kumari
stcnepal

पाल्पाको तानसेनमा आज देखि अन्तर व्यवस्थापिका अन्तरसंवाद भेला हुँदै

तानसेन । पाल्पाको तानसेनमा आजदेखि अन्तर व्यवस्थापिका अन्तरसंवाद भेला हुँदैछ । लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको दुईदिने भेलामा संघ र प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु सहभागी हुँदैछन् ।

कार्यक्रमको सबै तयारी पुरा भएको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । संघीयता कार्यान्वयन गर्दै एकअर्काले गरेको अभ्यासलाई सिक्न र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउने तयारी अनुसार कार्यक्रम आयोजना गरिएको सभामुख घर्तीले बताए । उनका अनुसार भेलाका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिव लगायत पाल्पा आइसकेका छन् । शनिबार सम्पन्न हुने भेलाले पाल्पा घोषणापत्र जारी गर्नेछ ।

भेलामा संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले, उत्तरविद्यायिकी परीक्षण कार्यविधि संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्काले प्रस्तुत गर्नेछन् । यस्तै अन्तर व्यवस्थापिका मञ्च, नेपालको विधान प्रस्तुति पनि लुम्बिनी प्रदेश सभा सचिव पुनले प्रस्तुत गर्ने कार्यक्रम छ । भेलामा सातै प्रदेशका सभामुख, प्रदेशसभा सचिवले समूहगत छलफल गर्नुका साथै आफ्ना सुझाव राख्ने छन् । संघीयता कार्यान्वयनसँगै तीन तहका सरकार स्थापना भए पनि जनताले त्यसको अनुभूति गर्न नपाएकाले यस विषयमा छलफल हुने उनले बताए । तीनै तहका सरकारले जनताको समस्या समाधान गर्ने कानुन निर्माण गरी अघि बढ्ने विषयमासमेत छलफल हुनेछ । त्यसका लागि स्थानीय र प्रदेश सरकार बलियो हुनुपर्ने उनले बताए । प्रदेशको सफलतासँगै संघीयताको सफलता जोडिएको उनले बताए ।

उनले संघबाट आवश्यक कानुन नबन्दा प्रदेशका लागि आवश्यक कानून निर्माण गर्न नसकिएको उल्लेख गर्दै सबैको छलफलपछि साझा अधिकारका सूचीभित्र रहेका कानून निर्माण र प्रदेशका सभामुखसँगको समन्वयका लागि पनि यो भेला महत्वपूर्ण हुने विश्वास गरिएको बताए । सातै प्रदेशका सभामुखसहितको टोलीले पाल्पाका विभिन्न ऐतिहासिक र पर्यटकीय स्थलको अवलोकन गर्ने कार्यक्रम समेत रहेको हुँदा जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

footer