kumari
stcnepal

जनतामा घुस्ने, जनताकै रगत चुस्ने

 

राजन कार्की
जनतामा घुस्ने, जनताकै रगत चुस्ने । आधुनिक नेपालको राजनीतिक महाभारत यही हो ।
महाभारत राजनीति हो, यसमा जीवन र जगतका अनेक प्रसङ्गहरु छन् । भगवान श्रीकृष्ण भन्नुहुन्छ– जीवन उत्सव हो, वर्तमानमा बाँच । कर्तव्य गर, फलको आशा नगर ।
नेतृत्व सबैलाई पुतना बन्नु छ । पुतना अर्थात आदेशमा अपराधका लागि सदैव तम्तैयार रहने, खट्ने प्राणी ।
रत्नमाला बन्ने रहर हुँदैन, त्यसपछि गर्ने अपराध नै हो ।
महाभारतमा आफ्नो स्तनबाट विषाक्त दुध पिलाएर भगवान श्रीकृष्णलाई मार्न आएकी पुतनालाई श्रीकृष्णले दुध पान गरेरै बध गरिदिए । तर, नरकमा होइन, गोलोकको बल्कोनीमा सम्मानपूर्वक बसाले । हाम्रा नजरमा पुतना राक्षसनी थिइन्, तर श्रीकृष्णका नजरमा पुतना, रत्नमाला थिइन् ।
नेपालको राजनीतिमा जनताले सधैं दूध पिलाए नेताहरुलाई । ती नेताहरुले जनताको रगत चुसे । ती रत्नमाला थिएनन्, त्यसैले संसदीय भाषमा भासिदै गएका छन् ।
वर्तमान कालखण्डका नेपाली नेताहरु पुतनाभन्दा कम छैनन् । सार्वभौम जनता भनेका श्रीकृष्ण नै हुन्, यी जनतालाई विषपान गराइरहेका छन् तैपनि जनता नेतृत्वपंक्तिलाई सिंहदरवारको बेलायती बैठकदेखि शितल निवासको अमेरिकी कालिनमा आसिन गराइरहेका छन् । चुनाव यिनैलाई जिताए, मानौं यिनीहरु भगवानका पनि भगवान हुन्, जनताका आदरणीय छन् । रत्नमाला हुन्, तर यी रत्नमाला बन्न सकेनन् । यिनलाई राजनीतिक राक्षस जुनीलाई स्वर्ग ठानिरहेका छन् ।
यी लोकनेता हुँ भन्ने जो कसैले जनतालाई जनार्दन सम्झेनन् । यसकारण त जनताले पाउनै पर्ने प्राथमिक सुविधासमेत पाउन सकेनन् । यिनले लोककल्याणकारी राज्यका सिद्धान्त जनतामा लागू गराएनन्, लोकले पाउनुपर्ने सेवा र सुविधामा यिनले डकैती गरिरहे ।
जनता नेतालाई रावणको पुतना होइन, राम सम्झिरहेका छन्, नेतृत्वमा भगवान देखिरहेको छ र आफ्ना भाग्यबिधाता मानिरहेको छ, तर यी प्रजातन्त्रका भगवान अवतारहरु राक्षसी चरित्रले जनतालाई डसिरहेका छन्, चुसिरहेका छन्, मर्नु न बाँच्नुको दोसाूधमा हुटहुटी र छटपटीमा पारिरहेका छन् । मानौ नेपालको राजनीतिक नेतृत्व बेचराका लागि चीलजस्ता हुन् ।
बिकल्प छैन नागरिकसँग । यिनै नेता सुध्रेलान्, चरित्रवान बन्लान् र लोकतन्त्रको गरिमा र महिमा टल्काउलान् भनेर अझै पनि हिरा मानिरहेका छन् । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ, तर हाम्रो राजनीतिक आकाशमा कालो बादल त पर्याप्त छन्, चाँदीको घेरा देखिदैन । जे छन्, हिरा भनिएका उही पत्थर छन् । सबै पत्थर कहाँ हिरा हुन्छन् र ? हामी किरालाई हिरा भनिरहेका छौं र यी लामकिराहरु हामी र हाम्रो देशलाई खोक्रो र धोत्रो पारिरहेका छन् ।
संचेतना र सतर्कता, खोई कहाँ छ ?
मान्छेभित्र कर्म, धर्म, मर्म र पीडा हुन्छ । त्यो पीडालाई कम गर्ने पद्धति अँगालिन्छ । पद्धति सुनजस्तो छ तर सुनलाई गहना बनाउने पारंगत कारिगर नभएपछि सुन किचिन्छ, नेप्टो थेप्चो हुन्छ । हाम्रो लोकतन्त्रको हालत किच्चिएको सिलावरे थालजस्तो भइसक्यो । लोकतन्त्रका चालकहरुले आफ्नो कर्म र धर्म मार्गमा नहिडेपछि सवारी दुर्घटना पर्ने खतरा हुन्छ । विवेक, बल र बुद्धिमाथि स्वार्थले प्रधानता पाउँदा हामी जोखिममा छौं, यतिबेला हामी र हामीले अँगालेको पद्धति जोखिममा छ । राष्ट्र धरापमा छ ।
महाभारतमा एउटा प्रसङ्ग छ– अस्वस्थामाको । द्रोणाचार्यको हत्या भएपछि जंगिएका अस्वस्थामाले पाण्डव शिविरमा पुगेर लहरै सुतेका पाँच जनाको बध गरिदिए । तर ती पाण्डव थिएनन्, द्रौपदीका ५ पुत्र थिए । यो थाहा पाएपछि अर्जुनले अस्वस्थामाको हत्या गर्न तैयार भए । यो देखेर द्रौपदीले सम्झाइन्, हेर अर्जुन, अस्वस्थामा मारेर मेरा छोरा फर्कदैनन् । मसँग मेरा पाँच पतिको सहारा छ । तर अस्वस्थामालाई मा¥यौ भने उनकी पत्नी बेसहारा हुनेछिन् । नमार ।
जनताका सामु यस्तै धर्मसंकट छ । तथापि जनता सडकमा आक्रोश पोख्न थालेका छन् ।
हाम्रा नेता अस्वस्थामा बनेर जनताका सहारा धमाधम ढाल्दैछन् । न राजाको, न धर्मको, न शासन प्रशासनको कसैको पनि सहारा छैन आमनागरिकका लागि । तैपनि यिनले यिनै अस्वस्थामा रुपी नेताहरुलाई सहारा मानिरहेका छन् । समयले, मानव धर्मले पनि नेतालाई जनताको देशको सहारा बन्न निर्देशित गरिरहेको छ । हाम्रा नेता छन् तर गुट, फुट र लुटमा रमाइरहेका छन् । यिनलाई न राजनीतिक धर्म, न राजनीतिक नैतिकताको बन्धनले बाूध्न सकेको छ । कुनै दिन चितवनमा ध्रुवे हात्तीले बर्बादीको ताण्डव देखाएको थियो । हाम्रा नेतृत्वगणले निरन्तर हामीमाथि भ्रष्टाचार, अनियमितता, कमिशनखोरी र माफियागिरी चलाइरहेका छन् । यी अस्वस्थामाजस्ता अपराधीहरुलाई जनताले द्रौपदी बनेर कहिलेसम्म माफी दिइरहन ?
उपयोग गर्नसके केपी ओली र प्रचण्डका सामु चमत्कार देखाउने अवसर फेरि आएको छ । पटक पटकको असफलतापछि सत्ता परिवर्तनले ल्याएको यो अवसर चार दिनको चाँदनी नहोस् । राजतन्त्र र हिन्दूधर्म फालेपनि शान्ति र निर्माणका धरोहर ठड्याउने एउटा पनि चमत्कार अहिलेसम्म देख्न पाइएको छैन । यिनले जनघातको खत बोकेर भ्रष्टाचारी लत छाडेनन् भने हात लाग्यो शून्य हुनेछ । सर्वहारावाद र लोकतन्त्रको सहयात्रा फेल भयो, कम्युनिष्ट कम्युनिष्टको सहयात्रा फेल भयो, अहिले आएको यो अर्को गठबन्धन पास हुने सम्भाबना कम छ तथापि केही गरिहाल्छ कि ?
टल्कने सबै चिज हिरा हुँदैनन् । जनयुध्द गर्ने सबै माओ पनि बन्दैनन् । ठूला कुरा गर्ने सबै मदन भण्डारी पनि हुूदैनन् । समाजबाद बोक्ने सबै जयप्रकाश नारायण हुने भए गिरिजाप्रसाद कोइरालाले भ्रष्टाचारको कलङ्क बोकेर इतिश्री हुनुपर्ने थिएन । शेरबहादुर देउवा सर्वहारावादीलाई १४ महिना काँधमा बोकेर शेरबाट लज्जित हुनपुगेका छन् ।
आफ्नो सिद्धान्तमा उभिन नसक्दाको केसम्म हुनसक्छ, यतिबेला कांग्रेसीले र सबै प्रजातन्त्रवादीका लागि देउवा दृष्टान्त बन्नपुगेका छन् ।
समानताका लागि १९६८ मा छाती थापेर गोली खाने मार्टिन लुथर किङ्जस्तै महामानव बन्ने मौका थियो नेतृत्व पंक्तिलाई । १८ वर्षमा मौका गुाइरहेकै छन् ।
बोल्सेविक क्रान्तिपछि रुसमा एक लाख मानिस मारिए, भियतनामको सैनिक सरकारले समाजबिरोधी भन्दै हजारौं मानिसको हत्या ग¥यो, हिटलरले त ३ लाख मानिसलाई गिलोटिनले अचानोमा गिंडे । नेपालमा १७ हजार मानिस मारिएपछि आएको लोकतन्त्रले नयाँ नेपाल होइन, गया नेपाल बनाइदिए ।
राजनीतिक मुद्दाको अन्त्य कहिले, पीडितले न्याय पाउने कहिले ?
इतिहासलाई सम्झने हो भने, १९५० पछि कम्युनिष्टको ‘अन्तर्राष्ट्रियवाद’को इस्पाती धारले उठाएको सोभियत रुसको छातामुनी युरोपको सात राष्ट्रले शीतल ताप्नुप¥यो । खु्रस्चेवले क्युवालाई क्षेप्यास्त्रसम्म पनि बिक्री गरे । तर, माटोभन्दा अर्को राष्ट्रवाद रहेनछ भन्ने त्यतिबेला प्रमाणित भयो, जतिबेला दुई कम्युनिष्ट रुस र चीनबीच युध्द छेडियो । त्यस्तै हो ग्लोबल भिलेज र भूमण्डलीकरणको नारा पनि । यो नाराले धनी र शक्तिशाली राष्ट्रहरुको ‘आर्थिक कुटनीति’को धरापमा साना राष्ट्रहरुलाई च्यापेर सख्यअनुसारको दबदबा बिस्तार गर्दैछन् । नेपाल भूराजनीति र कूटनीतिको चेपोमा छ । ख्रुस्चेव आणविक अस्त्र किन्न ट्रकका ट्रक डलर बोकेर अन्तर्राष्ट्रिय बजार चहार्दा चहार्दै उनले आणबिक अस्त्र किन्ने बस्तु होइन रहेछ भन्ने बुझेर ठूलो ज्ञान पाएको अनुभूत गरेका थिए ।

नेपाली नेताहरुले किन हत्केलाले सूर्य छेकेर छेक्न सकिन्न भनेर राष्ट्रको अस्तित्वसँग आफ्नो अस्तित्व जोडिएको देखेनन्, यो आश्चर्य हो ।
एकदिन मर्नुपर्छ भन्ने हेक्का नराखेर सत्तासुखमा बाँच्न त बाँचेका छन्, तर कति दिन ? मृत्यु त आउँछ आउँछ । मर्दा आँसु झार्ने कोही भएनन् भने त्यो मृत्यु र बाँचेको अहिलेको जनघृण उस्तै होइन र ? वास्तवमा वर्तमान शासन प्रशासनमा रहेकाहरु हाराकिरी गरिरहेका छैनन् र ?
सुरुमा हिटलर राष्ट्रबादका प्रतीक थिए ।

स्टालिनले पनि देशकै कुरा गरे । सुरुका दिनका पोलपोटका जनवादी नीति हेर्दा उनका सामु कोही पनि जनवादी देखिन्नन् । अर्थात्, प्रत्येक निरङ्कूश शासक सत्तामा पुग्न र पुगेका केही दिन जनहित कण्ठस्थ पार्छ, जनहित नै उसको ध्येय हो भन्छ । बिस्तारै उसका कृयाकलापले क्रूरताको साम्राज्य खडा गर्छ । ०४६ सालपछि र लोकतन्त्रको १८ वर्षदेखि नेपालमा यही भइरहेको छ ।

footer