kumari
stcnepal

आगामी दिनमा सीमित क्षेत्रमा मात्रै वर्षा हुने, सावधानी अपनाउन विज्ञहरूको आग्रह

काठमाडौँ । नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । साथै आगामी आइतबारसम्म भारी वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

आगामी दिनमा सीमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउनुपर्ने जलवायु विज्ञ डा. धर्म उप्रेतीले बताए । उनले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउनसक्ने जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताए ।

विज्ञ उप्रेतीकाअनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाख भन्दा बढीको हानी नोक्सानी भएको छ । त्यस्तै भरी वर्षा सुरु हुनुभन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आगामी तीन महिनाभित्र नेपालमा विपद्बाट ठुलो नोक्सानी हुने देखिएको उनले बताए । उनले मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरू बाढी र पहिरोका कारण ध्वस्त भएको बताए । यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटनाहरू (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन् ।

उनले भने, ‘नेपालमा मनसुन सुरु भएको २५ दिन लगभग भयो । जेठको २८ गतेदेखि नेपालमा मनसुन सुरु भएको थियो । मनसुनले सुरुवाती अवस्थामा नै धेरै ठुलो हानी नोक्सानी गरेको छ । हिजोसम्मको क्षतिलाई विश्लेषण गर्दा लगभग ४७ जनाले ज्यान गुमाएको देखिन्छ । ८ करोड २० लाख बराबरको आर्थिक क्षति पनि यो २५ दिनमा भएको छ । ४६ वटा भौतिक संरचनाहरू पनि यही बीचमा बाढी पहिरोका कारणले ध्वस्त भएका छन् । मान्छेको जीविकोपार्जनसँग जोडिएको पशुचौपाया लगभग २५९ वटा मरेका छन् । २५ दिनमा ४ सय वटा जलवायुजन्य घटनाहरु (बाढी, पहिरो, डुबान, चट्याङ) का घटना भए । त्यसमा भएको क्षति हो भयो ।’

विज्ञ उप्रेतीले असारमा औसतभन्दा कम पानी पर्दाको क्षति ठुलो भइसकेको भन्दै आगामी तीन महिनामा नेपालले व्यहोर्नुपर्ने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने बताए । उनले समयमा नै सरकारले विशेष ध्यान दिन र शतर्कता अपनाउन नसके विपद्बाट ठुलाे क्षति हुने निश्चित रहेको बताए । नदी किनारमा भएका बस्तीहरू, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, लिएर खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको उनले बताए । उनले मनसुनको न्यूनचापीय रेखा नेपालमा रहेकाले यस समय भारी वर्षा हुने बताए । उनले विपद्पूर्व नै विपद् हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयहरूलाई सचेत गराउन आवश्यक रहेको बताए । विज्ञ उप्रेतीले मनसुनको न्यूनचापीय रेखा नेपालको नजिक रहेको र यस समय बढी वर्षा हुने भन्दै आइतबारसम्म सावधानी अपनाउन आग्रह गरे । उनले पोखरा, काठमाडौँ, सुदूरपश्चिममा दिपायल, कोशी प्रदेशका केही भूभागमा अत्यधिक वर्षा हुने बताए । उनले भूबनावटले थेग्ने भन्दा वर्षा भएको खण्डमा पहिरो जाने उच्च सम्भावना रहेको बताए ।

पानी पर्ने तरिकामा परिवर्तन भयोविज्ञ उप्रेतीले पछिल्ला केही दिन यता पानी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको बताए । उनले एकै ठाउँमा मुसलधारे पानी पर्ने र त्यसको असर समुदायमा पर्ने गरेको बताए । उनले एकै ठाउँमा धेरै वर्षा हुँदा मानिसहरू डराउने गरेको उल्लेख गरे । आगामी दिनमा पनि सीमित क्षेत्रमा ठुलो र लामो समय पानी पर्ने भएकाले सतर्क रहन उनले आग्रह गरे । तराई र सहरी क्षेत्रमा बाढी आउने मात्र नभई डुबान पर्ने सम्भावना रहेको उनले बताए । क्षेत्रलाई निर्धारण गरी सोहीअनुसारको पूर्वसूचना प्रणाली बनाउनसके मानिसहरू सचेत हुने र विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने उनले बताए ।

उनले भने, ‘पानी पर्ने तरिकामा अहिले परिवर्तन हुँदै गएको देख्न सकिन्छ । एकै ठाउँमा मुसलधारे पानी पर्छ । यस्तो पानी परेको अवस्थामा मानिसहरू डराउने अवस्था हुन्छ । आगामी दिनमा पनि सीमित क्षेत्रमा मात्रै धेरै वर्षा हुने सम्भावना रहेको छ । भारी वर्षा भएको क्षेत्रमा बढी जोखिम हुनसक्नेछ ।’ निर्माण क्षेत्रले आगामी दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति झनै धेरै बढ्ने विज्ञ उप्रेतीले बताए । उनले नदी किनारमा बनाइएका संरचनाहरुः जस्तै ऊर्जाको भौतिक संरचना, खानेपानीको भौतिक संरचनाहरू बनाउँदा दीर्घकालीन रूपमा सोचेर बनाउनुपर्ने बताए । उनले भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट, रडहरू बाढीको जोखिम कम हुने क्षेत्रमा राख्नुपर्ने सुझाव दिए । उनले बाढी, पहिरोको जोखिम भएका ठाउँमा तत्काललाई काम रोक्नुपर्ने बताए ।

footer