kumari
stcnepal

कस्तो होला आजको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। देशका पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । बुधबार कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

footer