काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेश विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सन्दीपले दायर गरेको मुद्दा सँगै नेपाल सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेश विरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।
नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए। धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । तर यसअघि नै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सरकार सर्वोच्च अदालत पुगेको थियो ।
आजको इजलासमा लामिछानेको तर्फ बाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए । यस्तै सन्दीपका बाँकी वकिलले सोमबार बहस गर्नेछन् । यस्तै आज पीडितको तर्फ बाट शान्ति रिसाल काफ्ले सहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फ बाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे ।