kumari
stcnepal

पार्टी विभाजन हुने डरले माधवको बोली फेरियो

काठमाडौ । जसपा नेपाल विभाजित भएपछि एकीकृत समाजवादी पार्टी भित्र पनि तरङ्ग उत्पन्न भएको छ । सत्ता गठबन्धनमा रहेका प्रमुख दल नेकपा एमाले र माओवादीले सहमति कार्यान्वयन नगरेको भन्दै उथलपुथल हुन सक्ने चेतावनी दिँदै आएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको एकाएक बोली फेरिएको छ ।

जसपा नेपाल विभाजन पछिको घटनाक्रमलाई लिएर अध्यक्ष नेपालको बोली फेरिएको चर्चा समेत चलेको छ । जसपा विभाजनपछि सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकमा सांसदहरुले दवाव दिएपछि अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने निष्कर्ष सुनाएका थिए ।

पछिल्लो समयमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल निरन्तर सम्वादमा मात्र थिएनन अहिलेका सत्ता गठबन्धन ढालेर आलोपालो प्रधानमन्त्री बन्ने गरी बैकल्पिक गठबन्धन बनाउने समझदारी समेत गरेका थिए । तर सो समझदारी कार्यान्वयन हुुनु अघि नै जनता समाजवादी नेपाल विभाजित मात्र भएको छैन अध्यक्ष यादव अल्पमतमा समेत परेका छन् ।

अब जनता समाजवादीका अध्यक्ष यादव सहित ५ जना सांसदमात्र रहेका छन् भने अशोक राईले नेतृत्व गरेको जनता समाजवादीका ७ जना सांसद रहेको छ । मधेशवादी दलहरु मध्येको तेस्रो पार्टी जसपा नेपाल बनेको छ भने अध्यक्ष यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल भन्दा जनमत पार्टी १ सिटले ठुलो भएको जनमत पार्टीका संघीय संसदमा ६ जना सांसद रहेका छन् ।

कांग्रेस, एकीकृत समाजवादी र जसपा नेपालको योजना अब प्रायः समाप्त भएको छ । अशोक राई नेतृत्वको जसपाले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गर्ने भएपछि तत्कालका लागि कांग्रेस सहितको नयाँ सत्ता समिकरण बनाउने कार्य बन्द भएको छ । माधव नेपाल अहिलेकै संसदको कार्यकालमा जसरी भएपछि प्रधानमन्त्री बन्ने मनस्थितिमा रहेका थिए तर अहिले जसपा नेपाल विभाजित भएपछि उनी झसङ्ग मात्र भएका छैनन् आफ्नै पार्टीपनि विभाजित हुन सक्छ कि भन्ने डरले गर्दा बोली फेर्न बाध्य भएका छन् ।

संसदीय दलको बैठकमा सांसदहरुले अध्यक्ष नेपालले कमजोर रणनीति लिएको भन्दै उनको आलोचना समेत गरेकाले गर्दा उनी माथि थप संकट थपिएको छ । सरकारमा मन्त्री पठाएपनि गठबन्धनप्रति अध्यक्ष नेपालले विश्वस जगाउन सक्नुभएन बरु जसरी भएपनि जोसँग गठबन्धन गरेर भएपनि प्रधानमन्त्री बन्ने रहरमा अहिलेको गठबन्धन भत्काउन लाग्नुभयो त्यसैले एमालेले सुदुरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन अस्वीकार गरेको छ त्यही कारणले अब अहिले सबैतिर भताभुङ्ग भएको छ ।

वहाँको राजनीति असफल भएको भन्दै पार्टीभित्र आलोचना भएपछि नेपालमाथि मात्र होइन पार्टीभित्रै पनि संकट थपिएको एकीकृत समाजवादीकै सांसदले बताएका छन् । एकीकृत समाजवादीका संसदमा १० सांसद रहेका छन् भने अब उसको समर्थन विनै पनि सरकार बहुमतमा रहेकाले माधव नेपालको वार्गेनिङ्ग पावर समाप्त भएको छ ।

नेपालले जनता समाजवादी नेपाल विभाजित भएपछि तत्काल नयाँ सत्ता समिकरणको सम्भावना सकिएको हुनाले बदलिँदो परिस्थितिमा राजनीतिक निर्णय लिन २४ गते सोमबार संसदीय दलको बैठक बोलाइएको थियो । सो बैठकमा प्रायः सबै सांसदले अध्यक्ष नेपालको रणनीतिले क्षतिमात्र भएको भन्दै अध्यक्ष नेपालको आलोचना गरेका थिए । समिकरणलाई निरन्तरता दिनुपर्दछ भन्ने धारणा राखेपछि अध्यक्ष नेपाल गठबन्धनप्रति कतिपय काम कारबाही प्रति असन्तुष्ट रहेपनि अहिलेकै गठबन्धनलाई कायम राख्ने उद्घोष अध्यक्ष नेपालले गरेका थिए तर अब एकीकृत समाजवादीको समर्थन नभए पनि सरकार बहुमतमै रहने निश्चित रहेको छ ।

footer