kumari
stcnepal

न्युजिल्यान्डलाई पराजित गर्दै भारत विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौँ । आयोजक राष्ट्र भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले बुधबार खेलिएको सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ९७ रन बनाएको हो ।

ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने ४८.५ ओभरमा अलआउट हुनुअघि तीन सय २७ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका लागि चौथो नम्बरका ब्याट्सम्यान ड्यारल मिचेलले सतक र कप्तान केन विलियम्सनले अर्धसतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । मिचेलले टोलीका लागि अविजित एक सय ३४ रनको योगदान गरेका थिए ।

उनले लामो समय क्रिजमा सँघर्ष गरी एक सय १९ बलको सामना गरी सात छक्का र नौ चौका पनि हिर्काएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विलियम्सनले पनि ६९ रन बनाएका थिए । उनले ७३ बलमा एक छक्का र आठ चौका प्रहार गरेका थिए । तर, न्युजिल्यान्डका ओपनर ब्याट्सम्यानले भने टोलीलाई गतिलो सुरुआत दिन सकेनन् । ओपनर डेभोन कनवे र रचिन रविन्द्र १३—१३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । विकेटकिपर ब्याट्सम्यान टम लाथम शून्य रनमै आउट भए भने ग्लेन फिलिप्सले टोलीको खातामा ४१ रन थपे । छैठौँ नम्बरका ब्याट्सम्यान फिलिप्सले केवल ३३ बलमा दुई छक्का र चार चौका प्रहार गरेका थिए ।

न्युजिल्यान्डका तल्लोक्रमका ब्याट्सम्यान पनि एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । न्युजिल्यान्डले अतिरिक्त रुपमा पनि ३० रन पाएको थियो । भारतीय टोलीका बलर मोहम्मद सामी सबैभन्दा सफल रहे । उनी एक्लैले न्युजिल्यान्डका सात ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । सात विकेट लिनेक्रममा उनले ९.५ ओभर बलिङ गर्दै ५७ रन खर्चिएका थिए ।

footer