kumari
stcnepal

गठबन्धन दललाई परेको स्थानमा हाम्रा उम्मेदवार रहने छैनन् : समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि सबै पालिकामा उम्मेदवारहरु सिफारिस गर्न भनेको छ । उम्मेदवारी भने गठबन्धन गर्दा पार्टीले पाएको स्थानमा मात्र दिने केन्द्रीय सचिवालयको निर्णय छ । एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको शनिबार र आइतबार बसेको बैठकले मापदण्ड तय गर्दै उम्मेदवार सिफारिस प्रक्रिया र समय तालिका पास गरेको छ ।

उम्मेदवार छनोटको मापदण्डमा पार्टीको नीति र कार्यक्रम प्रति प्रतिवद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रति निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो भएको आदि छन् । मापदण्ड अनुसार वडा सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने पालिका कमिटीले टुंगो लगाउने छ ।

वडा अध्यक्षको उम्मेदवार वडा र पालिकाको सिफारिसमा जिल्ला कमिटीले टुंगो लगाउने भएको छ । गाउँपालिका प्रमुख उपप्रमुख र नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्ला कमिटीको सिफारिसमा प्रदेशले टुंगो लगाउने छ । उपमहानगर र महानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका, जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले टुंगो लगाउने छ ।

बैठकको निर्णय अनुसार वडा कमिटीले ३० चैतमा सिफारिस गरिसक्नुपर्नेछ भने पालिकाले २ वैशाख, जिल्लाले ४ वैशाख, प्रदेशले ६ वैशाखमा सिफारिस गरिसक्नुपर्नेछ भने केन्द्रले भने ८ वैशाख भित्र निर्णय गरिसक्ने केन्द्रीय सचिवालयको निर्णय छ । सबैतिर उम्मेदवार सिफारिस मागेको एकीकृत समाजवादीले उम्मेदवारी भने सत्तारुढ गठबन्धनमा भएको भागवण्डा अनुसार मात्र दिने बताएको छ । निर्णयमा भनिएको छ, गठबन्धन गर्दा हामीले पाएको स्थानमा सिफारिस भई आएका नाम मध्ये बाट उम्मेदवार चयन गरिनेछ, अन्य दललाई परेको स्थानमा हाम्रा उम्मेदवार रहने छैनन् ।’

footer