kumari
stcnepal

विश्वकप क्रिकेट : अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ४०० रनको विशाल लक्ष्य दियो

काठमाडौं । ग्लेन म्याक्सवेल र डेभिड वार्नरको शतकको मदतमा अष्ट्रेलियाले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई ४०० रनको विशाल लक्ष्य दिएको छ ।
बुधबार भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३९९ रन बनायो । उसले पहिलो विकेटका सुरुमै गुमाएको थियो । मिशेल मार्श मात्र ९ रनमा आउट भएका थिए, जतिबेला टिमको स्कोर २८ रन मात्र थियो । तर वार्नरले स्टिभ स्मिथसँग मिले पारी सम्हाले । दुबैले दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरे ।

स्मिथ ७१ रनमा आउट भए । चौथो नम्बरमा आएका मार्नस लाबुशेनले अर्को महत्वपूर्ण पारी खेले । वार्नरसँग ८४ रनको साझेदारी गरेका लाबुशेन व्यक्तिगत ६२ रन बनाएर पभेलियन फर्किए । ३९औं ओभरको तेस्रो बलमा वार्नर २२औं ओडीआई शतक पुरा गरे । त्यसपछि अष्ट्रेलियाले लगातार २ विकेट गुमायो । पावर प्ले सुरु गर्नुअघि उसको स्कोर २६८/५ थियो । तर म्याक्सवेलले विस्फोटक ब्याटिङ गर्दै ४४ बलमा १०६ रन बनाएपछि अष्ट्रेलियाले ३९९ रन बनायो ।

४० बलमा १०० रन पुरा गरेका म्याक्सवेलले विश्वकपमा सबभन्दा कम बलमा शतकको रेकर्ड बनाए । यसअघि दक्षिण अफ्रिकाका एडिन मार्करमले श्रीलंकाबीच ४९ बलमा शतक पुरा गरेका थिए । मार्करमको रेकर्ड म्याक्सवेलले १८ दिनमै तोडे ।

footer