kumari
stcnepal

माल्दिभ्सको आमनिर्वाचन : भारत बिरोधी छबीका राष्ट्रपतिको पार्टीको जित

भारतविरोधी छवि बनाएर माल्दिभ्सको राष्ट्रपति बनेका मोहम्मद मुइज्जुको पार्टीले संसदीय निर्वाचनमा पनि ठूलो सफलता हासिल गरेको छ । आइतबार भएको निर्वाचनमा उनको पार्टीले संसदको ९३ सिटमध्ये ६६ सिट जित्दै बहुमत हासिल गरेको हो ।

माल्दिभ्समा आइतबार बिहान ८ देखि साँझ ५ः३० बजेसम्म मतदान भएको थियो । माल्दिभ्सको निर्वाचन आयोगका अनुसार ७२ प्रतिशत मतदान भएको थियो । माल्दिभ्सका २ लाख ८४ हजार ६६३ जना मतदातामध्ये २ लाख ७ हजार ६९३ जना सहभागी थिए । माल्दिभ्सका रिसोर्ट, जेल र औद्योगिक टापुमा पनि मतदान भएको थियो । यसैगरी भारतको तिरुवनन्तपुरम, श्रीलंकाको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा पनि मतदान भएको थियो ।

माल्दिभ्सको ९३ संसदीय सिटका लागि ६ दलका ३६८ उम्मेदवार चुनावी मैदानमा थिए । यसमा मुइज्जुको पार्टी पिपुल्स नेशनल कांग्रेस र प्रमुख विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीसहित १३० स्वतन्त्र उम्मेदवार सामेल छन् । माल्दिभ्सको मिडिया हाउस ‘द एडिसन’का अनुसार यो चुनाव राष्ट्रपति मुइज्जुको ६ महिनाको कार्यकालको परीक्षा थियो । मुइज्जु सेप्टेम्बर २०२३ मा ‘इन्डिया आउट’ अभियान चलाएर देशको राष्ट्रपति बनेका थिए ।

यसअघि माल्दिभ्सको संसदमा भारत समर्थक मानिने विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो । यही कारणले संसदमा मुइज्जुले ठूलो विरोधको सामना गर्नुपरेको थियो । अब संसदीय चुनावमा मुइज्जुको पार्टीको जितले भारतको चिन्ता भने थप बढ्दै गएको छ ।

footer