kumari
stcnepal

भण्डार गरिएको तेल निकाल्न अमेरिकी राष्ट्रपतिको आदेश

काठमाडौं । रुस–युक्रेन युद्धको प्रभाव संसारभर पर्न थालेको छ । विशेषगरी तेल आपूर्तिमा समस्या आएपछि युरोप र अमेरिकामा उर्जा संकट देखिन थालेको छ ।

यसैबेला अमेरिकी राष्ट्रपति जो बाइडनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरू बाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन् । आउँदो ६ महिनामा १८ करोड ब्यारल सम्म तेल निकालिने बताइएको छ, जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो । बीबीसीले जनाएअनुसार युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति संकटमाझ राष्ट्रपति बाइडनको पछिल्लो आदेश पछि तेलको मूल्य घटेको छ । तर, विश्लेषकहरूले दैनिक १० लाख ब्यारल जति तेल निकालेर ऊर्जा संकट समाधान नहुने बताएका छन् ।

यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने बीबीसीका एक पत्रकारकले बताएका छन् । तर राष्ट्रपति बाइडनले अमेरिकी तेल आपूर्ति बढाउन थप कदमहरू चालिने बाचा गरेको पनि बताइएको छ । यस वर्षको अन्त्यसम्म आन्तरिक उत्पादन बढ्नुअघि पछिल्लो कदमले एउटा सेतुको रूपमा काम गर्ने उनको भनाइ छ । रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो ।

वेस्ट टेक्सस इन्टरमिडिएट ७ प्रतिसतले झरेर प्रतिब्यारल १०० डलर पुगेको थियो । त्यस्तै ब्रेन्ट क्रुड झण्डै ५.४ प्रतिसतले झरेर १०७ डलर पुगेको थियो । ऊर्जाको बढ्दो मूल्य अमेरिका सहित अहिले संसार भर एउटा राजनीतिक मुद्दा बनेको छ । अमेरिकामा नोभेम्बरमा संघीय संसदको चुनाव हुँदैछ ।

अमेरिकी भण्डारहरूमा कति तेल छ ?

अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार सन् १९७० को दशकको ऊर्जा संकट लगत्तै सिर्जना गरिएको हो । ती भण्डारहरू टेक्सस र लुइजियाना राज्यको जमिनमुन्तिर अवस्थित नुनिला विशाल गुफाहरूमा छन् ।

ती भण्डारमा २५ मार्च सम्मको विवरण अनुसार ५६.८ करोड ब्यारल तेल रहेको छ, जहाँ सन् २००९ ताका सबैभन्दा उच्च ७० करोड ब्यारल पुगेको थियो । अन्तर्राष्ट्रिय ऊर्जा निकायले विश्वभरि यो वर्ष दैनिक १० करोड ब्यारल पेट्रोलियम र तरल इन्धनहरू खपत हुने प्रक्षेपण गरेको छ । (बीबीसी)

 

 

 

footer