kumari
stcnepal

एनएसएलको उपाधि ललितपुर सिटी एफसीले जित्यो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको फाइनलमा धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुरले उपाधि उचालेको हो।

पहिलो हाफमा दुवै टोली १–१ को बराबरीमा रोकिए पनि ललितपुरले दोस्रो हाफमा नतिजा उल्ट्याउँदै जित आफ्नो पोल्टामा पार्‍यो। खेलको ३७औँ मिनेटमा ओलावाले हाफिजले धनगढीका लागि गोल गरे पनि अग्रता जोगाउन नसक्दा ललितपुरसँग स्तब्ध बन्यो । पहिलो हाफको इन्जुरी समयमा इमो इजकिएलले गोल गर्दै ललितपुरलाई १–१ को बराबरीमा पुर्‍याए । खेलको ४९औँ मिनेटमा दिनेश हेञ्जनले गोल गरेपछि ललितपुरले २–१ को अग्रता बनायो। लगत्तै खेलको ५७औँ मिनेटमा इमोले व्यक्तिगत दोस्रो गोल गरेपछि खेलमा ललितपुर ३–१ ले अघि बढ्यो।

खेलको ७८औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै धनगढीका अगेमाङ मैदानबाट बाहिरिएपछि धनगढी १० खेलाडीमा सिमित बन्न पुग्यो। खेलको अतिरिक्त समयमा धनगढीका लागि अहमद हिजाजीले गोल गर्दै खेललाई ३–२ को स्थितमा पुर्‍याए पनि जीत निकाल्न भने सकेनन्। जितसँगै ललितपुरले ७० लाख रुपैयाँ पुरस्कार पाएको छ भने उप बिजेता धनगढीले २० लाख रुपैयाँमा चित्त बुझाएको छ।

footer