kumari
stcnepal

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् ।प्रतिनिधि सभाको चौथो अधिवेशन शुक्रबार दिउँसो २ बजेबाट सुरु हुँदैछ । पहिलो बैठकको कार्यसूची लगायतका विषयमा सभामुखले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक भने शुक्रबार दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । संसदमा हुन सक्ने सम्भावित अवरोधलाई ख्याल गरेर सभामुखले राजनीतिक दलका नेता र सचेतकहरुसँग निरन्तर संवाद गरिरहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग कांग्रेसको छ । यो माग पूरा नभएसम्म उपप्रधनमन्त्री लामिछानेलाई प्रतिनिधि सभाको रोष्ट्रममा जान नदिने पक्षमा कांग्रेस छ ।

सत्तारुढ दलहरुले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताउँदै आएका छन् । अधिवेशनको पहिलो दिन शीर्ष नेताहरुलाई बोल्न दिने सम्भावित कार्यसूची छ । शीर्ष नेता बोल्दा उपप्रधान तथा गृहमन्त्री लामिछानेले पनि बोल्न पाउनुपर्ने सत्तारुढ दलहरुको छ । कांग्रेसले शीर्ष नेताहरुले बोल्ने विषयमा अवरोध नगर्ने तर, लामिछानेलाई शीर्ष नेताको रुपमा समेत रोष्ट्रममा अस्वीकार गर्ने बताउँदै आएको छ । यही विषयमा सभामुख घिमिरेले सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।

footer