kumari
stcnepal

कांग्रेसका लागि सिद्धान्तभन्दा सत्ताको महत्व किन बढी ?

 

राजन काकी
कुनै बेला वीपीले मान्ने राजतन्त्रलाई मात्र थियो, राजाले मान्ने वीपीलाई मात्र । एकदोस्रालाई सम्मान गर्थे । वीपी बितेर गए, उनका सपना साकार भए प्रजातन्त्र आयो । प्रजातन्त्रको ठाउँमा लोकतन्त्र पनि आयो । तर वीपीका अनुयायी सर्वहाराका भरिया बनेपछि कम्युनिष्टहरुले निरंकूशता चलाइरहेका छन् । प्रजातन्त्र रोइरहेको छ ।
कांग्रेसभित्र वीपीका शाश्वत नीतिहरु बिलाए । वीपीका उत्तराधिकारीहरुले वीपी धारणालाई कम्युनिष्टको सिद्धान्त, शासनमा सेलाए । कांग्रेस छ, गूट र फूटमा छ । ब्यानर र बोर्डमा छ ।
वीपी थिए र राजतन्त्र थियो । राजतन्त्र थियो र कांग्रेस थियो । प्रजातन्त्र र राष्ट्रवाद ज्यूँदो थियो र दुबै थिए । आज न समाजबाद छ, न राष्ट्रवादी । कांग्रेस छ, सुतेको छ कि उठेको छ ? राजनीतिको बहादुर हो कि बगरको बुहारी झार ? नेपाली कांग्रेसले आफ्नो स्थान र स्तरको खोजी गर्नैपर्छ । सर्वहारा र कम्युनिष्टहरुको जगजगी चलिरहेकै छ । यो जगजगीमा न राष्ट्रवाद छ, न लोकतन्त्र । जे छ, अपराधिको राजनीतिक र राजनीतिको अपराधिकरणमात्र छ ।
कम्युनिष्ट छन्, राजतन्त्रको बिरोध गर्छन्, प्रजातन्त्रलाई सर्वहारावादी समाजवादको जामा पहि¥याएर ‘पुग्ने एकदलीय शासनमै हो’ भन्ने स्कूलिङ गरिरहेका छन् । कम्युनिष्ट सत्ताको भाङ्मा लठ्ठिएर प्रजातन्त्रको चीरहरण गरिरहेका छन् । बरु महाभारतमा कतै कतै दुर्योधन हच्किएको देखियो, लोकवाद, राष्ट्रवादलाई नङ्ग्याउन कम्युनिष्टले कुनै कसर बाँकी राखेनन् । कांग्रेस कम्युनिष्टजस्ता पार्टीभित्र चरित्रमा नीति र अनीतिमा कुनै भिन्नता देखिन्न । लोकतन्त्र र राष्ट्रवादको मन्त्र जपेर राष्ट्रमाथि बलात्कार गर्नु कांग्रेस र कमरेडी कमाल हो । संसद, सिंहदरवार र शितल निवास कांग्रेस र कम्युनिष्टका लागि दोहोरी साँझ जस्तो बनेको छ ।
जन्मेन, ७२ वर्षमा न अर्को राष्ट्रवादी महेन्द्र जन्मे, न प्रजातन्त्रवादी वीपी । अर्को मदन भण्डारी वा मनमोहन पनि जन्मेनन् । नेपाल आमाको यो कन्तबिजोग, हेरिनसक्नु अवस्था सम्हाल्ने सन्तानहरु रोजीरोटीका लागि विदेशीन बाध्य छन्, युद्धमा होमिएर मारिन अभिशप्त छन् ।
लोकशासन चारकोसे झाडी भयो, पशुतुल्य चरित्रको राज निर्वाध चलिरहेकै छ । यसैलाई लोकतन्त्र भनेर चर्को भाषणबाजी गर्ने र राजतन्त्रलाई गाली गर्ने परम्परा तोडिएको छैन ।
व्यभिचारबाट लोकमत पाएकाहरु लोकविधिमा चलेर लोकसम्मान आर्जन गर्न सकेका छैनन् । यति कुरा थिङ्क टेङ्क भन्दैनन्, नागरिक समाज वा बुद्धिजीवी बोल्दैनन् । थाहा नभएर होइन, उनीहरुभित्र आत्मसम्मान मरिसक्यो । सबैभन्दा डरलाग्दो रोग विश्वासको संकट हो । जसरी पनि लुट्नुपर्छ भन्नेहरुको रस्तीबस्ती बन्यो शासन ।
विश्वासको ऐना फुटेको छ । ऐनाका टुक्राहरु बिझेको, टुक्रा ऐनाले काटेर घावैघाउ भएको र रगताम्मे मुलुकको नाम हो नेपाल । जहाँ राष्ट्रवाद र प्रजातन्त्र दुबै आमने सामने दशधारा रोइरहेका छन् ।
राष्ट्रनिर्मातामा बिबाद छ । परिवर्तनमा बिबाद छ । पद्धतिमा बिबाद छ । मूल कानुन संविधानमा बिबाद छ । बिबादै बिबादले भरिएको मुलुक द्वन्द्वबाट हिंसाउन्मुख हुँदो छ । अनेक पार्टी छन्, नेता छन् । कसैले मेरो देश महान भन्यो ? नेपालप्रति गौरव गरेको सुनियो ? ठ्या कि मठ्याह भनेजस्तै छ । एउटा दक्षिणतिर ढल्क्यो भने अर्को उत्तरतिर ढल्किन्छ, तेस्रो पश्चिमतिर । यी तिनैथरिमा भएका अवसरवादी पसलेहरु लाभतिर पल्किन्छन् । राष्ट्रवाद र प्रजातन्त्र खिइएको यसैगरी हो ।
शक्तिशाली हुनु भनेको विदेशीको एस म्यान हुनसक्ने योग्यता हो । सत्तामा पुग्ने योग्यता भनेको जेल परेको वर्षगन्ती, पार्टीलाई आर्थिक सहयोग गर्नु हो । संवैधानिक पदमा पुग्ने योग्यता बढाबढमा घूस दिनसक्ने क्षमता र न्यायाधीश हुने योग्यता लेनदेन मिलाउन जान्ने योग्यता हो । सुत्न र सुताउन सक्ने, खान र खुवाउन सक्ने, लुट्न लुटाउन सक्ने सबै योग्य, बाँकी सबै अयोग्य । नेपाल बिग्रेको भ्रष्टतन्त्र, अपराधिकतन्त्त, नगद र नमस्कारतन्त्रले हो । सक्किगो नि ।
प्रजातन्त्रको ३४ वर्षमा पनि अहा हाम्रा नेता, महान नेता, यस्ता पो नेता भन्न पाइएन । नेताले कहिले सोचेनन् आस्थाका मलामी बढाउने काम गर्नुपर्छ ।
दोष नागरिकको पनि छ । नागरिकले कस्तो नेता बनाउने भनेर कहिले सोचेनन् । अधर्मीलाई खादा, माला, अभिनन्दन, सिन्दुरे जात्रा गरी गरी अधर्म बढाउने नागरिक नै हुन् । यही देखेर कालीप्रसाद रिजालले गीत लेखे– मुटुमाथि ढुङ्गा राखी हास्नुप¥या छ ।
नेपाल निर्माताको सालिक फोड्नेहरुले आफ्नो बालिक ठढ्याए, कहिले विचार गरेनन्, रुसमा किन लेनिनको सालिक ढालेर अब्राहम लिंकनको सालिक ठड्याइयो ? इराकमा सद्दाम हुसेनको सालिक बनाउने कारिगरले आफ्नै कारिगरी भत्काए ।
नेतृत्वलाई हेक्का रहोस् अर्थात् भ्रम चिरायु हुँदैन ।
०४६ सालमा राजा वीरेन्द्रको पुतला दहन गर्नेहरु ०५८ सालमा तिनै राजाको हत्या भएपछि टाउको मुडेर किरिया बसे । ०६३ को जनआन्दोलनमा घरघरबाट निस्केका नागरिकहरुको आज घरघरमै रुवावासी छ । नागरिकहरुमा सामथ्र्य त अपार छ, नागरिक नेतृत्वचाहिँ सही समयमा सही निर्णय गर्न नसक्दा समय घर्केपछि पछुताउने गर्छन् ।
जसरी इटलीको मिलान सहरमा मुसोलिनीको कार्यक्रममा माउरीको गोलोजसरी मानिसहरु जम्मा हुन्थे, त्यसैगरी भूमिगत प्रचण्ड सार्वजनिक हुँदा प्रचण्डलाई हेर्न नागरिकहरुको लुँडो लागेको देखिन्थ्यो । एक से एक विद्वानहरु जता हे¥यो उतै प्रचण्ड प्रचण्ड देख्न थालेका थिए । प्रचण्डलाई ईश्वरीय देनजसरी देवत्वकरण गरियो । त्यो चार दिनको रामछायाँ भयो, बिस्तार बिस्तार अलोकप्रिय बन्दै गएका प्रचण्ड १७ वर्ष नहुँदै चरम अलोकप्रिय स्थितिमा पुगिसकेका छन् । सत्तामा छन् र उनको वरिपरि गुलियो चाट्ने कमिलाहरु छन् । सत्ता बाहिर गएपछि उनको बेहाल देख्नुपर्नेछ । प्रचण्डले मान पाउने काम गर्न सकेनन्, बदनाम हुने काम धेरै गरेको चर्चा भइरहेको छ ।
स्मरणीय इतिहास पढौं– मुसोलिनीका प्रशंसकहरुको होस खुलेपछि मुसोलिनी र उनकी प्रेमिकालाई वीच बाटोमा उल्टो झुण्ड्याउने मुसोलिनीलाई देवता मान्नेहरु नै थिए । जो त्यो बाटो हिड्थ्यो, तिनीहरु मुसोलिनीलाई थु थु थुकेर हिड्थे । जसरी १९७५ मा सिक्किम भारतमा मिलाउने राष्ट्रघाती लेण्डुप दोर्जीलाई सिक्किमेहरुले देख्यो कि थु थु थुकेका थिए । घृणा पचाएर मरे ।
वर्तमान नेपाली नेताहरु हो, धुपौरेको धुपध्वाँर, आरतीगान सुनेर म ख्यातीको शिखरमा छु भन्ठान्नु आत्मरती हो ।
१४ वर्षको वनबास सकेर राम अयोध्या फर्केको किन बिर्सेको ? राजा फालियो भन्ने दम्भ पाल्ने र सुकर्म गर्न नसक्नेहरु नादान हुन् । जनविद्रोह सुरु भयो त ।
यासिर अराफात हरहमेसा भन्ने गर्थे– हामी शुन्यतामा महल होइन, प्यालेस्टाइन धर्तीमा झुपडी बनाउन चाहन्छौं । हाम्रा नेताहरुले भर्जिन धर्ती पाएका थिए, झुपडी समेत आगो लगाए । खरानी बनाए । खरानी पनि बेचेर खाए ।
१७ वर्षमै प्रमाणित भयो, रामलीला मैदानमा देखाएजस्तो नाट्य चटक रहेछ परिवर्तनः जितनी चावी भरी रामने, उतनी चली खिलौना ।
नेपालका सन्दर्भमा एक युगमा एक दिन ल्याउने हामी हौं भन्नेहरुले विन्सटन चर्चिल र उनका प्रशंसकको वार्तालाप पढ्न र बुझ्न जरुरी छ । गर्जने सिंह अर्थात बिसौं शताब्दीका युगपुरुष विन्सटन चर्चिलले बोल्ने भनेपछि स्रोता र सहभागीहरुको व्यापक र उत्सुकतापूर्ण भीड हुनेगथ्र्यो । एकदिनको कार्यक्रममा ठूलो मैदानमा अटाइ नअटाई मान्छेहरु आएको देखेर प्रशंसकले प्रशंसा गरे– तपाई साह्रै लोकप्रिय नेता हुनुहुन्छ । तपाईको भाषण सुन्नका लागि लाखौंलाख मानिसहरु जम्मा भएका छन् । हेर्नोस् त ?
चर्चिल खिसिक्क हाँसे र प्रशंसाको प्रत्युत्तर दिए– यो भीडमा थोरै भाषण सुन्न र अत्यधिक मानिसहरु तमासा हेर्न आएका हुन् । यदि भोलि यही स्थानमा मलाई फाँसी दिने घोषणा गरियो भने योभन्दा ठूलो भीड देखेर तपाई अचम्मित नभए हुन्छ ।
वर्तमान नेपाली राजनीति त्यतिबेलाको चर्चिलको प्रत्युत्तर जस्तो अवस्थामा छ । होस गरौं ।

footer