kumari
stcnepal

वीरलाई सरापेर विदेशीको बिगुल फुक्ने राजनीति

 

राजन कार्की ।

यस्तो पनि परिवर्तन हुन्छ ? जसले नेपाल बनाइदियो, उसलाई राष्ट्रनिर्माता भन्न डरलाग्ने ? जसले दिव्य उपदेश दिए, त्यो मान्न नसक्ने ? जो आफ्नै पुर्खाप्रति गौरव गर्न सक्दैन, सम्मान गर्दैन, त्यस्तो परिवर्तनको के औचित्य हुन्छ र ?
पुर्खालाई सराप्ने, आफ्ना वीर पुर्खालाई नकार्छौं, विदेशी माक्र्स, लेनिन, माओ, गान्धीको पूजा गर्छौ, तिनलाई आदर्श मान्छौं । जबसम्म आफ्नै माटो सुहाउँदो पृथ्वी विचार अँगाल्दैनौ तबसम्म देशको ओरालो यात्रा रोकिदैन । विदेशी विचारले देश हाँक्न सक्दैन भन्ने पटक पटक प्रमाणित भइसक्यो । अझै पनि देशलाई स्वार्थको प्रयोगशाला बनाइरहने ? जुन परिवर्तन भयो, त्यो स्वार्थी राजनीति र अपराधी गुँड बाहेक भयो के ?
बिकल्प छैन, जनता बाध्य छन् । यी कस्ता नेता हुन्, जसलाई मतदान गर्ने जनताले नै दया गर्छन्, घृणा गर्छन् । माया गर्दैनन्, सम्मान दिदैनन्, कुनै पनि नेताले जनताको सम्मान आर्जन गर्न सकेनन् । कुनै नेता बिना सुरक्षा जनतावीच जानसक्दैनन्, यो कस्तो परिवर्तन भएछ ?
जनताले सुखानुभूति, राहत खोज्नु स्वभाविक हो । अवसर र नाना, खाना, छाना खोज्नु उनीहरुको अधिकार हो । यसैका लागि संविधानसभा चाहियो, गणतन्त्र ल्याइयो । संघीयता चाहियो, धर्मनिरपेक्षता घोषणा गरियो । न संविधानले काम ग¥यो, न गणतन्त्र फलिफाप हुनसक्यो । संघीयता र जुकामा भिन्नता रहेन, परिवर्तनका नाममा राजनीति र अपराधी तत्व मिलेर जनताको रगत चुसिरहेछन् । धर्मनिरपेक्षता भनेको धार्मिक विभेद बढाउने र गरीबलाई धर्मान्तरण गराएर नेतालाई धनाध्ये बनाउने व्यवसाय बन्यो । सामाजिक लज्जा र उदाहरणीय आचरण रहेन । संस्कार र संस्कृतिका बिरासत ढल्दै गए । आफ्नो पहिचान मेटाउने यस्तो बाइफाला राजनीतिले देशलाई बिखण्डन र विभाजन गराउँछ, गरिरहेछ । अहिले जसरी एकताको गाँठो फुस्किदै र आपसी मतभेद बढ्दै गएको छ, यो सबैको कारक यही नेतृत्वको नैतिकहीनताले हो ।
नेपालले अपनाएको पद्धति भनेको वेष्ट मिनिष्टर पद्धति हो । यो पद्धतिमा लिखित संविधानभन्दा बढी नैतिक बलले काम गर्छ । बेलायतमा १७०७ मा स्थापित भएदेखि यो पद्धति संसदमा सत्तापक्ष र प्रतिपक्ष अर्थात सिटिङ र वेटिङ सरकार हुन्छ । आश्चर्य १ सय ७५ मा ३२ सिटेले सरकार बनायो, पहिलो दलले समर्थन दियो । यो विश्वमै अचम्मलाग्दो परिदृश्य हो । प्रतिपक्ष नै पक्षजस्तो भाग शान्ति जय नेपालमा रमाइरहेको छ । प्रतिपक्ष नै रहेन संसदमा । ससाना दललाई लतारेर र प्रमुख प्रतिपक्ष एमालेलाई तह लगाउन जुन गठबन्धन बनेको छ, त्यो आफैमा सिद्धान्तहीन गठबन्धन हो ।
यसमाथि भारतले नेपालमा २० करोडसम्मको योजना सिधै दूतावासले सञ्चालन गर्न अधिकार दिइएको छ । यो भनेको नेपाली मानसिकतामा भारतवाद लाद्नको लागि हो । विश्वमा कुनै एक मुलुकले अर्को मुलुकमा स्वेच्छाचारी हिसिवले जति पनि योजनामा यसरी लगानी गर्न पाउँछ ? यो स्वतन्त्र राष्ट्रको विशेषता कसरी हुनसक्छ ? हरेक राजनीतिक र कूटनीतिक मामिलामा उठेको नेपाल लड्दैछ, लडेको नेपाल उठ्ने सम्भाबना कम छ, कसरी र कतातिर लतारिदै जाने हो, भयग्रस्त अवस्था छ । अनुभवीहरू भन्छन्– नेपाली राजनीतिमा कायरहरूको राज चल्यो । कायरताकै कारण नेपाल विश्वशक्तिको भूराजनीतिको रण्डखाल बन्यो । यो भूराजनीतिक भूमरीमा नेपालको स्थिति भयग्रस्त बन्दो छ ।
निश्चित रुपमा उही विजयी हुन्छ, जो विजयी हुने साहस राख्छन् । सायद यही विषयमा हेलेन केलरले लेखेका थिए– अन्धो हुनु नराम्रो हो तर आँखा भएर पनि नदेख्नुृ झन खराब हो । त्यसपछि मान्यता बस्यो– अमर हुन रहर गर्नेले आफूमा भएको खुबी देखाउन सक्नुपर्छ । नेपालमा परिवर्तन गर्न रहर गर्नेहरूले परिवर्तन ल्याउन सफल भए, यसमा राजतन्त्रले जनइच्छा परिवर्तन नै हो भने स्वीकार छ भनेर सघायो । तर परिवर्तनको १७ वर्षको परिदृश्यको आधारमा भन्न सकिन्छ– परिवर्तन गर्न रहर गर्नेहरूमा विजयी हुने साहस देखाए तर विजय कायम राख्ने नैतिकता र निष्ठा देखिउन सकेनन् । राष्ट्र असफल हुँदैछ ।
जुन नेता राष्ट्रलाई प्रेरणा दिन्छ, जनताको अपेक्षा पूरा गर्छ, त्यो नै महान नेता हो । यस दृष्टिमा हामीसँग एकजना पनि नेता छैनन् । किनभने विगत १५ वर्षमा जनताका लागि न कुनै नेता प्रेरणाको स्रोत बने, न जनताको अपेक्षा र आशा परिपूर्ति गर्न अग्रसर भए । जनता मात्र निर्वाचित सरकार जन्माउने अजिव लाग्ने चुनावी कारखाना बनाइएका छन् ।
राजनीतिक असक्षमताकै कारण नेपालमा राष्ट्रसंघ, भारत, अमेरिका, युरोपियन, चीनका अनेक दवाव, प्रभावका घटनाहरू हुँदै गए । राजतन्त्रलाई किनारा लगाएर धर्मनिरपेक्षता र संघीयतासहितको संविधानले राष्ट्रलाई भ्रष्टाचारको पोखरी बनाइदियो । ०६३ सालदेखि परिवर्तन हामीले ल्याएका हौं भन्ने महारथीहरूकै शासन छ, तिनले ल्याएको पद्धति नै चलेको छ, देशका लागि सतिसालको मूलथाम बनेर कुनै नेतृत्व चट्टान जसरी उभिन सकेनन् । समाजवाद र सर्वहारीवाद दुबै सत्ता र सम्पत्तिका लागि मिल्न सक्छन्, पुँजीवादी समाजवादको बाटो क्रान्ति सम्भव छ भन्न पनि सक्छन् र भ्रष्टाचारको एउटै कुण्डमा सँगसँगै डुबुल्की मार्न पनि सक्छन् । यिनले भनेको समृद्ध नेपाल, सुखी नेपाली भनेको आफू नेपालको सदावहार जर्नेल बनिरहने राजनीतिमात्र हो । यस्तो राजनीतिले देश लुट्छमात्र ।
न बिधि छ, न बिधान, लुटिरहेका छन् ।
प्रजातन्त्र अपरिहार्य छ भन्ने कांग्रेसले माक्र्स र माओवादलाई विश्वासको मत दिएका छन् । बिखण्डनवादीले समेत संसदमा प्रवेश पाए । धरातलीय यथार्थ भनेको परिवर्तन भयो, न्यायपालिकालाई समेत सर्वदलीय संस्था बनाइयो । संक्रमणकालीन न्याय स्थापित हुनसकेन । अपराधीलाई माफी दिन थालियो । विधिको शासन अन्धाले हात्ती छामेजस्तो हुनपुग्यो । संविधान, संसद, सरकार, संवैधानिक निकायहरू असफल भइसके । जवाफदेही हुन कोही तैयार छैनन् । राजनीति पैसा कमाउने माफियाकरण हुनपुग्यो । संसददेखि हरेक पद किनबेच हुनथाल्यो । लोकतन्त्र भनेको चुनाव हो, जसरी पनि चुनाव जित्ने र लोकतन्त्रलाई खोरिया बनाएर फाँड्नेहरू आफूलाई देवताको अवतारका रूपमा स्थापित गर्नथाले । दुशासन प्रवृत्ति सच्चिने आशा कमजोर बन्दैगयो । नेतृत्वको स्वार्थलाई खेलाएर शक्तिराष्ट्रहरूले नेपाललाई शक्तियुद्धको अखडा बनाइदिए । आँखा देख्ने अन्धा र विवेक गुमाएका विवेकहीनहरू हरेक पार्टीमा छन्, नागरिक समाजमा छन्, प्राध्यापन, वकिल, पत्रकारिता, व्यापार, उद्योग सबैतिर छन् । नेपाल अराजनीतिको रजगज क्षेत्र बन्यो ।
नेपालमा अमेरिकी चासो छ । भारत र चीनको स्वार्थ बेजोडले बढेको छ ।
नेपालले पनि ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनायो । तिर्नसक्ने हैसियत रहेन, भैरहवा र पोखरा विमान स्थल चल्न सकेका छैनन् । चीनको एक्जिम बैंकको २२ करोड डलर र एडीवीको ऋण गलपासो भइसक्यो ।
नेतृत्व आप्mनो आवश्यकता र हैसियत बिर्सेर कमिशनमुखी बन्दा विदेशी रणनीतिमा फस्दै र चुक्दै गएको छ । नेपालको स्वराज र स्वाधीनता नजोगिने पो हो कि ? खतरा बढेको छ । जोगाउने देशभक्त नेतृत्वले हो, बहादुर शाह बन्ने ल्याकत कुनै नेतामा झल्किदैन । स्वार्थ पूरा हुन्छ भने भ्रष्ट हुन सबै तैयार छन् ।
नेपाललाई समृद्धि चाहिन्छ । समृद्धि चीनविरूद्ध अमेरिका, अमेरिकाविरूद्ध चीन अथवा भारतविरूद्ध चीनलाई नेपाली भूमिमा दाह्रासिंहको कुस्ती खेलाएर चाहिएको होइन । हिजो पनि नेपालले सयौं मुलुकसँग सहयोग लिएको थियो, आज पनि ऋण, अनुदान लिइरहेकै छ । हिजो कुनै विवाद थिएन, आज विवाद किन बढेको छ ? भूराजनीतिक रणभूमि हुनबाट जोगिने ल्याकत र अक्किल नेतृत्वमा नहुँदा संकट बढेको हो ।
हिजो र आज के भूल भयो, भविष्यमा नेपाल र नेपालीको हितमा के कसो गर्दा राष्ट्रिय शक्ति सञ्चय निर्माण हुनसक्छ, त्यतातिर चिन्तन हुनुपर्छ । यो चासोलाई संवोधन गर्नु राज्यको, संसदको, नागरिक समाजको, बुद्धिजीवीवर्गको र आम नागरिकको कर्तव्य हो । हेक्का राख्नैपर्ने विषय भनेको न हिजो पञ्चायत खराव थियो, न बहुदल । आज लोकतन्त्र पनि खराव पद्धति होइन । खरावी नेतृत्वमा छ । नेतृत्व विधिमा नचल्नुमा छ । लोकलज्जा त्याग्नुमा छ । हेक्का रहोस् ।

footer