kumari
stcnepal

प्रमुख राजनीतिक दलहरु प्रति आम जनताको बितृष्णा मात्र होइन बिस्तारै घृणा बढ्न थालेको अध्यक्ष कमल थापाको टिप्पणी

भक्तपुर ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरु प्रती आम जनताको बितृष्णा मात्र होइन बिस्तारै घृणा बढ्न थालेको टिप्पणी गरेका छन् । महिनैपिच्छे समीकरण फेरबदल गर्दै सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुने अनैतिक, अमर्यादित र अशोभनीय गतिविधिले जनतामा आक्रोश पैदा भएको बताए । काठमाडौँ उपत्यका केन्द्रित सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत भक्तपुरको मध्यपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्ट ,अनैतिक र असफल भनेर भनिएका दलहरू सँग सत्ता गठबन्धन बनाएर ब्रम्हलुटमा सङ्गै संलग्न हुनुले नयाँ उदय भएका दलहरूप्रतिको भरोसा पनि टुटेको विचार व्यक्त गरे ।

सत्ता र शक्ति केन्द्रित भएका ठुला दलहरूकै बाटोमा हिँड्ने कामले विकल्प दिन नसक्ने उनको दाबी थियो । जनतालाई जीवन धान्न गाह्रो भएको विषयले भन्दा पनि सत्ता रोहणको विषयले महत्त्व पाउनुबाट नयाँ विकल्प भनिएका दलबाट जनता निराश भएको विचार व्यक्त गरे । मुलुक डरलाग्दो आर्थिक संकटतिर गइरहेकोमा चिन्ता व्यक्त गर्दै थापाले भने -‘आर्थिक मन्दी बढ्ने क्रममा छ,कारोबार ठप्प प्राय छ, वित्तीय संकट गहिरिँदै छ, महँगी अनियन्त्रित छ, निर्यात छैन,उत्पादन छैन, रेमिट्यान्समा विचलन आए मुलुक धराशायी हुनेछ ‘ । सरकार सँग अहिलेको संकटबाट मुक्त हुने कुनै नीति,योजना कार्यक्रम नभएको भन्दै थापाले अहिले मुलुकले एउटा भ्रष्टाचार विरोधी भरपर्दो वैकल्पिक शक्ति खोजिरहेको र त्यो शक्ति राप्रपा नेपाल बनाउने अभियानलाई साथ दिन समेत आग्रह गरे ।

कार्यक्रममा पार्टीका नेताहरू माधव खत्री , शङ्खदेब, यबती कार्की, रामसुन्दर विष्ट लगायतले बोलेका थिए । भेलाले सागर बुढाथोकीको अध्यक्षतामा १९ सदस्यीय राप्रपा नेपाल मध्यपुर -१ वडा समिति गठन गरेको छ ।

footer