kumari
stcnepal

अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन बिच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबिच भेटवार्ता भएको छ । बुधबार अध्यक्ष लिङ्देन र राजदूत थम्पसनबिच भेटवार्ता भएको हो ।

अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकाले लगानी गरेको कुरा उठेपछि राप्रपाले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको थियो । त्यसलगत्तै अध्यक्ष लिङ्देन र राजदूत थम्पसनबिच भेटवार्ता भएको हो । राप्रपाको पार्टी कार्यालयमा भएको सो भेटमा नेपालमा नास्तिकता फैलाउन अमेरिकाले लगानी गरेको हो भनी अध्यक्ष लिङ्देनले प्रश्न गरेका थिए । त्यसको जवाफमा राजदूत थम्पसनले त्यस्तो कुनै लगानी नरहेको स्पष्ट पारेका छन् ।

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको स्पष्ट पार्दै राजदूत थम्पसनले अमेरिकी सहयोग विभिन्न क्षेत्रका अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको कुरा राखेको राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए । नेपालको धार्मिक सद्‌भाव र एकता उत्कृष्ट रहेको बताउँदै राजदूत थम्पसनले नेपालबाट चोरी भई अमेरिका पुर्याइएका मूर्तिहरू फिर्ता गरी सम्बन्धित मठ मन्दिरमा पुनर्स्थापना गर्ने अमेरिकी नीति रहेको समेत बताए । त्यसबाहेक नेपालमा अमेरिकाले गरेको लगानी तथा सहयोगको विषयमा पनि छलफल भएको बताइएको छ ।

राप्रपाले सरकारलाई ४० बुँदे माग पेस गर्दै काठमाडौँ केन्द्रित प्रदर्शनको तयारीमा रहेको विषयमा समेत कुराकानी भएको प्रवक्ता श्रेष्ठले बताए । छलफलका क्रममा अध्यक्ष लिङ्देनले सुशासन, विकास, सेवा प्रवाह, वैदेशिक लगानी लगायतका सन्दर्भमा पार्टीको नीति तथा २०४६ साल पछिका उच्च पदस्थ राजनीतिक, प्रशासनिक व्यक्तिहरूको सम्पत्ति छानबिन गरिनुपर्ने र त्यसको थालनी आफूबाट गर्न सरकारलाई संसद्‌मार्फत आह्वान गरेको विषयमा समेत कुराकानी भएको छ ।

footer