kumari
stcnepal

एमालेले आज हीरक महोत्सव मनाउने, पुष्पकमल दाहाल र शेरबहादुर देउवा विशेष वत्ता

काठमाडौं । नेकपा (एमाले)ले आज सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको अवसरमा ‘हीरक महोत्सव’ मनाउँदै छ । एमालेले नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको विशेष समारोह आयोजना गरेको हो ।

समारोहमा अस्वस्थ रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुने बताइएको छ । अध्यक्ष ओली अस्वस्थ हुनुभएपछि हिजो आइतबार पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को समापन बैठकमा सहभागी हुनभएको थिएन । अध्यक्ष ओली रुघाखोकीका कारण अस्वस्थ हुनुभएको थियो । उहाँ घरमै आराम गरिरहनुभएको छ । आज पार्टीको हीरक महोत्सवमा भने अध्यक्ष ओली उपस्थित हुनुहुने र उहाँले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

हीरक महोत्सवमा अवसरमा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव पदक’बाट सम्मान गर्ने कार्यक्रम रहेको छ । आइतबार गोदावरीमा सम्पन्न पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रस्तावलाई महाधिवेशनले पारित गरेको थियो । पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदान र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएको भन्दै एमालले ‘राष्ट्रिय गौरव पदक’बाट सम्मान गर्न लागेको हो ।

एमालेको हीरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरू विशेष अतिथिको रूपमा सहभागी हुनुहुने बताइएको छ । ७५ वर्षअघि २००६ साल वैशाख १० गते भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा नेकपाको स्थापना भएको थियो । पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ हुनुहुन्थो भने संस्थापक नेताहरुमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहनुभएको थियो । नेकपाको स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगाएतका नेताहरु पनि पार्टीमा जोडिनुभएको थियो ।

नेपालमा जहानियाँ राणा शासन रहेको बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।

footer