kumari
stcnepal

माओवादी केन्द्रबाट नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । सोमबार बसेको माओवादी केन्द्रको विदुर नगर कमाण्डको बैठकले बोगटीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको माओवादी स्रोतले बताएको छ । माओवादीको विदुर नगर कमिटीकी अध्यक्ष समेत रहेकी बोगटी माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरी समेत हुन् ।

सत्ता गठबन्धन बीच तालमेल हुँदा विदुरको मेयरमा नेपाली कांग्रेसले पनि दाबी गरिरहेको छ । त्यस्तोमा माओवादीले उपप्रमुख पाउन सक्छ । बोगटीले तालमेल गर्दा माओवादीले उपप्रमुख पाए पनि आफूले नै नेतृत्व गर्ने बताइन् । ‘नगरपालिकाको मेयरमा मेरो नाम सर्वसम्मतिले सिफारिस गरेको छ,’  उनले भनिन्, ‘यहाँ गठबन्धन गर्ने भन्ने कुरा पनि छ । हामीलाई मेयर आए पनि, उपमेयर आए पनि त्यसमा मैले नै नेतृत्व गर्ने निर्णय भएको छ ।’ बोगटी यसअघि पत्रकारितामा सक्रिय थिइन् । उनी माओवादी केन्द्र निकट पत्रकारको संगठन प्रेस सेन्टरको केन्द्रीय सदस्य समेत हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाको मेयर नेकपा एमालेले जितेको थियो भने माओवादी केन्द्रका उम्मेदवार तेस्रो भएका थिए । एमालेकी सञ्जु पण्डित ९ हजार ७१६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा नेपाली कांग्रेसका ध्रुवप्रसाद अधिकारी ८ हजार ७४० मत ल्याएर दोस्रो भएका थिए । माओवादीका उम्मेदवार लीलानाथ न्यौपानेले ४ हजार ७३६ मत पाएका थिए ।

 

 

footer