kumari
stcnepal

हामी अरौटे, भरौटे स्वतन्त्र राष्ट्र हौं त ?

 

राजन कार्की
राजनीति त्यो विज्ञान हो, जसको उपयोग लोकको कल्याणका लागि गरिन्छ । विद्वानहरु यसो भन्थे, हाम्रो नेतृत्व राजनीति लोककल्याण कुल्चेर स्वार्थसिद्धी र विदेशकल्याणका लागि गरिरहेका छन् ।
पुर्खाले ठूलो मेहनतले नेपाल निर्माण गरे, हामी विधवङ्स गरिरहेका छौं ।
नेपाल अधिराज्यको गठन सन् १७६८ मा भएको मानिन्छ । त्यतिबेला भारत भन्ने देश नै थिएन । भारत त सन १९४७ मा स्वतन्त्र भएको हो । हो, नेपाल मण्डलमा अनेक साना ठूला राज्यहरु थिए । अनेक जातजातिहरु थिए । अचम्म, त्यतिबेला पनि जातीय सद्भाव र सम्पर्क सूत्रमा बाँधिएकै थिए । गोरखामा सन १७२३, जनवरी ११ मा जन्मिएका पृथ्वीनारायण शाह सन १७४३, अप्रिल ३ मा २० वर्षकै उमेरमा राजा बने । एकीकरणका यी महामनाको सन १७७५, जनवरी १५ मा देवीघाटमा अन्त नभएसम्मको अवधिमा नेपाल अधिराज्य बन्यो । यो एकीकरण अभियान वास्तवमा जातजाति, भाषाभाषी, सांस्कृतिक स्वरुपको पनि एकीकरण थियो । यही अजेय र अद्वितीय एकीकरणको उज्यालोमा गोर्खाको वीरता पनि विश्वव्यापी हुँदै गएको हो ।
नियतिले वर्तमान नेपालको अवस्था घाट पु¥याएको अथवा ब्रम्हनालमा सुताएको बिरामीको जस्तो छ । तथापि पृथ्वीनारायण शाहले रोपेको इमानको जरा उखेलिएको छैन । ठूटो भए बुटो पलाउँछ, जरा भए बिरुवा उम्रन्छ । हामी चारखुट्टे बाँदरबाट दुई खुट्टा टेक्ने मान्छे त बन्यौं, विवेकशील किन बन्न सकेनौं । हामीमा नेपालीत्वप्रतिको इमान र नैतिक मूल्य किन ढल्दै गएको हो ? समयले खडा गरेको यो यक्ष प्रश्न हो ।
एउटा घटना छ विश्वप्रसिद्ध धनाध्य रकफेलर र मगन्तेको । रकफेलर घुम्दै आउँदा बाटोमा आँखा चिम्लेर घाम तापिरहेको एउटा व्यक्ति देखेर जङ्गिए– काम नपाएको मान्छे । मगन्तेले आँखा खोलेर हे¥यो र फेरि आँखा चिम्लियो । रकफेलर फेरि जङ्गिए– चिनिनस्, म रकफेलर । उसले आँखा नउघारिकनै भन्यो– चिनें, तिमी धनाध्ये रकफेलर भएर के भयो त ? मेरा लागि त तिमी गरीव हौ ।
रकफेलरले जिल्ल पर्दै भन्यो– कसरी गरीव ? मगन्तेले भन्यो– रकफेलर, तिमी संसारको सबैभन्दा गरीव हौ । दरिद्र सोच छ तिम्रो । तिमी आधा छौ, तिमीलाई तिम्रो आत्माले छोडेको दिन तिमीलाई धनले जोगाउँदैन । माटो बन्छौ । अहंकार नगर । धनी त म हुँ । मलाई सन्तोष छ । म विहानी सूर्यको ताप लिइरहेछु । म र प्रकृतिवीचको मीठो सम्बन्ध छ, बाधा नहाल । यस्तो कुरा सुनेर रकफेलर टोलाउँदै घरतिर लाग्यो ।
अर्थात्, मान्छे केको लागि दगुर्छ ? आत्मसुख, आत्मतुष्टी र आत्मशान्तिको लागि ? कि व्यापक पैसा र अपार शक्तिका लागि ? के हाम्रा नेताहरु अति स्वार्थी महत्वकांक्षाका लागि दगुरिरहेका छैनन् ? के यिनले बाइसे र चौबिसे राज्यको कान्छो राज्य गोर्खा थियो र यो १६१६ मा द्रव्य शाहबाट सुरु भएर नेपाल राज्यमा कुन दुःखले आर्जित भयो भन्ने इतिहास पढेका छन् ?
स्वामी बिवेकानन्दले भनेका थिए– जनता नभएको देश हुन्न, जनताको डर जहिले पनि नेतृत्वमा हुनुपर्छ । जनताको भयले नेतालाई सत्मार्गमा लगाउने गर्छ । कौटिल्यले सामाजिक संस्थाहरु जहिले पनि जनताको भयबाट त्रसित हुनुपर्छ भने । डार्बिनको सिद्धान्तले पनि एकतामा शक्ति र अनेकतामा समाप्ति हुन्छ भनेको छ । तेस्रो शताव्दि बीसीमा चीनका प्रशासक र पछि गुरु बनेका कम्फुसियसलाई चेला राजकुमारले सोधे– राजकाजका अपरिहार्य तीन तत्व के हुन् ? गुरुले भने– सेना, जनतालाई राहत र सरकारप्रति जनविश्वास । यी तीन मध्ये एउटा हटाउनु परे कुन हटाउने ? राजकुमारको प्रश्नमा कन्फुसियसले भने– आधा पेट खाए पनि राज्यप्रति जनविश्वास छ भने राज्य चल्छ । बाह्य खतरासँग जनता आफै लड्छ । बाँकी दुई तत्वमा एक तत्व छाड्नु पर्ने अवस्थामा कुन तत्व त्याग गर्ने ? गुरुले जवाफ दिए– खाने कुरा चाहिंदैन । मान्छे खाए पनि मर्छ, नखाए पनि मर्छ ।
अर्थात् राज्यप्रति जनविश्वास भएन भने राज्य नै ढल्छ । यतिबेला हामी यही खतरामा छौं ।
पृथ्वीनारायण शाहपछि र खासगरी आधुनिक नेपालमा उत्तरदायी र आत्मविश्वासी पृथ्वीराज चौहानजस्तो नेताको किन जन्मेनन् ? भेद समाप्त पार्न नेल्सन मण्डेला दक्षिण अफ्रिकामा जन्मिए । ३० वर्षको काराबासपछि निस्केका काला मण्डेलासँग गोराहरुले गर्ब गर्दै हात मिलाए । गजबको मानसिक परिवर्तन थियो त्यो । राजा महेन्द्रले २०१७ सालदेखि २०२८ सालको अवधिमा देशमा विकास र विश्वमा इज्जत स्थापित गरे । त्यो विकास र इज्जत च्यात्ने प्रतिस्पर्धा जोडतोडले चलिरहेको छ । चमत्कार हुन्छ भन्नेहरुको गजबको बाँदर चरित्र हो यो ।
महाभारतको कथामा श्रीकृष्ण भगवानको छातीमा व्याधाको तीर लागेर लड्नासाथ महारथी अर्जुनको काँधबाट गाण्डिव फुत्रुक्कै खसेको प्रसङ्ग छ । त्यो देखेर श्रीकृष्णले अर्जुनलाई भने– पार्थ आफै शक्तिशाली बन्ने साहस गर । सत्य यही थियो र यही हो ।
हाम्रा नेताहरु ब्याधाको तीर लाग्नु अघिको अर्जुनजस्तै महारथी हुन् । अर्जुनलाई श्रीकृष्णको बरदान थियो, हाम्रा नेताहरुलाई विदेशीको धाप र आशीर्वाद छ । यसकारण नेपाल शक्तिराष्ट्रहरूको धरापमा पर्दै गएको हो ।
१८६० मा प्रजातन्त्रका व्याख्याता अब्राहम लिंकनले दासता अमलेख गरिदिए । नेपालमा दासप्रथा राणाले अमलेख गरे । रणाले सतीप्रथा अन्त गरे । राणा शासन ढलेको पचास वर्षपछि २०५७ साल साउन २ गते कमैया प्रथा अमलेख गरियो । कमलरीप्रथा अझै समाप्त हुनसकेको छैन । राउटे, बादी लगायतका सिमान्तकृत जातिका अधिकार व्यवहारमा ल्याउन सकिएको छैन । नेपालमा १२९ जाति भए पनि केही जातिको षडयन्त्रले देशलाई खाइरहेको छ ।
नेपाली एकीकृत राष्ट्रवादका अगुवा श्री ५ पृथ्वीनारायण शाहलाई राज्यले चिन्नै सकेको छैन ।
इतिहास साक्षी छ– भारतद्वारा उचालिएका भद्रकाली मिश्रकै बिद्रोहका कारण गण्डक र कोशी भारतलाई बेच्न नेपाल बाध्य भएको थियो । त्यही बहकाउमा लागेकाले यसको कलङ्क कांग्रेसको निधारमा टाँस्सिएको हो । उत्तरी सीमामा १८ चौकी स्थापना गरिनु, मन्त्रिपरिषद्को वैठकमा भारतीय सचिव राख्ने बाध्यता भोग्नुमा पनि भद्रकाली मिश्रको ठूलो हात रहेको थियो । त्यतिबेला मिश्रहरू नेपालका लागि भारतका ‘पाले–पहरेदार’ बनाइएका थिए । राजा महेन्द्रको अमेरिका र चीनसँग घनिष्ट सम्बन्ध र चङ्ख कूटनीतिका कारण भारतीय चेकपोष्ट र क्याविनेटबाट भारतीय प्रतिनिधि हटाउने काममा नेपाललाई बल्ल–बल्ल सफलता मिल्यो । तर २०५२ मा महाकाली सन्धि गरेर भारतवाद नै दोहोरियो । अहिले नेपाललाई अवसरवादीहरूले शक्तिराष्ट्रको अखडा बनाइदिएका छन् । नयाँ नेपाल बिस्तारै गया नेपाल हुँदैछ । स्वार्वभौमिकता नेताको खेलौना बन्यो ।
२०१६ सालमा भद्रकाली मिश्र र बेदानन्द झाले मधेसको समस्या उठाएर मधेसलाई अलग्गै राज्य बनाउनु पर्छ भनेका थिए । उनीहरूलाई चङ्ख राजा महेन्द्रले राष्ट्रिय मूलधारमा समाहित गरिदिए । यसअघिको ओली शासनमा विप्लवदेखि सिके राउतसम्म मूलधारमा आएका थिए । यो अवसर संविधान कार्यान्वयन गर्नेहरूले परमादेश सरकार बनाएर र बिभेद बढाएर, स्वाधीनता सिध्याउँदै गुमाएका छन् ।
०४६ सालमा गणेशमान सिंहको ठमेल–चाक्सीवारीमै आएर चन्द्रशेखरहरुले हस्तक्षेप गरेपछि बढेको भारतीय दबदबा महाकाली, टनकपुर सन्धि हुँदै सुपुर्दगी सन्धि र एयरपोर्टमा एयरमार्शल राख्न माओवादी नेतृ हिसिला यमीले र माकुने सरकारका पालामा भीम रावलले अनुमति दिएको अवस्था हुँदै २०७८ सालमा आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चार उपकरण (कम्युनिकेसन डिभाइस) सहितका सौर्य ऊर्जा प्लान्ट जडान गरी गोप्य सूचनाहरु लिने, चीनको सुरक्षा क्षेत्रमा पर्ने मुस्ताङमा हावाबाट ऊर्जा र त्यही क्षेत्रमा जलविद्युत प्लान्ट स्थापना गरी चिनियाँ गतिविधि नियाल्ने तथा अमेरिकाको एमसीसी र भारतीय लगानीका जलविद्युत लगायतका ठूला आयोजनामा उनीहरुकै सुरक्षा दस्ता राख्नेसम्मको चलखेलको मैदान नेपाल बनेको छ । यसबाट स्पष्ट हुन्छ–नेपाललाई कुनै शत्रुसँग डर छ भने त्यो नेपाली नेतृत्व पंक्तिकै भद्रकाली मिश्र जस्ताहरुबाट छ ।
संविधान भएर के गर्नु, संविधानको पालना संविधानवादीहरु नै गर्दैनन् ।
१२ बुँदे सम्झौता गराएर नेपालमा लोकतन्त्र ल्याउन सघाएको र लोकतन्त्र आएको पनि १५ वर्ष भइसक्यो । जनता भन्छन्– देशको भलो भएन, जनताले केही पाएनन् । लोकतन्त्रमा लोक, माझीको जालमा परेर छटपटाएको माछाजस्तै भयो । पिंजरामा परेको सुगा उडेन भन्नु र लोकका लागि लोकतन्त्र उस्तै उस्तै भयो ।

footer