kumari
stcnepal

पूर्वडीआईजी रमेश खरेलले रास्वपाबाट राजीनामा दिए

काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछाने विरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले लिखित जवाफ मागेपछि खरेलले जवाफको सट्टा राजीनामा पठाएका हुन् ।

एक टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रममा खरेलले सहकारी ठगीमा मुछिएका लामिछाने गृहमन्त्री बनेको भन्दै कडा आलोचना गरेका थिए । खरेल रास्वपाको कुनै जिम्मेवारी पदमा नभए पनि बारामा गत वर्ष भएको उपनिर्वाचनमा पराजित भएपछि निष्क्रिय भएका थिए । केन्द्रीय सदस्य प्रस्ताव अस्वीकार गरे उनी पछिल्लो समय रास्वपाको सम्पर्कमा थिएनन् ।

रास्वपा सरकारमा सहभागी भएको, लामिछाने गृहमन्त्री बनेको र पार्टीमा आन्तरिक लोकतन्त्र नदिएको विषयमा खरेलको विमति थियो । पार्टीले प्रस्टीकरण सोधेपछि आफूले राजीनामा दिएको उनले बताए । गत वर्ष वैशाख १० मा भएको बारा— २ को उपनिर्वाचनमा खरेल रास्वपाबाट उम्मेदवार बनेका थिए । उनी उपनिर्वाचनमा जसपाका उपेन्द्र यादवसँग पराजित भए । उपनिर्वाचनपछि खरेल नेतृत्वको नेपाली सुशासन पार्टीलाई रास्वपामा मर्ज गर्ने सहमति भएको थियो । रास्वपा उक्त सहमतिमा इमान्दार नदेखिएको भन्दै खरेल रुष्ट थिए । सभापति लामिछानेबाट प्रश्न उठाउँदा प्रस्टीकरण सोधेपछि रास्वपाबाट बाहिरिन खरेललाई बाटो खुलेको हो ।

footer