kumari
stcnepal

अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानिज बन्ने निश्चित, कन्जरभेटिभ पार्टीले हार स्वीकार

काठमाडौं ।अष्ट्रेलियाको राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री स्कट मोरिसनको कन्जरभेटिभ पार्टीले हार स्वीकार गरेको छ । लेबर पार्टीका नेताले चाहिं विजयको घोषणा गरेका छन् । मतगणना अझै जारी छ । तर मतगणनाको ट्रेण्ड हेर्दा कन्जरभेटिभ पार्टी एक दशक पछि सत्ता बाट बाहिरिने स्पष्ट संकेत देखिएको छ । झण्डै ९ वर्ष प्रतिपक्षमा रहेको लेबर दलका नेता एन्थोनी अल्बानिजले सिड्नीमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, ‘अष्ट्रेलियाली जनताले परिवर्तनका लागि मतदान गरेका छन् । यो विजय प्रति म आभारी छु ।’

‘मलाई लाग्छ मानिसले विभाजनको अनुभव बितेका वर्षमा गरे । उनीहरु अब एक राष्ट्रको रुपमा सँगै आउन चाहन्छन् र म त्यसलाई नेतृत्व गर्न चाहन्छु,’ उनले भने । त्यहाँको १५१ सदस्यीय तल्लो सदनमा लेबर पार्टीले आंशिक नतिजा अनुसार अहिले सम्म बहुमत भन्दा चार सिट कम अर्थात् ७२ सिट हासिल गरेको छ । प्रधानमन्त्री स्कट मरिसनको नेतृत्वमा रहेको केन्द्रीय दक्षिणपन्थी गठबन्धनले अहिले सम्म ५१ सिट जितेको छ । हुलाक बाट प्राप्त मतगणना सकिएपछि निर्वाचनको अन्तिम नतिजा घोषणा हुने अपेक्षा गरिएको छ ।

मरिसन नेतृत्वको मध्यपन्थी गठबन्धनले नागरिकको जनजीविका, महामारी र जलवायु परिवर्तन जस्ता मुद्दाको कमजोर व्यवस्थापनको कारण आलोचना खेपिरहेको छ । सिड्नी बाट टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मरिसनले भने, ‘आज मैले प्रतिपक्षी दल र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानिज सँग कुराकानी गरें । चुनावको जितको मैले उहाँलाई धन्यवाद समेत दिएँ ।’

चुनाव बाट पराजित भए पनि आफू लिबरल दलको नेता रहिरहने मरिसनले उक्त सम्बोधनमा बताए । बीबीसीका अनुसार नयाँ प्रधानमन्त्री हुने तयारीमा रहेका अल्बानिजले सोमबार सपथ लिन सक्नेछन् । आफू प्रधानमन्त्री भए अष्ट्रेलियालाई नवीकरणीय ऊर्जाको महाशक्ति बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

 

 

footer