kumari
stcnepal

श्रीलंकामा राजनीतिक संकट, सबै मन्त्रीले दिए राजिनामा

कोलोम्बो । दशकौँ यताकै सबै भन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनका बीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन् । मन्त्रिपरिषद्का २६ जना सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन् ।

यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए । श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कट सँग जुधिरहेको छ । यो आंशिक रूपमा विदेशी मुद्राको अभावले गर्दा भएको हो, जुन इन्धन आयातको भुक्तान गर्नका लागि प्रयोग गरिन्छ । लगभग आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू क्रुद्ध भएका छन् ।

श्रीलङ्काका शिक्षामन्त्रीले आइतबार मन्त्रीपरिषद् सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताए । राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा पनि छन् । खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन चर्कि एपछि श्रीलङ्कामा सरकारले ३६ घण्टाका लागि कर्फ्यु घोषणा गरेको थियो । त्यसको अघिल्लो दिन राष्ट्रपति गोटाबय राजपक्षको निवास नजिकै झडप भएको थियो । उनको कोलम्बो स्थित निवास बाहिर विरोध प्रदर्शन शान्तिपूर्ण रूपमै सुरु भएको थियो ।

तर प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि तथा मानिसहरूलाई कुटपिट गर्न थालेपछि प्रदर्शन हिंसात्मक भएको सहभागीहरूको भनाइ छ । प्रदर्शनकारीले प्रहरी तिर ढुङ्गा हानेर प्रतिकार गरेका थिए । भिडन्तमा कम्तीमा दुई दर्जन सुरक्षाकर्मी घाइते भएको एक अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएको उल्लेख गर्दै बीबीसी नेपालीले समाचार प्रकाशित गरेको छ ।

श्रीलङ्कामा मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमति बिना जानमा रोक लगाइएको छ । त्यहाँ केही समयका लागि सामाजिक सञ्जालको पहुँचमा अवरोध गरिएको थियो । अहिलेको विरोध प्रदर्शनका कारण राष्ट्रपति राजपक्षको लोकप्रियता घटेको छ । सन् २०१९ मा भएको निर्वाचनमा उनी अत्यधिक मतसहित विजयी भएका थिए । उनले देशमा स्थिरता र शासन गर्न सबल नेतृत्व दिने वाचा गरेका थिए ।

 

 

footer