kumari
stcnepal

न निष्ठा, न नीति, निर्वाचन र राजनीति

 

राजन कार्की

जता मल्को उतै ढल्को, निर्वाचन राजनीति यही हो । यही कारण त नो नट एगेन भनेर जतिसुकै चिच्याए पनि तिनकै प्रभाव बढ्दोछ, तिनकै सभामा व्यापक भीड जम्मा भइरहेको छ । निश्चित छ, यिनकै पक्षमा निर्वाचन परिणाम आउनेछ । बिरालाकोटी स्वतन्त्र वा सक्षम उमेदवार बिजयी भए पनि तिनले चर्को स्वरमा देश र जनताको आवाज उठाउने बाहेक गर्न केही सक्नेछैनन् । आगामी ५ वर्ष फेरि पनि बिगतकै फोहर राजनीति दोहोरिनेवाला छ । मतदाताका लागि हतारमा गल्ती गरेर फुर्सदमा पछुताउनुपर्ने वातावरण सिर्जना हुँदैछ ।
लोकतन्त्र इमानबाट चल्ने व्यवस्था हो । नीति र नैतिकता, विधि र व्यवस्थापनमा उभिन सक्ने नेतामात्र सतिसाल हुन्छ । जब नेताहरु आफैलाई जवाफदेही बनाउन सक्दैनन्, यी नेता नभएर डाँकु बन्छन्, डाँका निष्ठामा सतिसाल भएर उभिन सक्दैनन् । नेपालको राजनीति अपराधिकरण भयो, निष्ठा कसैमा पनि छैन । निष्ठा नभएको नेता न राजनेता बन्न सक्छ, न सतिसाल भएर उभिनसक्छ ? कानुनव्यवस्था लथालिङ्ग भएको र श्रीलंकाको जस्तो अराजकताको निकट पुग्नेको कारण यही हो ।
मौसमअनुसारको ट्यूनिक लगाउनेहरु हावाको बहाव हेरेर चल्छन् । स्वार्थमा डुबुल्की मार्नेहरु यिनै हुन् । राजनेता निष्ठामा उभिन्छ, निष्ठामा चल्छ, उसका लागि व्यक्तिगत स्वार्थले महत्व राख्दैन । त्यसपछि न नेता नेता बन्छ, राजनेता बन्छ । आगोमा जति पोले पनि के गर्ने ? पित्तल सुन बन्दैन, न गहना बन्छ । फलाम त तातेपछि हतियार बन्छ, निष्ठाहीन नेता कहिले पनि कर्तव्यच्यूत भएपछि स्वार्थको, विदेशको हतियारमात्र बनिरहेका छन् । आमनिर्वाचन हुन गइरहेको छ, कसैले राष्ट्रिय मुद्दा उठाएनन् । न भोलिको नेपाल यसरी निर्माण गर्छु भनेर घोषणापत्रमै लेखे । सबै सपना बाँडिरहेका छन् ।
यही कारण हो, सुनजस्तो लोकतान्त्रिक व्यवस्था छ, व्यवस्थापन गर्ने क्षमता कुनै नेतामा छैन । सबै स्वार्थका बन्दी छन्, नातावाद र भ्रष्टाचारमा रमाउँछन् । भ्रष्टाचारीले चलाएपछि लोकतन्त्र भ्रष्टाचारमय हुनु स्वभाविक हो । कुशासनको कारण यही हो ।
नागरिकका सामु राजतन्त्र नुहियो, भ्रष्टाचारमा डुबेर बहुदल र लोकतन्त्र तुहियो, विधिमा बाँधिन र चल्न नसक्दा कानुन व्यवस्था कुहियो । वर्तमान नेपालको तस्वीर यही लोकतान्त्रिक बिकृति हो ।
परिवर्तन समयले ल्याउने हो, ल्यायो । लोकतन्त्र आयो । अब त केही राम्रो होला कि भन्ने आशा पलायो । १५ वर्ष भयो, लोकतन्त्र राम्रो होइन, लुटतन्त्र चलाइरहेछ । नेता आफू अयोग्य बने, लोकतन्त्रलाई समेत अफापसिद्ध बनाइदिए ।
नेताहरू स्वस्थ छन्, तिनका नातापाता र आउरेबाउरेहरूसमेत स्वस्थ र सग्ला छन् । ख्याउटे थिए, खाइखाँदै बनेका छन् । आमनागरिकको जीवन खोरिया बन्यो । देश दल दल भयो । परिवर्तनपछि हुनुपर्ने चार तत्व थिए– दूरदृष्टि, इमानदारिता, सुशासन र निष्पक्षता । एकतत्व पनि रहेन । लोकतन्त्र जतिसुकै उत्तम व्यवस्था भए पनि व्यवस्थापन हुन नसक्दा लोकतन्त्र भाषणतन्त्र बन्नपुग्यो । कानुन व्यवस्था भन्ने नै केही बाँकी रहेन । जता हेरे पनि सेटिङ्, नाताबाद, कृपाबाद, अनियमिता । लोकतन्त्र दुर्गन्धपुर बन्यो । नागरिक असन्तुष्ट छन्, सन्तुष्टीलाई एकलौटी बनाएर राजनीतिक दलहरू लाखेनाच देखाइरहेका छन् ।
लोकतन्त्र १५ वर्षमै यसरी अलोकप्रिय किन भयो ? मंसिर ४ को निर्वाचनअघि मिमांसा हुनुपथ्र्यो । संघीयता सही हो कि गलत ? यसमा पनि विश्लेषण हुनुपथ्र्यो । तर यतिबिघ्न दुर्गन्धित भइसक्दा पनि लोकतन्त्रका रथी, महारथीहरु समीक्षा गर्न तैयार छैनन् । उनीहरुलाई लागेको छ– उनीहरुले गरेको जेमन्त नै लोकतन्त्र हो । लोक हाम्रा प्रशंसक छन् ।
समयले भनिरहेको छ– हाँक्ने रथीहरु भ्रष्ट भए, भिजनहीन भए, बेइमान भए, जनताप्रति जवाफदेही भएनन् । योग्यता, पारदर्शिता र जिम्मेवार बन्न नसकेपछि नेताले व्यवस्थालाई कसरी अलोकप्रिय बनाउने रहेछ, पर्दा खुलिसकेको छ । अब पनि सचेत नहुने हो भने अर्को जनसुनामीलाई रोक्न सकिने छैन । तर सुनामी ल्याउने जनता नो नट एगेन भनिएका नेताहरूकै पछि पछि दगुरेको पो देखिन्छ । मनभरि आक्रोश बोकेर, नेताको जयजयकार गीत पो गाइरहेछन् ।
देश गरीब छ, गरीब देशका नेताहरु सर्वहाराको, सिमान्तकृत बर्गको, निसहायको परमेश्वरका रुपमा उदाएका थिए, १५ वर्षमा तिनको प्रवृत्तिमा असुरपन बढेर जाँदो छ । किनकि यिनै बर्गका हक अधिकार पनि आफैले सोहोर्न थालेका छन् । गरीब देश र गरीव जनताको चरम शोषण गरेर जति पनि नेता, तिनका परिवार र तिनका वरिपरिका प्रभावशाली व्यक्तिहरु छन्, ती सबै आज लखपति, करोडपति, अर्वपति बनिसके । पद र प्रतिष्ठा सबै तिनको मौज ाबनेको छ । १५ वर्षमा आएको लोकतान्त्रिक परिवर्तन यही हो ।
जनताको जनजिविका र राष्ट्रका आधारहरु खस्किदै र कडीहरु फुस्किदै गएका छन् । यसको जिम्मेवारी कसले लिने ? कुनै दिन जनता ब्यूँझिए भने जनताले कसी घस्छन्, त्यो दिन नेताहरु पत्रु सावित हुनेछन् । दण्ड पाउने दिन आउनेछ । लामो समय भएको छैन, श्रीलंकामा के भयो ? अफगानिस्तानका निर्वाचित राष्ट्रपतिले देश छाडेर भाग्नुप¥यो । त्यो देख्दादेख्दै पनि हाम्रा निर्वाचितहरु इतिहासबाट शिक्षा लिइरहेका छैनन् । मानौं, उनीहरु त्यस्तै भूकम्पको प्रतिक्षा गरिरहेका छन् ।
हाम्रा सामु उभिएको यक्ष प्रश्न हो– नेपाल बाँच्ने कसरी, नेपालीत्व बचाउने कसरी ? प्रत्येक नेपालीले आज सोच्नैपर्ने विषय यही हो । वीरले देश बनाए, बचाए, आजको नेतृत्व पुस्ता देश डढाएर आगो ताप्दैछ, खरानी बेचेर सम्पन्न हुँदैछ । यो अग्रगमन होइन । यो त परिवर्तित सभ्यतालाई चुनौति हो । यथार्थमा नेपाल ज्वालामुखीमाथि पुगिसकेको छ ।
हाम्रा नेताहरुले न त १९७५ को सिक्किम पढे, न त फिजी । न अफगानिस्थान वा श्रीलंकाबाट शिक्षा लिए । माछा मार्न भारतबाट फिजी पुगेको भारतीय माझी व्यक्ति १८ वर्षमै फिजीको प्रधामन्त्री कसरी बन्यो, उनको नाम हो महेन्द्र चौधरी । यत्ति कुरा पनि नेपालका नेताले हेक्का राख्न सकेनन् । यसकारण यो नेतृत्व असफल छ, अज्ञानी छ, अयोग्य छ । यस्तो अज्ञानी, अबुझ, अयोग्य नेतृत्वलाई जनताले किनारा लगाउनै पर्ने हो । आगे जनताको जो बिचार ।
यस्ता असफल नेताहरु भ्रष्टाचारको कोतपर्व मच्चाइरहेका छन् । वीरनरसिंह कुवर जो १९०३ को कोतपर्व गरेर श्री ३ जंगबहादुर राणा बनेका थिए । यिनले गणतन्त्रलाई मुख्य कोतपर्व र आफूलाई जंगबहादुर सम्झेका छन् । जंगे त चलाख थिए, वीर थिए । यी त स्वार्थी छन्, विदेशीका सामु लगलग खुट्टा कमाउनेहरु छन् । यी कसरी जंगबहादुर बन्लान् ? यिनले जानेको लोकतन्त्रको जामा लगाएर लाखे नाच्नु हो । लाखे नाच्नु भनेको जात्रा मात्र हो, जंगबहादुर बन्नु होइन ।
नेपालमा परिवर्तन कसरी आयो ? जनयुद्ध र जनआन्दोलनको सत्य के हो, उजागर भइसकेको छ । जनयुद्ध भारतको प्रोक्सी वार रहेछ, जसले नेपाली राष्ट्रवाद कमजोर बनाएर तारेभीरमा पु¥यायो । जनआन्दोलन भारतकै जोडबलले भएको रहेछ, जसले लोकतन्त्र त ल्यायो, लोकतन्त्रका मानसिक असन्तुलन भएका चालकहरुमार्फत नेपालको अस्तित्व संकटमा पारिसकेको छ । बुझ्नेहरु चिच्याइरहेछन्, राजनीतिमा परिपक्वता आएन । परराष्ट्रनीतिमा फितलोपन भयो । इतिहासले अनेक चुकहरु टिपिरहेको छ । ती चूकहरु दोहोरिनु भनेको अस्तित्व संकटमा पर्नु हो । जनतालाई पार्टी पार्टीमा बिभक्त गर्नेहरु आफै शक्तिशाली भएको आत्मरतिमा छन् । आत्मरति वीरता होइन, पलायन हो । कर्तव्यच्यूत हो । कर्तव्यच्यूतहरु वीर हुनसक्दैनन् । लोकतान्त्रिक पनि हुनसक्दैनन् । अकर्मण्यहरुको इतिहास भनेको कालो नै लेखिन्छ ।
नेपाली नेताको चरित्रअनुसारको एउटा चल्तीको कथा यस्तो छ–
सर्पले टोकेको मान्छेलाई घाट पु¥याउनासाथ स्यालले देखेछ र आएर सुझाव दियो– सर्पले टोकेको लाश पोल्न हुन्न । गाड्नुपर्छ । सर्पले टोकेको लाश बौरिन पनि सक्छ, कुर्नुपर्छ, साँझसम्म पख्नुस् है । मलामीलाई यो सुझाव ठिकै लाग्यो ।
स्याल गयो, गिद्ध आयो । त्यो स्याल धुृर्त छ, त्यसको कुरा नपत्याउनुस् है । साँझ परेपछि लाश तान्ने सुर छ त्यसको । त्यसैले लाशलाई खोलामा बगाइदिनोस् । मरेको मान्छे बौरिने कुरा बेकार हो ।
गिद्ध गयो, झाडीमा लुकेको स्याल फेरि आयो र भन्यो– पानीमा बगेको लाश लुछ्ने दाउ छ है त्यसको, बुझ्नोस् । शब बगाउनु हुन्न, गाड्नैपर्छ ।
मलामीहरु ट्वाँ परे, के गर्ने के नगर्ने ?
यस्तै छ नेपालको लोकतन्त्र । न ओल्लो किनार, न पल्लो तीर । जसरी पनि जनताको आँखामा छारो हाल्ने हो, भ्रममा पार्ने हो र जनतालाई जिल्याएर गिद्ध र स्यालले लाश लुछ्ने अक्किल निकालेझैं देश र लोकतन्त्रको आवरणमा देशी विदेशीहरूबाट लुट्नुसम्म लुट्ने काम भइरहेको छ । अत्याचार, दूराचार, तस्करी, भ्रष्टाचार जे गरे पनि लोकतन्त्रको झण्डा फहराएर भइरहेका छन् । सार्वभौम जनताको कुनै भाउ छैन ।
नेताहरु भोटको राजनीति गर्छन् । देशको राजनीति गर्ने कोही छैनन् ।

footer