kumari
stcnepal

भारतमा अन्न बाँडने एटीएम मेसिनले अन्न बाँडन थाल्यो

काठमाडौं । एटिएमलाई आम रुपमा नगद निकाल्न मिल्ने मेसिनको रुपमा जानिन्छ । यद्यपि समयसँगै यसको प्रयोग बदलिँदै गएको छ ।नेपालकै विभिन्न ठाउँमा एटिएम मेसिनबाट पानी, सेनेटरी प्याड जस्ता सामान निकाल्न मिल्ने एटिएम मेसिन प्रयोगमा छन् ।

तर हाम्रो छिमेकी मुलुक भारतमा भने अन्न वितरण गर्ने एटिएम मेसिन प्रयोगमा आएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)को सहयोगमा भारतको ओडिसा प्रदेश सरकारले भुवनेश्वरमा चौबिसै घण्टा अन्न निकाल्न मिल्ने एटिएम मेसिन प्रयोगमा ल्याइएको छ । भारतमै पहिलो अन्न एटिएमको नाम राखिएको छ ‘अन्नपूर्ति’ । यसलाई स्थापना गर्नुअघि विभिन्न प्रदेशहरुमा उचित मूल्यमा दिइने अन्नको दुकानमा अन्न एटिएम को उपयोगिता जाँच गरिएको थियो । त्यसको सञ्चालन त्यही दुकानदारले नै गर्दथे ।

तर ओडिसामा स्थापना गरिएको अन्न एटिएम पहिलो यस्तो प्रणाली हो जो २४ सै घण्टा खुल्ला हुनुका साथै स्वचालित पनि छ । यसलाई चलाउन कुनै पनि कर्मचारी आवश्यक पर्दैन । यसबाट उपभोक्ताले आफूलाई आवश्यक परेको अन्न जुनसुकै समयमा किन्न सक्दछन् । बजार पसल बन्द हुन्छ कि भन्ने चिन्ता पनि गर्नु पर्दैन । ओडिसा सरकारका खाद्य, आपूर्ति, उपभोक्ता कल्याण, विज्ञा तथा प्रविधि मन्त्री कृष्णचन्द्र पात्राले अन्न एटिएमको उदघाटन गरे । उद्घाटन कार्यक्रममा उनले भने, ‘यो मेसिन प्रदेशमा पोषण सुरक्षा हासिल गर्नका लागि संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमसँग साझेदारीमा गरिएको एक महत्वपूर्ण पहल हो । यस्ता एटिएम मेसिन प्रदेशभर स्थापना गरिने छ ।’

भारत विशाल खाद्य-आधारित सुरक्षा नेटवर्क भएको देश हो, जसअन्तर्गत विभिन्न स्थानमा ५ लाखभन्दा बढी सुपथ मूल्य पसलहरु छन् । यो नेटवर्कमार्फत् हरेक महिना करिब ८१ करोड व्यक्तिलाई अनुदानवाला अन्न वितरण गरिन्छ । हालसम्म पसल सञ्चालकहरुले अन्नलाई जोखेर ग्राहकहरुलाई दिन्छन् । यो प्रक्रियामा अनेक झमेला छ । किन्नेहरुले लामो समय लाइनमा बस्नुपर्दछ । अनाज पोखिने जोखिम र कतिपय अवस्थामा भनिएको तौल जति पनि नपाइने सम्भावना पनि हुन्छ । यस्तो अवस्थामा अन्नपूर्ति एटिएम मेसिनबाट सर्वसाधारणले सहज, र सुलभ पहुँच पाएका छन् । सार्वजनिक वितरण प्रणालीको राशन कार्ड प्राप्त देशभरका कुनै पनि व्यक्तिले यो सुविधा लिन सक्ने ओडिसा सरकारले जनाएको छ ।

अन्नपूर्ति एटिएमले ५ मिनेटभित्र ५० किलोसम्म अन्न वितरण गर्न सक्छ । छिटो हुने भएकाले उपभोक्तालाई लामो समयसम्म लाइनमा बस्नु पर्दैन ।एकपटक वायोमेट्रिक प्रमाणीकरणको प्रक्रिया पूरा गरेपछि लगातार सबै प्रकारका राशन प्राप्त गर्न सकिन्छ । अधिकारीहरुका अनुसार यसको मोडुलर डिजाइन सजिलैसँग जुनसुकै स्थानमा फिर्ट गर्न सकिन्छ । यो सौर्य ऊर्जाबाट पनि चलाउन मिल्छ । भारतमा डब्ल्यूएफपीकी उपनिर्देशक नोजोमी हासिमोतोले भनेकी छन्, ‘ओडिसाले समय अनुकूल सफलताको कथा प्रस्तुत गरिरहेको छ । भारतमै विकसित यो अन्नपूर्ति मेसिन अन्य धेरै प्रदेशहरुमा पनि चलाइने छ । एक वर्षको परीक्षणको आधारमा यसलाई अझै सुविधाजनक बनाउने प्रयास पनि जारी छ ।’

भारतमा डब्ल्यूएफपीद्वारा विकसित अन्नपूर्ति मेसिनको पछाडि प्रविधि, खाद्य सुरक्षामा सुधार र सर्वसाधारणलाई सटिक तरिकाले राशन उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम मानिएको छ ।

 

footer