kumari
stcnepal

सुदूरपश्चिममा मुख्यमन्त्रीको दावी गर्न आज ५ बजे सम्मको समय दिईयो

धनगढी । सत्ता गठबन्धन दलको खटपट मिलाउन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले पुनः संविधानको धारा १६८ (२) अनुसारकै मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय दिनुभएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले गरेको दाबी खारेज गर्दै प्रदेश प्रमुख मियाँले सत्ता गठबन्धनका शीर्ष नेताहरूले काठमाडौंमा गरेको सहमतिका आधारमा प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः संविधानको धारा १६८ (२) कै व्यवस्थालाई पछ्याउनुभएको हो ।

यसअघि सोही धारालाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान भएकोमा नागरिक उन्मुक्तिका दुई जना सांसदहरू लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्ला बेग्लै समर्थक जुटाएर दाबी पेश गर्नुभएको थियो । एउटै पार्टीबाट दुई जनाको दाबी परेको र त्यसमाथि पनि केन्द्रीय सत्ता गठबन्धनको प्रतिकूल हुनेगरी गठबन्धन बन्दै गरेको अवस्थामा दुई दिनसम्म प्रदेश प्रमुख मियाँले अन्योलमा राखेर कुनै निर्णय गर्नुभएन । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं सत्ता गठबन्धन दलभित्र छलफल गरेर नेकपा (एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन समझदारी गरेपछि प्रदेश प्रमुख मियाँले पहिलेका दाबी खारेज गरेर नयाँ आह्वान गर्नुभएको हो । मंगलबार साँझ आह्वान गरिएको पत्रमा मुख्यमन्त्रीमा दाबी पेश गर्न बुधबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।

अब सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश सभा संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री बन्नुहुने भएको छ । सत्ता गठबन्धनले बुधबार सोडारीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्ने तयारी गरेको छ । ‘गठबन्धनले हाम्रो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । त्यहीअनुसार दलहरूको समर्थन लिएर मुख्यमन्त्रीको लागि दाबी गर्दैछौँ ।’ सोडारीले भन्नुभयो । एकीकृत समाजवादीका सोडारीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद समेतको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न लाग्नुभएको हो । प्रदेश प्रमुखले पुनः दाबी पेश गर्ने समय दिएपछि कांग्रेस र नागरिक उन्मुक्तिको एउटा पक्ष भने असन्तुष्ट बनेका छन् ।

footer