीकारण नेपाली युवाले समेत शैक्षिक र अन्य विषयमा अमेरिकाबाट ठूलै अवसर पाइरहेका छन् ।

हुन त भारत खुला सीमा भएको छिमेकी हो । यसकारण नेपालमा भारतको धेरै प्रभाव छ । तर भारतीय हस्तक्षेप र सीमा अतिक्रमणका कारण भारत सरकारप्रति नेपाल जनमानसमा घृणा पनि उत्तिकै बढी छ । चीनसँग सम्बन्धमा तीतोपन छैन तर नेपालको विश्वासयोग्य भरोसामा खरो उत्रने गरेको छैन । २०४६, २०६३ र २०६५ को राजनीतिक परिवर्तनमा चीनले चासो राखेन । चीनका कारणले नेपालको राजतन्त्र हटेकोमात्र होइन, दरवार हत्याकाण्डको छानबिनमा समेत चीन निरपेक्ष रहेको थियो । यद्यपि नेपाल भारत र चीनको असल छिमेकी हो नेपाल । उदारवादी लोकतन्त्र र विश्वव्यापी आर्थिक विकास लक्ष्यबाट निर्देशित यो सम्बन्ध कायम छ । आउँदा दिनमा पश्चिमले अविकसित नेपालबाटै विकास र प्रजातन्त्रको नेतृत्व गर्ने चासोका साथ नेपाल महत्वपूर्ण साझेदार बनेको छ ।

९–११ आतंककारी हमलापछि अमेरिका अधिनायकवाद, द्वन्द्व, हिंसा, सम्पदा संरक्षण, प्रकृति संरक्षण, विज्ञान, प्रवृधि र सुरक्षा क्षेत्रमा संवेदनशील भएर अघि बढेको छ । यसकारण यो सम्बन्ध व्यापक र सक्रिय रुपमा देखापर्दैछ । अमेरिका विश्व नेतृत्वको शक्ति हो । प्रजातन्त्रका मान्यतायुक्त विचार निर्माण र राजनीति, कूटनीति अमेरिकाको प्राथमिकता हुन् ।

प्रश्न छ, कूटनीतिक सम्बन्धले आपससी हित रक्षा गर्न सक्नुपर्छ । अमेरिका कति विषयमा आलोचित छ, तर प्रजातान्त्रिकरणका विषय मानिसका आवश्यकता हुन् ।

नेपालका लागि उदायमान भारतको शक्ति, उदाइसकेको चीनको आर्थिक उन्नतिसँग जोडिएको नेपालको कमजोर कूटनीतिका सामु पश्चिमा समेतको प्रवेशको अवसर, चुनौती र जोखिमहरुलाई कसरी व्यवहारिक हुने भन्ने प्रश्न टड्कारो देखिन्छ ।

संसदबाटै एमसिसी पारित गरिसकेको नेपाल अब नावालग रहेन । राजनीतिक र कूटनीतिक परिपक्वता नेपालको अनिवार्य सर्त हो । कुनै पनि प्रकारको अधिनायकवाद, विधिमाथिको हमल आत्मघात हुनसक्छ ।

विश्व राजनीतिमा प्रवेश गरेपछि विकासको चास्नी चाख्न पाइन्छ । सन्तुष्टि प्राप्त हुन्छ । स्वतन्त्र, स्वायत्त र सार्वभौमसत्ता सम्पन्न तरिकाले विश्व राजनीतिलाई संवोधन गर्ने ल्याकतको विकास गर्नैपर्छ । अन्यथा अवसर समस्या बन्नसक्छ, समस्या संकटका रुपमा खडा हुनसक्छ । नेपाललाई प्राप्त कूटनीतिक आसन कत्ति पनि ढलपल गर्न नसक्ने पार्नु चूनौती हो ।

१४ डिसेम्बर १९५५ मा नेपाल राष्ट्रसंघको सदस्य बन्यो । आजसम्म पनि यो निरन्तरता कायमै छ । नेपाल दुईपल्ट १९६९ र १९८९ मा सुरक्षा परिषदको सदस्य पनि चुनिाएको थियो । नेपाल राष्ट्रसंघीय मानवाधिकार आयोगमा पनि सघाइरहेको मुलुक हो । राष्ट्रसंघको शान्ति मिसनको त नेपाल अभिन्न अंग नै बनेको छ ।

अमेरिकाकै सहयोग र साथ पाएर नेपाल संयुक्त राष्ट्रसंघको ७७औं महासभामा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएको छ । यस्तो सहयोगले नेपालको स्वाधीनता र सार्वभौमिकता, उदारवाद र प्रजातान्त्रिकरणमा मद्दत पुग्छ ।

संयुक्त राष्ट्र संघको बडापत्रमा प्रतिवद्ध भएका कारण विश्व मामिलाको आदर्श र वास्तविकतासँग सम्झौता गर्न सक्दैन ।

विश्व भिलेजको कन्सेप्ट विकास भइसकेको छ । क्लाइमेट चेन्ज समस्त जीवका लागि साझा समस्या बनेको छ । आणविक र अन्तरिक्ष पहुँच बढेर गएको छ । विज्ञहरु आधुनिक अध्ययन र जीव अस्तित्वको सुनिश्चितताका लागि दिनरात मेहनत गरिरहेका छन् । यो अवस्थामा बन्द समाज कल्पनाभन्दा बाहिरको कुरा भइसक्यो । खुलापन र पादर्शिता आर्दश बनिसकेको छ । नेपालका विगतका अडान, आफ्नो नीतिमा सुष्पष्टा झन जरुरी हुनपुगेको छ । उदारवाद, प्रजातन्त्र र पुँजीवाद विश्वव्यापी आकांक्षा बन्न थालेका छन् । नेपाल र अमेरिका दुवैको धार र धारणा प्रजातन्त्र नै हो । यसकारण उर्वर भू िमबनेको नेपाली कम्युनिजमको गतिमति सुध्रिने क्रम देखिन्छ, प्रजातन्त्रको विकल्पका रुपमा उभिएर अघि बढ्न सक्दैन कम्युनिजम ।

बिगतमा जे देखियो, अराजकता र अविकासका कारण कम्युनिजम देखियो । भ्रष्टाचार, चरित्रहीनता र नातावाद समानताको विरुद्धमा उभ्याउने पनि कम्युनिजम नै देखियो । जनताको प्रमुख एजेन्डा स्वतन्त्रता, न्याय र सत्यमा आधारित शान्ति निर्माण र विचारमूलक सहमतिलाई समेत कम्युनिजमले अशान्त बनाइदियो । फलतः सुशासन स्थापित हुनसकेन । अस्थिरता बढ्यो । अमेरिकासँग नेपालले सिक्नुपर्ने मूल विषय नियमवद्ध शासन, व्यवस्थापन र नियमवद्ध शैली नै हो ।

अमेरिकी कूटनीतिले नेपालको गरीबी उन्मूलनलाई प्राथमिकता दिएको छ । लोकतान्त्रिक जीवनशैली, कानुनीराज, रोजगारीका अवसर, आर्थिक समृद्धि र चरित्रगत सुधारको भावना जगाउन व्यापार, लगानी र व्यवसाय अभिवृद्धिमार्फत प्रेरित गरेको छ ।

अब युग बदलियो । माटो सुहाउँदो नीतिलाई आन्तरिक र बाह्य सम्बन्धको राजमार्ग बनाउने हो भने नेपाल–अमेरिका सम्बन्धले अवसरका अनेक ढोका खोल्न सक्छन् । कुशलतापूर्वक कूटनीति र उदार राजनीति अपनाएर अघि बढ्ने हो भने नेपालमा केही वर्षमै अनेक रुपान्तरणहरू भेट्न सकिन्छ ।

राजनीतिक द्वन्द्व चुनावका बेलामा मुखरित हुन्छन् । स्थानीयमा भन्दा बढी आगामी संसदको निर्वाचनमा द्वन्द्व अरु देखिने छन् । नेपाललाई चाहिएको वैदेशिक लगानी, प्रविधि, रोजगारी, उत्पादन र निकासी हो । जसले बढ्दो व्यापार घाटा र आर्थिक मन्दीसँग जुध्न सकिन्छ । यो चाहना उदारवाद, प्रजातन्त्रवादबाट मात्र सम्भव छ । अमेरिका नेपालमा यही चाहन्छ, नेपाली पनि यही परिवर्तन चाहन्छन् ।

नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध ७५ वर्ष भएको छ । यो बीचमा धेरै परिवर्तनहरु भएका छन् । नयाँ परिवर्तनका झल्का र झिल्काहरू देखिएका छन् । नेपाल अग्रगमनको नयाँ मोडमा आइपुगेको छ ।

कसरी भोका नागरिकलाई खाना, नाङ्गा नागरिकलाई नाना, घरबिहीनलाई छाना उपलब्ध गराउन सकिन्छ भनेर यस्ता अवसरको भरपूर उपयोग किन नगर्ने ?

footer