kumari
stcnepal

नेपाल ए २१ रनले पराजित

काठमाडौँ । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी-२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

आयरल्यान्ड ‘ए’ ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २०१ रनमा समेटिएको हो । नेपालका लागि लोकेश बमले आक्रामक शतक प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन । उनले ५६ रनमा १०६ रन बनाएर आउट भए । लोकेश र आरिफ शेखले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ ४९ रनमा आउट भए । कप्तान विनोद भण्डारीले १७ जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा आयरल्यान्ड ‘ए’ का लागि म्याथ्यु हम्फ्रिजले ३ र फिओन ह्यान्ड ३, म्याथ्यु फोस्टर २, ग्याभिन होए, टम मेयस र म्याथ्यु फोस्टरले एकएक विकेट लिए ।१८९ रनमा ४ विकेट गुमाएको नेपालले थप १२ रन जोड्दा थप ६ विकेट गुमाउन पुग्यो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ का लागि पिजे मुरले ४९, रस अडेरले २, केड कारमाइकल र निल रकले समान ३८, स्टेफन डोहेनीले ३४ रनको योगदान दिएका थिए । ग्यारेथ डेल्नी ३० र ग्याभिन होए १८ रनमा अविजित रहे ।बलिङमा नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिएका थिए । चोटका कारण एक वर्षपछि कमब्याक गरेका कमलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । सागर ढकाल र आरिफ शेखले एक-एक विकेट लिए । यो जितसँगै आयरल्यान्ड ‘ए’ ले तीन खेलको टी-२० सिरिजमा १-० ले अग्रता लिएको छ ।

footer