kumari
stcnepal

विश्व खेलकुदको महाकुम्भ ओलम्पिक आज देखी सुरू हुने

काठमाडौं । विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिक आजदेखि सुरु हुँदैछ । ३३औँ संस्करणको औपचारिक उद्घाटन आज फ्रान्सको पेरिसमा नेपाली समय अनुसार राति ११ बजे सुरु हुने छ ।

साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ । औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ । पेरिस ओलम्पिकले अहिलेसम्मकै फरक उद्घाटन समारोह गर्ने तयारी गरेको छ । विगतमा ओलम्पिकको उद्घाटन समारोह आयोजक सहरको प्रमुख रङ्गशालामा हुन्थ्यो । सो परम्परालाई तोड्दै आयोजकले यसपालि रङ्गशालाको सट्टा पेरिसको सेन नदीको किनारामा उद्घाटन गर्दैछ । उद्घाटन समारोहमा खेलाडीले डुङ्गाबाट सेन नदी र पेरिसबिच दुरी तय गर्ने छन् ।

पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका कुल ३२ खेलमा करिब १० हजार पाँच सय खेलाडीले भाग लिने छन् । यसपालि रुस र बेलारुसको ओलम्पिकमा टिम गेममा सहभागिता रहने छैन । यद्यपि आइओसीले तटस्थ खेलाडीका रूपमा रुसी र बेलारुसका खेलाडीलाई पेरिस ओलम्पिकमा आमन्त्रण गरेको छ ।ओलम्पिककै इतिहासमा पहिलो पटक महिला र पुरुष खेलाडीको सङ्ख्या झन्डै बराबर छ । १२४ वर्षअघि पेरिसमै ओलम्पिक हुँदा यस मेघा इभेन्टमा महिला खेलाडीले पहिलो पटक प्रवेश पाएको थियो । सो समय मात्र २२ महिला खेलाडीले सहभागिता जनाएका थिए । यसै गरी पारालम्पिकमा पनि चार हजार चार सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। खेलका लागि ३० हजार स्वयंसेवक परिचालन गरिने छ । डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुने छन् ।

ओलम्पिकका लागि पेरिसमा मात्र १५ खेल स्थल छन् । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन हुने छ । अन्य खेल पेरिस आसपासका सहरमा हुने छ । १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुने छन् । पेरिस ओलम्पिक आयोजनाको आधिकारिक खर्च अहिले ९.६ बिलियन डलर रहेको छ ।

footer