kumari
stcnepal

नीति नैतिकताको आधार : भैंसी भ्रष्टाचार

 

राजन कार्की
राजनीतिमा नीति भेटिन्न, नीति नैतिकताको आधार ः भैंसी भ्रष्टाचार हुनपुग्यो ।
राजनीतिज्ञ हुँ भन्नेहरु जसरी फोहर पोखरीमा भैंसी आहाल बस्छ, त्यसैगरी भ्रष्टाचारमा आहाल बसेका छन् । नेपाली विवेक त्यही आहाल बसेको भैंसीसरह नेतृत्वको आङ कन्यायरहेका छन्, मुख र शरीरी पखालीरहेका देखिन्छन् ।
तिनै नेतृत्व र तिनका पछुवाहरु लोकतन्त्रको बखान गरिरहेका छन् । सुशासन दिने र समृद्धि ल्याउने ढोल पिटिरहेका सुनिन्छन् । संविधान र संवैधानिक सबै अङ्ग प्रत्यङ्गहरु फोहर पोखरीमा डुबेकाहरुबाट रोगी, दीर्घरोगी बनिरहेका छन् ।
यहीकारण देश प्रगतितिर होइन, अधोगतितिर लागेको छ ।
पश्चिमा समृद्ध र सभ्य भनिएको अमेरिकामा अस्लिल साहित्यको वार्षिक कारोवार ४ हजार करोड डलरभन्दा बढी हुनेगर्छ । नेपालमा राजनीति, प्रशासन र जनजीवन नै अस्लिलमय बनाइएको छ । अस्लिलतामा हामी सभ्यता खोजिरहेका छौं, फोहरको आहालमा पसेर र बसेर स्वस्थताको बखान गरिरहेका छौं । शिक्षा र चेतनाको स्तर धेरै तल छ, भ्रष्टाचार, अनीति, अत्याचार, नैतिकहीनताको स्तर निकै उकासिएको छ । आधुनिक अस्लिलताको प्रवेशले नेपाल बिकृत र बिकराल समस्या बन्नपुगेको छ ।
जे छ राजनीति र अपराधको मिलोमतो छ । सिद्धान्तहीनता र नैतिकहनिताको समागम छ । यसकारण वर्षेनी झण्डै खरबको अवैध र खरबको बैध तरिकाले भ्रष्टाचार हुने गरेको छ । ५४ अर्वको गाडी र अवकाशपछिका विशिष्टहरुलाई गाँसबास र सुविधाको बन्दोबस्त गरीव जनताले तिरेको करले गर्नुपरेको छ । कसैलाई लज्जावोध छैन । कसैमा नैतिकता रहेन, आचरण त स्यालको सिङ भएको छ ।
राजस्व खर्चिने कहाँ, कसका लागि, किन ? यसको व्याख्यासमेत हुनसकेको छैन । जसले जति सक्छ लुट्न हो भन्ने मानसिकता विकास भएको छ ।
यथार्थमा लोकतन्त्र लुटतन्त्र हो भन्ने प्रमाणित भइसक्यो ।
हरेक नेता र पार्टीले समृद्धि र सुशासन, समृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउँछन् । नारा लगाउनेहरुको आँखा लूटमा हुनेगर्छ, चरित्र लूटतन्त्रमा गाडिएको देखिन्छ ।
स्थायी सरकार मानिने कर्मचारीतन्त्र राजनीतिज्ञहरुसँगको मिलेमतोमा भ्रष्टाचार गर्ने गर्छन् । ०६३ सालको परिवर्तन र ०७४ तथा ०७९ को दुई आवधि निर्वाचनपछिको परिणाम शून्य छ । चुस्त हुनुपर्ने शासन सुस्त छ । चरीत्रहीन शासक र प्रशासकका कारण लोकतन्त्र अपराधतन्त्रमा रुपान्तरण भइसकेको छ ।
संवैधानिक विधि पद्धति र नेतृत्व फोहर पोखरीमा आहाल बस्ने भैंसी भन्दा भिन्न छैन । यिनका लागि यही सुख हो, यही स्वर्ग हो, यही वैतर्णी हो ।
युवा स्वरोजगार कता पुग्यो, सामाजिक सुरक्षाले हावा खाइसक्यो । वीमा कार्यक्रम, सबैका लागि स्वास्थ्य, सबैका लागि शिक्षा कता पुग्यो पुग्यो । जता हे¥यो उतै कृष्ण भीर ।
बाँदरलाई भ्यासेक्टोमी गराउने तालिम लिन सांसद जान्छन्, सांसद राजदूतसँग छात्रवृत्ति र विकासका योजना माँग्छन्, देशको होनहार युवा सकेसम्म विदेश भाग्ने प्रयासमा छन् । सबैको विश्वास एउटै छ, यो देशमा गरिखान पाइन्न । यो देशमा भविष्य छैन ।
भविष्य खोज्न विदेशीएका युवा युक्रेन र रुसको युद्धमा आमनेसामने लडिरहेका छन्, खाडीको गर्मीमा मरिरहेका छन्, ६७ देशका जेलमा युवाहरु बिना कारण थुनिएका छन्, असरल्ल छन् । सरकार छ, अभिभावक बन्न सकेन । संविधान छ, सुशासन दिन सकेन ।
लोकतन्त्र लूटतन्त्र बन्यो । लोकतन्त्रका नाममा जंगलराज चलिरहेछ ।
लोकतन्त्र हात्तीको देखाउने दाँतमात्र हो ।
कर तिरेर राज्यकोषमा कसैले योगदान गरेका छन् भने त्यो आमजनताले नै हो । उद्यमी, व्यापारी त नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगिरहेका छन्, एनसेलजस्ता विदेशी लगानीकर्ताले समेत राज्यले पाउनै पर्ने लाभकरसमेत छलेर नेपालीको रगत पसिनाको कमाई विदेश लगिरहेका छन् । किसान श्रमिक र आम नागरिकका लागि केही सुविधा छैन । तिनको काम चुनवमा भोट हाल्ने र कर तिर्नेमात्र हो ।
यसकारण भन्न सकिन्छ, एच जी वेल्सले लेखेको द वल्र्ड सेट फ्री नामक पुस्तकमा परमाणु बमको नाम उल्लेख गरेका थिए, त्यही नामबाटपछि खतरनाक परमाणु बम निर्माण गरियो । नेपालमा बहुदल, लोकतन्त्र नामक ऐतिहासिक आन्दोलन भए, आन्दोलनबाट प्राप्त परिवर्तनलाई नेताहरुले यतिबिघ्न घृणायोग्य बनाइदिए कि नेपाल असफल मुलुक हुने खतरा उत्पन्न भएको छ । यही गति रहने हो भने नेपालमा धार्मिक बिद्रोह, बिध्वंशको डढेलो नलाग्ला भन्न सकिन्न । नेपालको वर्तमान र भविष्य जोखिममा छ, धरापमा परिसक्यो ।
बेला बेलामा परमेश्वरका छोरा छोरी नेपाल आउँछन् र नेपाली नेताहरुलाई इसाई मुलुक बनाउने घोषणा गर्छन् । उत्तर दक्षिण र पश्चिमा आउँछन् र नेताहरुलाई खेताला बनाएर जान्छन् । जोसुकै विदेशी आउन्, लाम लागेर भेट्न जाने यिनै नेता हुन्, यिनलाई आफ्नो स्तरको पनि ख्याल हुनेगर्दैन । साह्रै खस्कियो कूटनीति, साह्रै बिग्रियो राजनीति ।
नाकावन्दीका बेलामा र देशको नक्सा संविधानमा राख्ने बेलामा राष्ट्रवादमा उभिएका ओली देशभक्तिका लागि अग्ला, बरदानयुक्त नेता साबित भएका थिए । वर्ष दिनमा ३ पल्ट सत्ता परिवर्तन र विश्वासको मत लिने प्रचण्ड शासनले नेपालको नक्साअनुसारको भूमि नोपलको हो भन्न सकेनन्, उनी पनि देशवादी बन्न सकेनन् । देउवा त देउवा भइहाले, भारतले लिपुलेक, कालापानी, लिम्पियाधुरा खाइदियो भन्न सक्दैनन्, यसो भन्नुपर्दा उनको नौनाडी गल्छ । जो संसदमा छन्, शासनमा छन्, जनबिरोधी, देशविरोधी, संविधानविरोधी, परम्परा बिरोधी विदेशी प्यादाका रुपमा देखा परेका छन् । एकपल्ट फेरि परिवर्तनका बाहकहरु भ्रष्टाचार र देशघातक हतियार प्रमाणित हुनपुगेका छन् ।
अर्थात फोहर पोखरीमा भैंसी आहाल बसेझें लोकतन्त्रलाई फोहर पोखरी बनाइरहेका छन् ।
देशवाद मरेपछि, नेतृत्वमा जनविश्वास गुमेपछि कसरी नेपाल समृद्ध बन्छ ? शासन प्रशासन नै भ्रष्ट बनेपछि कसरी नेपाल सुशासनयुक्त हुन्छ ?
गरीवी र बेरोजगारी बढ्दो छ, अव के गर्ने कसरी अघि बढ्ने मार्गचित्र केही पनि छैन । श्री ३ को फर्मान जसरी शासन चलाउन थालिएको छ । विचारमा, सिद्धान्तमा, योजनामा, करनी र कथनी सबैतिर द्व्रैध चरित्र छ । प्रशासन नेतातन्त्रको अन्यौलमा फसेको छ । अर्थतन्त्र कमिशनमुखी छ, जसका कारण उत्पादन शून्यतातिर झर्दो छ । मुलुक दिनदिनै बिग्रिरहेको छ । अमूर्त भाषण ज्यादा भए, मूर्त काम केही पनि हुनसकेन । आधा भाँडो पानी बढी छचल्किन्छ भन्ने उखान बन्यो लोकतन्त्र र सञ्चालक नेतृत्व ।
मूल कुरो सुरक्षा छैन । जब नागरिकले राज्यबाट पाउनैपर्ने प्राथमिक सुरक्षा पाउन सकेका छैनन्, अन्य सुरक्षाको झ्याली पिटेर के गर्ने ? एउटी निर्मला पन्तको लूटतन्त्र, बलात्कार र हत्यारा पत्ता लगाउनु साटो दमनमा उत्रने सरकारले सुरक्षा र कानुनी राजको कुरा गर्नु दुर्भाग्यपूर्ण छ । यो संसद, सरकार विधिको शासनमा गुणात्मक सुधार ल्याउन चाहदैन । लोकतन्त्रलाई जवाफेदही व्यवस्था बनाउनै चाहदैन ।
संघीयताका नाममा वर्षेनी ६ खर्ब लुटिरहेका छन् नेताहरु । संघीयता किन ? गाउँ गाउँसम्म पुग्नुपर्ने जवाफदेहीपूर्ण विकेन्द्रीकरण थियो, पुग्यो भ्रष्टाचार कमिशनमुखी संघीयता। सेवाग्राही जनता पाउनै पर्ने सेवा लिनबाट बन्चित छन्, भ्रष्टाचार बेहोर्न बाध्य छन् ।

footer