kumari
stcnepal

अविरल वर्षाको कारण पूर्वी तराईमा डुबान सुरु

विराटनगर । अविरल वर्षाको कारण पूर्वी तराईमा डुबान सुरु भएको छ । यो वर्ष पहिलोपटक डुबान सुरु भएको हो । मोरङ प्रहरीका अनुसार विराटनगर लगायत जिल्लाका कतिपय स्थानका बस्तीमा खोलाहरू पसेका छन् । जसका कारण ठुलो क्षति नभए पनि मानिसहरू प्रभावित बनेका छन् ।

विराटनगर स्थित सिंघीया खोलाको बाढी विराटनगर १, २ र ८ नम्बर वडाको सुकुम्वासी बस्तीमा पसेको छ । जसका कारण त्यस क्षेत्रको अधिकांश स्थान डुबानमा परेको छ । बाढी बस्तीमा पस्दा विराटनगर १ गङ्गा टोल र विराटनगर २ को सुकुम्वासी बस्तीको एक दर्जन बढी घर परिवार विस्थापित भएका छन् । यस्तै विराटनगर ८ स्थित बालगोपाल टोलमा मात्र सुकुम्वासी बस्तीमा खोलाको बाढी पस्दा एक दर्जन घर डुबानमा परेको विराटनगर ८ का वडाध्यक्ष राम पोखरेलले बताए । बाढी पसेको घरपरिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा सारेको उनले सुनाए ।

यस्तै विराटनगरको ६, ७, ८, ११, १२, १५, १६ र १९ नम्बर वडाका घरहरू पनि जलमग्न भएका छन् । उनीहरूलाई प्रहरीले उद्धार कार्य गरिरहेको छ । यस्तै, कटहरी र जहदा गाउँपालिका भित्र एक दर्जन बढी घरहरूमा डुबानमा परेको मोरङ प्रहरीले जनाएको छ ।

footer