kumari
stcnepal

ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने : नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताएको छ । शनिबार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले ओली नेतृत्वको सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने स्पष्ट पारेका हुन् ।

संविधानको धारा ७६ को २ मा सरकार गठन भइसकेपछि ७६ को २ बमोजिम नियुक्त हुनुहुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री पुष्पकमल दाहालले पूरा गरिसकेको बताए । उनले अहिलेको विश्वासको मतको प्रस्ताव धारा १०० बमोजिम विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्नुपर्ने बताए । उनले राजनीतिक रूपमा कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वाभाविक रूपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाइ भन्दा बढी मत भएपछि नयाँ सरकार गठन हुने बताए । नयाँ सरकार गठन हुन ७६ (३) मा जानु नपर्ने र ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने बताए ।उनले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको पनि बताए । उनले बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच यही असारको १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर सहमति भएको र आजको संसदीय दलको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन गरेको छ र स्वागत गरेको जिकिर गरे ।

उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले बिचमा राष्ट्रिय स्वार्थको रक्षा गर्नका निमित्त, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न, शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील गर्नका निमित्त र अहिले संविधानको अभ्यास भएको ८ वर्ष भएको छ । संविधानको अभ्यासको सन्दर्भमा देखापरेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरूको समीक्षा गरेर संविधानलाई समसामायिक रूपले संशोधन, परिमार्जन गर्ने सवाल । संविधानको संशोधन र परिमार्जनमा संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिताको सवाललाई थप सुदृढ गर्ने विषय र त्यसका सँगै अहिलेको सरकार जुन बन्ने वाला छ, गठन हुन्छ, राष्ट्रिय सहमतिको सरकार त्यसमा पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजीले र दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने जुन सहमति छ, त्यसलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गर्दछौँ ।

राष्ट्रिय सहमतिको सरकार निर्माणको जुन सहमति भएको छ, कांग्रेस र एमालेबिच त्यो सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने सरकार हो । त्यो सरकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूको नेतृत्वमा बन्छ । अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले यसै असार २८ गतेका दिनमा विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्तुत हुने गरी संसद् सचिवालयमा पठाउनुभएको छ । आजको बैठकले सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतको लागि राख्नुभएको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।’ बैठकले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो, डुबानको समस्या उत्पन्न भएको भइ नागरिको जीवन असहज भएको भन्दै नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको बताए । उनले बैठकले समस्यामा आफ्नो तर्फबाट सहयोग गर्न पार्टीका सबै संस्था र भ्रातृ र शुभेच्छुक संस्थालाई जुट्न आह्वान गरेको बताए ।

footer