kumari
stcnepal

मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल विजयी

मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी भएको छ ।दशरथ रंगशालामा जारी खेलको ११औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरेर जोगाएका थिए । त्यसपछि नेपालका आशिष लामाले दिएको पास पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै सुजललाई पास मिलाइदिएका थिए ।

लगत्तै मरिससले बराबरी गर्ने अवसर पाए पनि फिनिसिङमा चुक्दा नेपालले जितेको हो । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि मरिससले पेनाल्टी पाएको थियो । तर, १३औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान किरण चेम्जोङले दायाँ डाइभ गर्दै बचाए ।

पहिलो हाफमा नेपालले एक गोलको अग्रता लिएको खेलको दोस्रो हाफ भने तनावपूर्ण रह्यो । दोस्रो हाफमा नेपालका एक र मरिससका दुई खेलाडीले रातो कार्ड पाए ।खेलको ७१औं मिनेटमा नेपालका पुजन उपरकोटी र मरिससका एड्रिएन बोटलर तथा ८०औं मिनेटमा मरिससका एमानुएल फलचन्दले रातो कार्ड पाए । दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेन् ।योसँगै नेपालले मरिससविरुद्धको दुबै मैत्रीपूर्ण खेल जितेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेल पनि नेपालले १-० ले जितेको थियो । उक्त खेलमा विमल घर्ती मगरले गोल गरेका थिए ।

footer