kumari
stcnepal

६ गते सिंहदरवार, ७ गते राजदरवार नै हो त ?

राजन कार्की
फागुन ४ गते संसद भवन वरिपरि जनसागर उर्लिएर जे देखियो, त्यसबाट ठूला नेताहरु, सरकार, प्रशासक, बुद्धिजीवी, नागरिक समाज सबैको गिदी मथिङ्गल हल्लिएको हुनुपर्छ । सरकारमा सहभागी माओवादी केन्द्रसमेत सडकबाट सरकारबिरोधी नारा लगाइरहेको देखियो । यो के भइरहेछ देशमा ? यो के तमासा हो लोकतन्त्रको ? यो के नौटङ्की हो संविधानको ? पद्धति भनेको यस्तै हुन्छ ? संसद र सरकार भन्ने तत्व यही हो ?
जनता सडकमा उत्रिए । संविधानवादी, संविधानविरोधी, सत्तावादी, सत्ता इतरका सबै सडकमा देखिए । म जान्ने हुँ भन्ने एकजनाले पनि सडकमा उत्रिएका जनतालाई यथार्थ यस्तो हो भनेर भन्न सकेनन् । पुच्छर ठाडो पारेर भागेको देखियो ।
सत्तामा जो छन्, जनप्रतिनिधि जो हुन्, तिनको काम हो जनताको आवाज सुन्नु । जनताको सवालको जवाफ दिनु । जनतालाई आश्वस्त पार्नु । विवेक नभएका बुद्धिजीवी, नागरिकले नपत्याउने नागारिक समाज, अविश्वसनीय जनप्रतिनिधि, अदालतले उभ्याइदिएको अलोकतान्त्रिक सरकार, अदालतमा ज्यानमारा मुद्दा खेपिरहेको सभामुख भएको मुलुकमा सडकमा हुने दमन र हिंसा हो, संसदमा हुने बेथिति नै हो ।
नेपालको राजनीतिमा कोही कसैको बसमा छैनन् । कोही नैतिक धरातलमा उभिएका देखिदैनन् । व्यक्ति, घर, समाज र राष्ट्र नै विभाजित हुनपुगेको छ । यो सबै अतिराजनीतिकरणले गर्दा हो । अतिअपराधिकरणको प्रतिफल हो । जहाँ विधान हुन्छ, विधिमा कोही बस्दैनन्, त्यहाँ हुने गल्ली गुण्डागिरी नै हो । राष्ट्रिय राजनीति सातघुम्तीको ओरालोमा मादक पदार्थ सेवन गरेर चलाएको ब्रेक नभएको गाडीजस्तो हुनु स्वभाविक हो ।
हाम्रा व्यवसायी बनेका नेताहरुका लागि जसरी पनि सत्ता हत्याउनु पर्छ भन्ने मानसिकता बोकेका छन् । यसैले त यिनमा संसदीय चेत छैन । अदालत र संसदबीचको भेदको पनि भेउ छैन । संसदले दिनुपर्ने प्रधानमन्त्री अदालतले दियो । जसले सरकार दियो, त्यो अदालतका प्रधानन्यायधीशमाथि महाभियोग लगाएर त्यही अदालती सत्ताले अदालतलाई अस्तव्यस्त पारिदियो । राजनीतिक पद्धतिमा न स्वच्छता रह्यो, न स्वतन्त्रता ? कुनै पनि बेला कसैमाथि पनि महाभियोग लाग्न सक्छ, बुहारी तर्साउनु प¥यो भने पार्टीहरु छोरीलाई पनि भुत्ल्याउन सक्छन् भन्ने दृष्टान्त महाभियोगले देखाएको छ । आज आएर सत्तारुढ ५ दलभित्रै एकले अर्कोलाई धोका दिएको आरोप प्रत्यारोपको राँडी रुवाई सुन्न सकिन्छ । कठै लोकतन्त्र हाँक्ने नेताहरु ?
यिनले राजनीतिलाई तरलमात्र पारेनन्, भुइँमा पानी पोखिएजसरी छताछुल्ल पारिदिए । पोखिएको पानी उठाउने समस्यामा सबै भागम्भाग गरिरहेका छन् ।
यसबाट राजनीतिमा क्षमता र ल्याकत छैन भन्ने देखियो । यी कस्ता नेता हुन्, जसले एमसीसी आफैले माँगे र गिजोलिरहेका छन् । यी कस्ता पार्टी हुन्, जसले चैत ३० गते निर्वाचन गर्ने भनेर ३–४ महिना लाग्ने महाभियोगको फस्र्यौटको महामारी खडा गरिदिएका छन् । यी कस्ता पार्टी हुन्, जो संसद, सडकदेखि घरघरमा विवाद उठाइरहेछन् । नैतिक र विधिगत आधारमा छलफल गरेर निकास निकाल्न सक्दैनन् । एकदोस्रालाई खुइल्याउने बाहुबली चरित्र देखाइरहेका छन् ।
एमालेले राष्ट्रपति च्यापेको थियो, आज माओवादीले सभामुख र उपराष्ट्रपति च्यापेको छ, कांग्रेस सिंहदरवार च्यापेर आफूले भनेजस्तो हुनुपर्छ भनिरहेछ । सत्तापक्ष ब्रम्हास्त्र हानेर शक्तिशाली भएँ भन्ठानेको छ भने प्रतिपक्षी दिव्यास्त्र तैयार गरेर प्रहारका आक्रमणको प्रतिकारका लागि मैदानमा उत्रिएको छ । सूर्य चिन्हमा जितेकाहरु पार्टी तोडफोड गर्दै रुख चिन्हको जन्त गइरहेछन्, भत्तेर खाइरहेछन् । अरु साना पार्टीहरु तमासे बनेर यो तमासा हेरिरहेछन् ।

नीति, नैतिकता, निष्ठा र सिद्धान्त भन्ने नेताहरूमा रहेनन्, विधि संविधान, लोकलज्जा सत्ताधारीमा रहेन । यो नङ्गाबाबाको चर्तिकलाले राष्ट्रिय व्यक्तित्व र अस्तित्व नै नाङ्गेझार भइरहेको छ । तैपनि यिनीहरू आफूलाई स्वाधीनतावादी, सार्वभौमिकतावादी, संसदवादी, संविधानवादी भनेर थाक्दैनन्, देशमा विश्वासको संक्रमणलाई सङ्कटको पहाड बनाएर रक्तपातको खतरा निम्तयाइरहेका छन् ।
असफल भयो, लोकतान्त्रिक गणतन्त्रलाई यिनै नेताहरूले असफल पारिदिए । हरेक नेता भ्रष्टाचार, अनाचार, हत्या, हिंसामा मुछिएका छन् । नैतिकपतन भएका व्यक्ति मन्त्री बन्न थालेका छन् । परिदृश्य हेर्दा लाग्छ, लोकतन्त्र भनेको अखडा हो र यो अखडामा नेताहरू बाहुबली बनेर कुस्ती लडिरहेका छन् । संसदीय पद्धति भनेको नीति, सिद्धान्त र आचरणमा चल्ने व्यवस्था हो । विधि कुनै हालतमा पनि मान्नुपर्छ भन्ने व्यवस्था हो । यति सुन्दर व्यवस्था स्थापनामा जनताले सघाए । परिवर्तन ल्याए । तर १५ वर्षदेखि यी नेताहरुले यतिराम्रो पद्धतिलाई बाँदरको हातमा नरिवल बनाइरहेका छन् । बाँदरबाट मान्छे बनेका हामीमा विवेक हरायो भने हामी बन्ने दुईखुट्टे बाँदर नै हौं । संसदमा जे देखिएको छ, सत्ताले जनतामाथि जे देखाइरहेको छ, त्यो हेर्दा लाग्छ, हामी बाँदरबाट मान्छे त भयौं तर विवेकशील हुनसकेनौं ।
एकदोस्रासँग कुस्ती लडेर हिजो एमालेले जितेको थियो, आज ५ दलीय गठबन्धनले जितेको छ । अब जित्नका लागि एमाले तैयार भएर अगाडि सरेको छ । पार्टी र नेताहरूको यो सत्ता, शक्ति, सम्पत्ति, प्रभावको जित हारको खेलमा जनता र जनमतले हारिरहेको छ । राष्ट्रले हारिरहेको छ । राष्ट्र र जनताका लागि उत्तम पद्धतिको विकास गर्ने हो । सभ्यता र संस्कारको विकास गर्ने हो । हुने र नहुनेका बीचको दूरी क मगर्ने हो । त्यो सुकर्म गर्न छाडेर आफै खाउँ आफै लाउँको रेकर्ड तोडेका छन् नेताहरुले । यी जनताको मतबाट नेता त बने, नेतृत्व दिन सकेनन् । असलमा नेता बन्न सकेनन् । यी नेताका अनुहारका व्यवसायी बन्नपुगे ।
जनयुद्ध र जनआन्दोलन भयो । १७ हजार मानिसको हत्या भयो । यतिठूलो रक्तपात र घातपछि आएको पद्धतिले पनि जनता र देशमाथि घातै गर्छ भने यस्तो पद्धतिको फेर्नुपर्छ । पद्धति त्यही रहने हो भने पनि व्यक्ति र व्यवहार फेर्नुपर्छ । अब नैतिकहीन र जवाफदेही नलिने व्यक्तिहरुको यो पद्धतिमा कुनै काम छैनन् । त्यस्ता स्वार्थी तत्वहरुलाई किनारा लगाउनै पर्छ । कि यिनले लगाउन् र सुधारियुन्, नभए जनताले हस्तक्षेप गरेर जिम्मेवारहरुलाई खडा गर्नुपर्छ । जिम्मेवार हुन्छु भन्ने कोही छन् भने तिनीहरु यतिबेला अगाडि सर्नुपर्छ । यसरी संसद, सडक र घरघरमा आक्रोश उमारेर शान्ति र समृद्धिमा पुग्न सकिदैन ।
जुनसुकै पद्धति अँगाले पनि जित्नुपर्ने जनता र राष्ट्रले हो । यसका लागि नेता र पार्टीमा त्याग र तपस्या चाहिन्छ । बलिदान र नैतिकता चाहिन्छ । सबैले सबै कुरा बुझेका छन्, चाहिने कुरा छन् तर अमल गर्दैनन् । नबुझेपछि हुने लथालिङ् हो, भइरहेछ । बेथितिलाई थितिमा बदल्ने, अराजकतालाई स्थिरतमा स्थापित गर्ने राजनेताले हो । राजनीतिक गल्लीको सान्चा पहलमान नेता बन्न सबै तैयार छन्, राष्ट्रको राजनेता बन्न कोही तैयार छैनन् । देश कङ्गाल बनाएका यिनै नेताले हो ।
भनिदैछ, ४ गतेजस्तै ६ गते संसद, सिंहदरवार घेरिनेछ । फागुन ७ गते फेरि सकारात्मक प्रजातन्त्र आउनेवाला छ ।

नेपालका प्रजा जागेका छन्, घरघरबाट सडकमा निस्केका छन्, ती प्रजाले आफ्ना लागि प्रजातन्त्र ल्याउलान् त ? हरेक नागरिकमा विश्वास बढेको छ, देशलाई जिताउनका लागि फागुन ७ गते केही घोषणा हुँदैछ, केही ऐतिहासिक परिवर्तन गरिदैछ भन्ने सनसनी फैलिएको छ । यो अराजकतालाई रोकेर व्यवस्थित गर्नका लागि बिस्थापित शक्ति स्थापित भयो भने राष्ट्रिय जनजीवनले हार्दिक स्वागत गर्नेछ । हेरौं समयलाई के मञ्जुर छ ? जनताले आफ्ना लागि कस्तो निर्णय गर्नेछन् ।

footer